बागलुङ, १४ असार– तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती बागलुङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । भण्डारीको जन्मजयन्ती नेकपा काँठेखोला गाउँपालिकाको आयोजना र जिल्ला कमिटिको संयोजनमा काँठेखोला गाउँपालिका वडा नम्वर ६ बिहँुमा बृक्षारोपण गरी मनाईएको हो ।
जन्म जयन्तीका अवसरमा नेकपा काँठेखोला गाउँपालिकाका पदाधिकारी, सदस्य, जिल्ला कमिटिका नेता कार्यकर्ता, जनप्रतिनिधीको सहभागीतामा काँठेखोला ६ का स्थानियवासी भिमलाल कँडेलको बयलडाँडास्थित जग्गामा ८० वटा सुन्तलाका बिरुवा रोपिएको हो ।
सो अवसरमा बोल्दै नेकपा जिल्ला कमिटि बागलुङका अध्यक्ष तथा प्रदेश साँसद इन्द्रलाल सापकोटाले जननेता मदन भण्डारीले देखाएको बाटोमा अगाडि बढ्दै किसानहरुसंग पार्टीलाई प्रत्यक्ष रुपमा जोड्नका लागि बृक्षारोपणको कार्यक्रम गरिएको बताए । उनले आम पार्टी नेता तथा कार्यकर्तालाई देशको सम्मृद्धिका लागि उत्पादनशिल कार्यमा लाग्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश सचिवालय सदस्य हिराबहादुर केसीले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेकपा काँठेखोला गाउँपालिकाका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, वडा नम्वर ६ का पार्टी अध्यक्ष थानेश्वर कँडेलको स्वागत र गाउँपालिकाका पार्टी सचिव कृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो ।
यसपटक विश्वमा फैलिएको महामारीबाट ‘आफु पनि बँचौ र अरुलाई पनि बचाऔं’ भन्ने उदेश्यले कोभिड–१९ का कारण फरक ढंगले जन्म जयन्ती मनाइएको नेकपा काँठेखोला गाउँपालिकाका अध्यक्ष डिलबहादुर कार्कीले बताए ।
नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका, सिद्धान्तनिष्ठ राजनीतिज्ञका भण्डारीको पार्टीको काम सिलसिलामा पोखराबाट चितवन जाने क्रममा वि.संं २०५० जेष्ठ ३ गते दासढुङ्गामा गाडी दुर्घटनामा नेता जीवराज आश्रितसंगै ज्यान गएको थियो ।





