जीवन निश्चित गन्तव्य हैन । पोखरी अनि तलाउ हैन, अबिरल बगिरहने नदीजस्तै ठान्छिन् उनी जीन्दगीलाई । एकै ठाउँमा अडिग भएर लामो समय बस्न न उनलाई आजकल मनले मान्छ न तनले । त्यसैले त चहारिरहन्छिन् नेपालका कुनाकन्दराहरु । घुमिरहिन्छन् अनि डुलिरहिन्छन् । प्राय गुमगाम ठाउँहरु रोज्छिन् उनी । कोरोनाले विश्व आक्रान्त हुनुअघि हप्तौ मनास्लु अनि चुम उपत्यकामै रमाइरहेकी थिइन् उनी । अध्ययनको शिलशिलामा मुन्धुन ट्रेकिङ ट्रेल यात्राका मीठा पलहरु ताजै छन् हृदयमा उनको । आफ्नै एक जोडी पैतलाले स्पर्श गर्दैछिन् सिंगो नेपालको माटो । अनि बुन्दै छिन् सपना, केही वर्षमै देशका सबै जिल्लाहरुमा पाइला टेक्ने । हरेक जिल्लामा पाइला टेक्नु मात्र उनको मुख्य लक्ष्य भने हैन, त्यहाँको भौगोलिकता, जातीय विविधता सँग–सँगै हरेक ठाउँको रैथाने मौलिकताको स्वाद चाख्ने उनको सपना । करिब तीन वर्षअघि बुनेको यहीँ सपना साकार पार्दै नेपालको कुनाकन्दरा पुग्ने उनै साहसी यात्री हुन्, शान्ति राई ।
जन्मथलो उनको दमक, झापा । कर्मथलो भने राजधानी । करिब पाँच वर्षअघि उनी ‘भि.एस.ओ.नेपाल’ नामक आइ.एन.जि.ओ मा आवद्ध भइन् । संस्थाको उद्देश्य थियो, दैविक प्रकोप क्षतिको अध्ययन र यसको व्यवस्थापन गर्ने । बह्त्तर सालको भूकम्पमा नेपाल सरकारले भूकम्पग्रस्त जिल्लाहरुको सूचीमा राखेका १६ जिल्लाहरुमा कामकै सिलसिलामा पुगेकी थिइन् उनी । काम सँगसँगै पुगेका ठाउँहरुको भुगोल, जनजीवन अनि मानिसहरुले उनलाई तान्यो । त्यसैले उनी फेरि फेरि घुम्नकै लागि त्यहाँ पुगिन् । नेपाल घुम्ने भोक बिस्तारै जाग्न थाल्यो, उनले भनिन्, “केही समयपछि हामी तीन जना साथीहरु मिलेर ‘ट्राभलिङ नेपाल टिप्स’ टिम बनायौं । गुमगाम रहेका हिडन डेस्टिनेशनहरु हामीले घुम्न थाल्यौं । त्यतिबेला भर्खर सुरु भएका गन्तव्यहरु जस्तै ः खोप्रा ट्रेक, कपुचे पदयात्रा, सैलुङ, छ्ओ रोल्पा ताल, आदि पुगेनौं मात्र, साथै वृतान्तमा यात्रा विवरण, भ्लग अनि ब्लग हामीले वेभसाइट, युट्युबमा अप्लोड ग¥यौं । त्यहाँ घुम्न चाहनेहरुलाई यात्रा टिप्स दिने हाम्रो लक्ष्य हो ।” अहिले पनि सक्रिय छ उनको टिम । हरेक महिना एक शनिबार ३०÷४० जनाको जम्बो टोली लिएर उपत्यका वरपरका हाइकिङ गर्न पुग्छन् । स–साना बालबालिका देखि उमेर पुगेकाहरु समेत उनीहरुकै टोलीमा हाइकिङको मज्जा लिइरहेका हुन्छन् । उनलाई लाग्छ, कम्तिमा महिनाको एक दिन हामी नयाँ ठाउँ घुम्न निस्किनुपर्छ । हाइकिङ कल्चर बिस्तारै विभिन्न ठाउँमा विकास हँुदै गइरहेकोमा उनमा खुसी लाग्छ ।

लेखक
