आज जुन २६, अन्तराष्ट्रिय लागुऔषध दिवसको सन्दर्भमा लागु औषध दुर्व्यसनका कारण एउटी आमालाई पर्न गएको अकल्पनीय घटना स्मरणमा आयो । कथाका पात्र काल्पनिक हुन् । कसैको वास्तबिक जीवनमा मेल खान गएमा क्षमाप्रार्थी छु ।
झमक्क साँझ परिसक्यो, छोराको अत्तोपत्तो छैन, हिंजो अस्ती आउजाउ गर्ने उसका संगीहरु पनि देखिंदैनन् । बिहान उठ्ने बेला छोराको बिहे भएको सपना देखेकी थिए, मेरो सपना पुरा हुने भयो भन्ठानेर, जानेजती देउदेउता सम्झेर धुपबत्ती गरेकी थिएं । छोरो आऊला र उसंग सल्लाह लिई केटी खोज्न जाने हतारो थियो मनमा । उनले बिगत संझीइन, आमाको मन छोराछोरी माथी छोराछोरीको मन ढुङ्गामुढा माथी भन्छन्, ‘यस्तै रहेछ की क्या हो ? मर्नु अघि यसका बाउले बिहानैदेखि रक्सी धोक्थे, एउटा छाप्रो र आधा पेन्सन बाहेक सबै छाडेर गएको पनि ५ बर्ष भैसकेछ । बाउको बिडो थामेको हो की, कहिल्यै आएनन् चेत । बुढेसकालको सहारा भनेको यत्ती हो भन्दै यही छोराको मुख हेरेर बसेकी थिए । बानी व्यहोरा यस्तो छ, कसको भरमा बाच्नु खै ? लामो सास फेर्दै, खुय गर्दै भर्खर ५० टेकेकी तर अनुहारले ७० जस्तो देखिने फुलमाया (काल्पनिक नाम) एक्लै गुनगुनाउदै बिजुली चुरोट तानेर बसेकी हुन्छिन् । तर, उ आएन र आज जिवित आउने छैन भन्ने थाहा नपाएकी उनले अरु बेला छोरो नआउदा पनि उसका संगीहरुको चहलपहल देखेर यतै होला भनी ढुक्क हुन्थिन । तर आज उनलाई त्यस्तो बिश्वास भएन । तागत छउन्जेल एक्लै भएनी बाँच्न सकिन्छ, यस्ता जड्या, ट्यापेको के भर भन्दा भन्दै, यिनैको सुसार गर्दागर्दै आफु कमजोर भइछु । कहिले काही प्रहरीले पक्रेर लैजांदा पनि भएभरको पैसा खर्च गरेर निकालें, सुधार केन्द्रमा राखें , यसको ऋण खाएकी रहिछु, हरी । चांडै आयो भने यही घर धितोमा राखेर बिहे गर्दिन्थे । कर्म चलाउनु आमाको कर्तव्य हो, हे भगवान छिटै ल्याइदेउन मेरो छोरालाई । हुनेखानेका छोराको संगत छ, एक दिन त कसो नसुध्रेला र ? आन्टि हामी छौ, यसको चिन्ता नगर्नुस है भन्थे ति ट्यापेहरु पनि । जहिल्यै कार, मोटरसाईकल चढ्थ्यो । छिमेकीका अगाडी दुःखले सिर निहुर्याउनु परेको थिएन । हर्के साहुको किराना पसलमा देखेको आफ्नै चरेसको थाल, कचौराको खोजीनिती पनि गरिन, पैसा पर्ने जस्ता सबै चिज हराउदै गए, छोरो पनि बेला बेला हराउदा डर लागेर आउन लाग्यो । बुढेसकालको सहारा एक मात्र छोरा के भनु भन्ने सोचेर कहिल्यै गाली गरिन । तर, एउटा कदम उठाएकै हो लागु औषध बिरुध्द आमा समुह गठन गरेर । यो समाजमा म जस्तै पिडित आमाहरु, समाजसेवी, महिला सचेतकहरुको सकृय संजाल गठन गरेर प्रहरीको सहयोगमा तहल्का मच्चिने गरि लागु औषध बिरुध्द कारवाही गर्दै जाँदा आफुमाथी खतरापुर्ण धम्की नआएको पनि होईन ।’
लागु औषध दुर्यसनीका सबै सन्जाल ध्वस्त पारी सकियो, कारोवारीहरु आउन छाडे । तर, बानी परेका ट्यापेहरु अनेक बहाना बनाएर भारतीय सिमानाका पुगेरै ल्याउने, बाटोमा मौका मिल्नासाथ एकदुई डोज दिईहाल्ने गर्न थाले । शहरमा आईसकेपछि सडक बालबालिका, गरिब, महिला, मजदुर आदिलाई भरिया र सुराकी बनाईन थालेपछी हार खाएर बस्नु बाहेक केही लागेन । नेपाल प्रहरीले पनि समुदायमा गएर व्यापक रुपमा सचेतनामुलक कार्यक्रम गरेकै थियो, जनप्रतिनिधी लगयत सबैले लागु औषधबिरुद्द पूर्ण सहयोग गर्ने बचन दिएकै हुन् । गाउँ घरमा पशुलाई चिसो लाग्दा औषधीको रुपमा खुवाउन हुन्छ भनेर कसैले नदेख्ने ठाउँमा लगाईएका बाहेक अचार बनाउन लगाएको भांगोका बोट पनि प्रहरीले काटीदियो ।
