बागलुङ, १३ असार– गाँजासहित शुक्रबार पक्राउ परेका निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष, बुर्तिवाङका व्यवसायी दम्पत्ति र ७ जना सेवनकर्तालाई सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको छ ।
शनिबार अदालत बन्द भएकोले उनीहरुको म्याद थप हुन सकेन । आइतबार म्याद थप गरेपछि कानूनी कारवाही अगाडि बढाईने प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । पक्राउ परेकाहरु सेवनकर्तासमेत रहेकाले कोरोना भाइरस संक्रमणको समयमा सानो सजाय गरिने मुद्दाका दोषीलाई हिरासतमा नराख्ने नीति अनुसार छाडिने बताइएको छ ।
तीन बर्षसम्मको जेल सजाय हुनेलाई हिरासतमा नराख्ने भन्ने कानूनी प्रावधानले धरौटीमा छाडेर कारवाही अगाडि बढ्न पनि सक्ने उनले जानकारी दिए ।
प्रहरीले केही समयदेखि बुर्तिवाङ बजारमा गाँजा सेवनकर्ताको खोजी गरेर कारवाही गर्ने क्रममा वडा अध्यक्षले बेचेपछि ल्याएको भन्ने व्यवसायीको बयानपछि पक्राउ गरिएको हो । शुक्रवार प्रहरीले वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई उनकै घरबाट ८६ केजी गाजासहित पक्राउ गरेको थियो ।