सन् २०१८ मा ‘नेपाली ट्राभलर्स’ नामक संस्थाले आयोजना गरेको सोलो ट्राभल प्रतियोगितामा उनले पनि आवेदन भरिन् । फेसबुक राउन्डबाट छानिएर ९२ जनासँग प्रतिस्पर्धी सँगै अन्तवार्ता दिइन् । विभिन्न राउन्डहरु पार गर्दै उनी त्यस वर्षको खुला सोलो एक्सपिडिसनको विजेता बनिन् । त्यस क्षणको स्मरण गर्दै उनले भनिन्, “खुसी अनि दुःखको मिश्रित क्षण थियो त्यो बेला । खुसी यस अर्थमा म विजेता बनें, दुखी यस अर्थमा ९० दिन एक्लै घुम्न घरबाट अनुमति मिल्ने हो वा हैन ।” उनी कुनै हालतमा यस अवसर गुमाउनेवाला थिइनन् । परिवारलाई यसबारे सुनाउँदा कस्तो प्रतिक्रिया मिल्यो त भन्दा उनले भनिन्, “सबै दोधारमै हुनुहुन्थ्यो । ममी अलि चिन्तित हुनुहुन्थ्यो भने हजुरआमा यसप्रति गर्व गर्दै यात्राको लागि हौसला दिनुभएको थियो ।” यो छोटो यात्रा थिएन । तीन महिना, त्यो पनि एक्लै । पूर्व तयारी अति जरुरत थियो नै । करिब ६ महिना लगाएर उनले तयारी गरिन् । घुम्नु पर्ने ठाउँहरुको विस्तृत अध्ययन मात्र गरिनन् उनले, यात्राक्रममा आइपर्ने समस्याहरुसँग जुध्न शारीरिक र मानसिक रुपमा आफैंलाई तयार बनाइन् । आयोजकले उनलाई यात्रा सहजताका लागि विभिन्न ट्रेनिङ मात्र दिएनन्, स्वास्थ्य विमा समेत व्यवस्था गरिदिएको थियो ।
समावेशी थियो उनको घुम्ने तालिका । पूर्वमा एभरेष्ट क्षेत्र, पश्चिममा खप्तड क्षेत्र, उत्तरमा डोल्पा र मुस्ताङ क्षेत्र अनि दक्षिणमा हुलाकी राजमार्ग यात्रा – लहान देखि महेन्द्रनगर । जम्मा पुग्नु पर्ने जिल्लाहरु ३४ वटा । १४ किलो रक स्याक बोकेर १९ सेप्टेम्बर २०१८ मा पूर्व हानिइन् । २१ दिन लामो सगरमाथा आधार शिविर पदयात्राको अनुभव सुनाउँदै उनले भनिन्, “विश्वकै अग्लो शिखरको आधार शिविरसम्म पुग्न पाउनु आफैंमा गर्वको कुरा थियो नै । तीन वटा ५ हजार मिटरभन्दा बढी उचाइमा रहेका पासहरु छिचोल्दाको चुनौती उस्तै थियो । ५४८३ मि. उचाइमा रहेको गोग्यो रीबाट जुन प्यानारोमिक भ्यु देखेकी थिए, त्यो शब्दमा वर्णन गर्ने म सामथ्र्य राख्दिन । ५ मध्ये चार वटा गोक्यो तालहरु मैले घुमें ।” रेन्जोला पासमा भने उनलाई लेक लाग्यो । आफ्नो झोला त के उनी आफ्नै शरीरलाई धान्न सक्ने अवस्थामा थिइनन् । धन्न एक जना नेपाली ट्रेकिङ गाइडले उनलाई तल होटलसम्म पु¥याएको उनी सुनाउँछिन् ।

