बागलुङ, १४ असार– क्वारेन्टाइनमा बस्दा कोरोना भाइरसको जोखिम बढेको र बसाई कष्टपूर्ण बनेको भन्दै पछिल्लो समय बिदेशबाट आउने युवाले होटल रोज्न थालेका छन् । उनीहरुले होटलमा बस्दा व्यक्तिगत खर्च गर्छन् ।
क्वारेन्टाइनमा बस्दा सम्बन्धीत गाउँ तथा नगरपालिकाले बढीमा दैनिक ५ सय रुपैयाँ खर्चने व्यवस्था छ । तर बिद्यालयहरुमा क्वारेन्टाइन बनाएकोले लामखुट्टेको समस्या, धेरै जना समुहमा बस्नुपर्ने लगायतको कारण देखाएर धेरैले असन्तुष्टी देखाउने गर्छन् । पिसिआर परीक्षणको रिपोर्ट आउन ढीला भएपछि त उनीहरु झनै आक्रोसिन समेत बन्ने गरेका छन् । त्यसैले युवाहरुले होटल रोज्ने क्रम बढेको छ ।
बिदेशबाट आउने बित्तिकै सम्बन्धीत पालिकामा जान नसक्नेलाई रामरेखा आधारभूत बिद्यालयको क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि युवाहरुले पैसा तिरेर भएपनि होटलमै बस्न रुचाएका हुन् । ‘मलाईपनि बिद्यालयमा बस्न भनिएको थियो, बिजोग देखेपछि होटल रोजे’ गलकोटका एक युवाले भने, ‘बरु पैसा तिरेर पनि होटलमा आनन्द भएको छ ।’ दुइवटा लगेज, झोला समेत बोकेर गलकोट पुग्न उनलाई कठिन समेत थियो । गलकोट पुगेपनि उनले सामुदायिक बिद्यालयमा बनाइएको क्वारेन्टाइनमा बस्नुपथ्र्यो ।
क्वारेन्टाइनमा एउटै कोठामा धेरै मानिस बस्नुपर्ने, खानपानको वेथिती र सरसफाई अभाव भएको बारे थाहा पाएकोले उनी सदरमुकामको एक होटलमा बस्ने निर्णयमा पुगे । होटलले दैनिक १ हजार ७ सय रुपैया“मा एक कोठा र माछामासु सहितको खाना दिएको छ । १४ दिन बस्दाको खर्च व्यक्तिले तिर्नुपर्छ । ‘नगरपालिकाले बनाएका क्वारेन्टाइनमा बस्नेै समस्या रहेछ’ ती युवाले भने, ‘एकादिनका लागि बस्न कतै पाइन, त्यसैले सदरमुकामकै होटल रोजें ।’ चार दिनदेखि अनिदो र भोकभोकै बागलुङ आइपुगेकोले गलकोट पुग्ने आ“ट समेत उनले गरेनन् ।
ती युवा जस्तै बिदेशबाट आएका अधिकांस युवाले क्वारेन्टाइनमा बस्दा समस्या भएको अनुभव सुनाएपछि पछिल्लो समय आउन थालेका युवाले होटल रोज्न थालेका हुन् । स्थानीय पालिकाले बनाएका क्वारेन्टाइनमा भीड बढेको छ । साथै दैनिक सफाइ र खानपानमा समेत सुरक्षा नभएको कारण देखाएर केही दिनदेखि होटल रोज्नेहरु बढेका छन् । एउटै तन्नाको भरमा १४ दिन बिताउनुपर्ने बाध्यता समेत छ । होटलमा बस्नेले नियमित सफाई गर्न पाइने सुबिधा पाएको बताए ।
सदरमुकामको पिस प्यालेस, दि राजन, रेड एप्पल, हिलभ्यु, त्रिवेणी, समिट र हिमाल होटलले क्वारेन्टाइको सेवा दिएका छन् । ‘तत्कालका लागि १ सय जनालाइ क्वारेन्टाइन सेवा दिएका छौं’ होटल सं बागलुङका अध्यक्ष निलेस राजभण्डारीले भने, ‘आवस्यक पर्दा १ सय ५० बेड सम्म दिन सक्छौं ।’ तर स्थानीय पालिकाहरुले क्वारेन्टाइनको साटो होटललाई होल्डिङ सेन्टर बनाउन खोजेको उनले टिप्पणी गरे । काठेखोला गाउ“पालिकाका अध्यक्ष अमर थापाले धेरै जना भएपछि कमन कोठामा बसाल्नु परेको बताए । ‘एकजनाका लागि बढीमा ५ सय रुपैया“ खर्चन पाइन्छ’ उनले भने, ‘त्यसले पुग्ने सम्मको सेवा दिएका छौं, ग्रामीण क्षेत्रमा शौचालय र स्नानगृहको छुट्टै व्यवस्थापन भने गर्न सकिएको छैन ।’
होल्डीङ सेन्टर बन्दा होलटले कमाई पनि नगर्ने, अन्य पाहुना समेत नआउने समस्या बढेको राजभण्डारीले बताए । ‘सामाजिक रुपमा पनि अपहेलना खेप्नु परेको छ’ उनले भने, ‘सुरक्षित क्वारेन्टाइन सेवा दिएका छौं, तर त्यो होटलमा गएमा संक्रमण हुन्छ भन्दै जनप्रतिनिधिले पनि टिकाटिप्पणी गरिरहेका छन् ।’ होटलमा बस्दा कोठा भित्रै बस्ने, खाने व्यवस्था पनि तोकिएका मानिसले मात्रै दिने गरेका छन् । दैनिक नुहाउने, टिभी तथा वाईफाइको व्यवस्थापन समेत गरिदिएपनि सामाजिक बहिस्करणमा पर्ने खतरा भएको अर्का व्यवसायी एन्जिल शाक्यले बताए । ‘हामीले सुरक्षित सेवा पनि दिने, आm्नो परिवार पनि यहीं बस्ने गरिरहेका छौं’ शाक्यले भने, ‘बिदेशबाट आएका वा लामो दुरीको यात्रा गर्दैमा सबै संक्रमित छैनन् भन्ने बुझाउन जरुरी छ ।’ क्वारेन्टाइनको सफाई नभएको देखेर धेरैले होटल रोजेको उनले बताए । अहिले एकसय क्षमता मध्ये ८० जनाबढी क्वारेन्टाइनमा छन् । केहीले काठमाण्डौ झर्ने बित्तिकै कोठा बुक गरिसकेको उनले बताए ।





