शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ध्रुवज्योती मावि : जहाँ पढाईसंगै श्रम गर्न सिकाइन्छ !

ध्रुवज्योती मावि : जहाँ पढाईसंगै श्रम गर्न सिकाइन्छ !

विद्यार्थी र शिक्षक मिलेर विद्यालयको जमिनमा गरिएको तरकारी खेतीले विद्यार्थीलाई अध्ययनसंगै श्रम गर्न सिकाउँदै छ ।


  • हिमलाल पराजुली
  • असार २ २०७७, मंगलबार

स्याङ्जा, २ असार– तपाई हामीलाई अचम्म लाग्न सक्छ विद्यालयमा पनि तरकारी खेती गरिन्छ ! विद्यालयमा त पठनपाठन पो हुन्छ भन्ने स्वभाविक हो । तर, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–६ दब्छेमा रहेको ध्रुबज्योती माध्यामिक विद्यालय पढ्ने र पढाउने काममा मात्रै सिमित छैन । यहाँका शिक्षक अनि विद्यार्थीहरु पढाई संग–संगै ब्यवहारिक शिक्षामा पनि खटेरै लाग्ने गरेका छन् ।
विद्यार्थीलाई शैक्षिक ज्ञान मात्रै नभई ब्यवहारिक ज्ञान पनि दिनुपर्छ भन्ने उद्देश्यले विद्यालय हाताभित्रै करेसाबारी निर्माण गरेर तरकारी लगाउँदै आएको विद्यालयका प्रधानाध्यापक हिराबहादुर गाहाले बताए । विद्यार्थीहरुलाई पढाइका साथै ब्यवहारिक शिक्षाका माध्यामबाट श्रम गर्ने बानीको विकास गराउने उद्देश्यले विद्यालयकै जमीनमा करेसाबारी निर्माण गरेर शिक्षक–विद्यार्थीले तरकारी खेती गर्दै आएको उनले बताए ।


दश कक्षामा अध्ययनरत प्रकृति भट्टराईले विद्यालयमा पढाई संग–संगै तरकारी खेतीसमेत गर्दै आएको बताइन् । विद्यालयमा पढाइसंगै गुरुहरुसंग करेसाबारीमा काम गर्दा रमाईलो हुने भट्टराईले बताइन् ।
अर्की विद्यार्थी नविना चोहानले पनि विद्यालयमा गुरुहरुले पढाईसंगै तरकारी खेतीका बारेमा ब्यवहारिक ज्ञान दिएकाले विद्यालयमा मात्रै नभएर घरमा समेत तरकारी लगाउने बानी परेको बताइन् । चोहानले भनिन् ‘पहिला–पहिला विद्यालयबाट घरमा गएपछि गृहकार्य र खेलेर समय बित्थ्यो, अहिले फुर्सद मिल्योकी तरकारी लगाउनुका साथै करेसाबारीमा गएर गोडमेल गर्छु ।’
कक्षा ९ मा अध्ययनरत असिम गाहाले विद्यालयमा गरिएको तरकारी खेतीले आफुहरुलाई ब्यवहारिक ज्ञान दिनुका साथै तरकारी खेती गर्न प्रेरित गर्न हौसला दिएको बताइन् । ‘हामीले विद्यालयमा मात्रै नभएर घरमा पनि तरकारी खेती गर्ने गरेका छौ । पहिला घरमा खानको लागि तरकारी किन्नुपथ्र्यो अहिले घरको लागि आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने गरेका छौ, यो सबै विद्यालयको देन हो’ गाहाले भनिन् ।


विद्यालयमा मौसम अनुसारका सिमी, काउली, बन्दालगायतका तरकारी लगाउने गरिन्छ भने त्यहाँ उत्पादित भएको तरकारी शिक्षक र विद्यार्थीले बाँडेर घर–घरमा लैजानुका साथै बढि भएको तरकारी बिक्री गरेर पुस्तकालयको लागि आवश्यक सामाग्रीसमेत खरिद गर्ने गरिएको विद्यालयका प्रअ गाहाले जानकारी दिए ।
अहिले लकडाउनका कारण विद्यालय बन्द भएकाले नजिक भएका विद्यार्थी र शिक्षक मिलेर करेसाबारीमा लगाएको सिमी टिप्नुका साथै गोडमेल गरिएको प्रअ गाहाको बताउँछन् । विद्यालय खुल्ने समयमा विद्यार्थीहरु विद्यालयमा गएपछि करेसाबारीमा लगाइएका तरकारीको रेखदेखका साथै गोडमेल लगायतका काममा ब्यस्त हुन्छन् । पठनपाठनबाट फुर्सद मिल्योकी विद्यार्थीहरु करेसाबारीमा पुगेर आ–आफ्नो काममा तल्लिन हुन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->