त्यसपछि १७ दिने हुलाकी राजमार्ग हँुदै उनी लहान देखि महेन्द्र नगरको यात्रा गरिन् । कतै गाडीमा त कतै पैदल । उनले पैदललाई बढी प्राथमिकता दिइन् । यस यात्राको मुख्य उद्देश्य नै तराईमा रहेका पौराणिक, धार्मिक एवमं ऐतिहासिक क्षेत्रहरुको भ्रमण अनि स्थानीय जातजाति र उनीहरुको धर्म संस्कृति नजिकबाट नियाल्नु थियो । लोपोन्मुख जातिहरुको बस्तीहरुमा पुगिन् । फरक फरक अनुभव सगाल्दैँ उनी दशैं मनाउँदा बर्दिया पुगेकी थिइन् । थारु समुदायमा मनाएको दशैं पृथक रह्यो, उनले भनिन्, “फरक माहोल अनि उस्तै भिन्न रौनक । उहाँहरुको आतिथ्यता, स्वागत अनि मायाले म प्रफुलित भएकी थिए । त्यहाँको पारिवारिक परिवेशले चाडपर्वमा घरको सम्झनालाई ताजै बनाएको थियो ।”
एक्लै, त्यो पनि एक युवती लामो यात्रामा निस्कदा धेरै चुनौतीहरु सामना गरिन् उनले । पश्चिम जिल्लाहरुमा जहाँ छाउपडी प्रथा अझै कायमै छ, त्यस जिल्लाहरुमा कतै महिनावारी भएको थाहा पाए, अफ्ठ्यारो अवस्था आउने त हैन, उनले धेरै सर्तकता अपनाइन् । यता खप्तड यात्रामा होटलमा कोठा नपाउँदाको सास्ती उस्तै थियो । त्यही निकुञ्ज कार्यालयका स्टाफहरुको कोठामा मैले रुम सेयर गर्न बल्ल तल्ल पाएँ, उनले भनिन्, “चार जना दाईहरुले उहाँहरु सुत्ने बिस्तारा मलाई दिएर उहाँहरु भुइँमा सुत्नुभयो । सुरुको रात त मलाई निद्रा नै लागेन । के पो भै हाल्ने हो कि, मनभरि यहीँ डर लिएर रात कटाएँ । पछि उहाँहरुसँग यति घनिष्ट सम्बन्ध रह्यो कि उहाँहरुले मलाई उहाँहरुको घरसम्म लग्नु भयो । उहाँहरुको परिवारसँग केही दिन बिताएँ पारिवारिक वातावरणमा । पश्चिमी धर्म संस्कृति, रीतिरिवाज अनि त्यहाँको दुःख पीडा बारे गहिरो रुपमा बुझ्ने अवसर मिल्यो मलाई ।” हरेक चुनौतीसँगै धेरै अवसरहरु हुन्छन्, उनलाई यात्राले यही सिकायो ।

बाजुरा जिल्लाको बडीमालिका पुग्ने उनको लक्ष्य अत्याधिक हिमपातले पुरा हुन सकेन । त्यस समयलाई सदुपयोग गर्दै उनी बाजुराको वाई गाउँ पुगिन्, जहाँ उनको साथीको घर थियो । तल बगिरहेको निलाकार कर्णाली नदी, अनि माथि सुन्दर गाउँ । उनले यो सुन्दरताको प्रशंसा गर्दै त्यही गाउँको एक जनालाई सुनाउँदाको प्रतिउत्तरले उनलाई खिन्न तुल्यायो । त्यस गाउँमा खाद्य संकट भएको चार वर्ष भइसकेछ । मुरी उब्जनी हुने माटोमा पाथी त के माना पनि उब्जनी नहुने । पानीको उस्तै समस्या । उस्तै खडेरी । महंगो मूल्यमा गनाउने चामल खादाँ रहेछन् उनीहरुले । सयौं कोष टाढा काठमाडौं बस्ने मैले जब आफैंलाई त्यस गाउँको बासिन्दाको रुपमा उभ्याएर कल्पना गरे, मलाई उनीहरुप्रति सहानुभूति जाग्यो, उनले थपिन्, “नयाँ ठाउँ घुम्नु, २/४ तस्विर लिनु, रमाइलो गर्नु मात्र केबल यात्रा हैन, त्यहाँको यर्थाथता, वास्तविकता अनि दुःख पीडा बुझ्न मात्र सक्नु पनि यात्राको अर्को उपलब्धी हुन्थ्यो कि ?”