‘ओभर डोजबाट १ जनाको मृत्यु, ३ जना बेहोस’ को घटना एकाएक भाईरल भएर जताततैका मान्छे, गाउँपारीको झाडी तिर जांदै थिए । त्यही हुलमा फुलमायाकी छिमेकी मिठु (काल्पनिक नाम) पनि मिसिएर गईन, हेर्नासाथ उनै फुलमाया दिदीको छोरा सुवासलाई चिनेर अक्क न बक्क भै हुत्तींदै,बत्तींदै आएर झमक्क सांझ, बत्ती गएको बेला झिक्राएर बसेकी फुलमाया दिदीको छेवैमा घप्लक्क घोप्टिएर रुन लागीन । तर, उनको समाज अनि फुलमाया भने निस्चिन्त थिए, यि ट्यापेको कुरै नगरौं, आफै ठिक हुन्छन् भन्थे । आज भने ट्यापे आफै ठीक नहुने गरी गएको छ भन्ने फुलमायालाई पनि के थाहा आफ्नै छोरो, बुढेसकालको एकमात्र सहारा यसरी दैवले लैजाला भनेर पत्याउन मुस्किल हुन्छ । मिठुले सरासर कुरा खोल्न सकिनन् तर रोक्न पनि कहाँ सकुन । हिक्क हिक्क गर्दै “दिदी सुबास ।।।। सुबास ।।।” भन्दै डाँको छोडेर रुन लागीन् । के भो मेरो छोरालाई भन्दा भन्दै दुबै जना रुन लागे, मिठुले रुदै बिस्तरै सबै दृष्य खोलेपछी फुलमाया एक्कासी छांगाबाट खसेजस्ती भईन्, आफु बसेको जमीन भासिएको, चारैतिर संसार घुमेको देखिन् र मुर्छा परिन् ।
उता, प्रहरीले अन्य बेहोस ३ जनालाई अस्पताल पठायो, घटनास्थल तथा लास जांच मुचुल्का गरि सकेर, सुबासको सब परिक्षण (पोष्टमर्टम) का लागी जिल्ला सरकारी अस्पताल पठायो । समाजले बल्ल थाहा पायो, लागु औषध सेवन, ओभरडोज अनि मृत्यु कस्तो हुदो रहेछ । अरु सामान जस्तो बाहिर देखिने गरी ओसार पसार तथा सेवन गर्न नपर्ने, लुकाउन सजिलो र सजिलै पैसा कमाउन सकिने लोभमा पर्दा प्रहरीलाई सुचना दिन त के प्रहरीले चुनौतीका बिच पक्राउ गरेर तयार गर्दा गर्दैको बरामदी मुचुल्का गर्दा साक्षी किनारामा सही गर्न नचाहने, सहयोग गर्न तयार छौं भनी लागु औषधको बार्षीकीमा एक पटक जोडदार भाषण ठोक्ने नेतागण लगायतले आज फुलमायाको आमा समुहका कामको बखान गर्दैछन् । तर फुलमाया मुटुको टुक्रा दैवले चुडेपछी बेहोस छिन्, ब्युझिने हुन् कि होईनन् कुनै ठेगान छैन ।
अन्तमा लागु औषध सेवनबाट मानिसको केन्द्रीय स्नायु प्रणालीमा असर परेपछी मानिसलाई लागु औषधको नसा यस्तो कडा लाग्छ कि उसको व्यबहारमा परिवर्तन हुने, बिद्यालयमा पढाई कमजोर हुदै जाने, घरबाट गहना पैसा हराउदै जाने अनि दुर्व्यसनीबाट लुटपाट हत्या लगायतका दुर्घटना हुँदा यिनि जहां गए पनि समाज असुरक्षित हुने हुदा सेवन नगरेका लाई सेवन नगर्ने वातावरण सृजना गरौं, सेवनको लत लागी सकेकालाई सुधार गरौं, कारोवारीलाई सक्त कारवाही गरी ”लागु औषध मुक्त हाम्रो नगरी, हामी सबैको जिम्मेवारी” भन्ने सोंचका साथ आवश्यक समन्वय र सहयोग गरौ, औषधीको नाममा सम्बन्धित डाक्टरले दिएको प्रेसक्रीप्सनमा लेखिए बमोजिम मात्र औषधि सेवन गरौं । फुलमाया जस्तै अरु आमाहरुलाई रुन नपरोस, आमाको खुसी हामी सन्ततीको भविष्य हो, कहिल्यै नभुलौं । बालबालिका भनेका मनले मात्र हाम्रा बुढेसकालका सहारा हुन सक्दैनन् । कर्मले यिनलाई कुलतमा लाग्नबाट जोगाऔं भन्ने अभिव्यक्ति राख्दै बिदा हुन चाहे । धन्यवाद ।
कार्की हालै सेवानिवृत्त प्रहरी नायव उपरीक्षक हुन् ।