त्यसपछिको उनको यात्रा रारा, छुट्टै कौतुहलता अनि उत्सुकता थियो उनमा । विशेष पनि थियो, किनकि उनी आफ्नो २७ औं जन्मदिन रारा किनारमा मनाउने लक्ष्य सहित त्यहाँ पुगेकी थिइन् । जुन उत्सुकताका साथ त्यहाँ उनी पुगेकी थिइन, ठिक विपरीत भयो । एक्लै जन्मदिन मनाउँदा खल्लो अनुभूति भयो, उनले भनिन्, “पछि किचनमा गएर त्यहाँको स्टाफहरुसँग मैले जन्मदिन मनाएँ । मुर्मु टपबाट देखिएको राराको सुन्दर दृश्यले भने मलाई केही राहत दिलाएको थियो । छिनछिनैमा रुप परिवर्तन गर्ने रारा अनि आँखै अगाडि हिउँले सेताम्य सैपाल हिमाल, हेरी रहौं जस्तो ।”

राराबाट पैदल यात्रामा उनी जुम्ला पुगिन् । जुम्लाबाट डोल्पा हानिइन् उनी । डोल्पा सर्किट ९ दिन लगाएर पुरा गरिन् । फोक्सुन्डो ताल किनारमा रमाइन् । हरेक चार चार वर्षमा मनाउने त्यहाँको स्थानीय चाड ‘मती’ मनाउनु पाउँदा उनी आफैंलाई भाग्यमानी ठान्छिन् । केही दिन उनी त्यहाँको ‘ट्रयापिजा स्कुल’ मा स्वयंसेवी भएर बालबालिकालाई पढाइन् । यो मेरो लागि सुनौलो अवसर रह्यो, उनले थपिन्, “मैले उनीहरुलाई सक्दो अंग्रेजी सिकाउने प्रयास गरे भने उनीहरुले मलाई तिब्बती भाषा । साथै त्यहाँको बोन्पो धर्मबारे बुझ्न पाउने एउटा सुनौलो अबसर बन्यो मलाई ।”
डोल्पाबाट ढोरपाटन निस्किइन् उनी । सिंगो पाटन नै हिउँको च्यादर ओछ्याएर उनकै स्वागतको पर्खाइमा रहेको भान भयो उनलाई । हिउँमा चिप्लिएर केही घण्टा आराम गरेको क्षण सम्झना छ उनलाई । बेनी पुगेर मुक्तिनाथ लागिन् । मन्दिर दर्शन गरेर लोमानथाङ पैदलयात्रा गरिन् । हिमाल पारिको जिल्ला अथाव ‘हिडन किङडम’ मुस्ताङको फरक स्वाद मिल्यो उनलाई । पोखरा फर्केर प्याराग्लाइडिङ अनि जिप फ्लाइङमा पोखरा अनि माछापुच्छ्रेको सुन्दरता नियालिन् ।

यात्राको अन्तिम गन्तव्य लुम्बिनी । ६ दिन बिताइन् त्यहाँ उनले । कोरियन गुम्बामा त्यहाँका भिक्षुहरुसँग ध्यान गरिन् । करिब तीन महिना यात्राको सारा थकान बिर्साउने र पलहरु सम्झने अवसर बन्यो उनलाई । यात्रालाई बिट मारेर काठमाडौं फर्कदाको क्षण सम्झदैँ उनले भनिन्, “केही दिन त मलाई फेरि पहिलेकै अवस्थामा आउन गाह्रो भएको थियो । अर्थात एडजस्ट हुन गाह्रो । तीन महिना कसरी बित्यो, पत्तै भएन् । ८ हजार भन्दा बढी उचाई रहेका १४ वटै हिमालहरु एकै यात्रामा हेर्न पाउनु सानोतिनो उपलब्धी थिएन मेरो लागि । यो जीवनको एक अविस्मरणीय हिस्सा बन्यो मेरो । ”
उनलाई लाग्छ, नेपाल बल्ल घुम्न सुरु गर्दै छिन् उनले । नेपालमै पर्यटन क्षेत्रमा केही गर्छु भन्ने सपना बोकेकी छिन् उनले । उनको आफ्नै ट्राभल पेज अनि पोडकास्ट पनि छ । आफ्ना यात्रा अनुभूति त्यही पस्काउँछिन् उनी । म पुगेका ठाउँहरुमा पर्यटकहरु घुमाउने मेरो लक्ष्य छ, उनले कुराकानीको बिट मार्दै भनिन्, “कोरोना कहरले केही वर्ष नेपालको पर्यटन धरासयी बनेपनि पक्कै यो छिट्टै उठ्नेछ । अर्थात ब्याक टु नर्मल । अबको मेरो जीवनको समय नै नेपालको पर्यटन क्षेत्रमा खर्चने मेरो लक्ष्य छ ।”




