पोखरा, ८ साउन– यसपालि पनि हर्पन खोलाले जलकुम्भी बगाएर ल्याएछ ! तर, गौरीको दुःख भने बगाएर लैजान सकेन । गौरीका दुःख फेवाताल झैं टिलपिल परेर बसेका छन् । महिनादिन लामो लकडाउनले त गौरीलाई झनै गाह्रो पा¥यो । बिहान बेलुका हातमुख जोर्न पनि हम्मेहम्मे परेको थियो रे ! गौरीलाई ।
हर्पनले माथि–माथि, सिरानतिरबाट बगाएर ल्याएका जलकुम्भी किनारतिर थुप्रिएर बसेको छन् । गौरीका दुःख जस्तै गरि । जलकुम्भीको थुप्रोभन्दा अलिकति मास्तिर गौरी टोकरीमा पसल थापेर बसेकी छिन् । चट्पट् पानीपुरीको । बाटो हिड्ने बटुवा कसैले उनीतिर नजर फ्याँकी हाले भने गौरी हत्तपत्त सोधि हाल्छिन्, ‘चट्पट् खाने हो भाई ?’
लकडाउन अघिसम्म दैनिक २५ सय देखि ३ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो रे, गौरीको । जबदेखि देशमा लकडाउन सुरु भयो । गौरीको आयस्रोत नै बन्द भयो । हातमुख जोर्ने बाटो बन्द भयो । एक्लै भए त एक दुई छाक नखाए पनि टथ्र्यो होला ! दुई लालाबालाको निर्दोष अनुहारले पोल्थ्यो । बिहान बेलुकी खानाको जोहो गर्नै गाह्रो परेपछि टोकरी बोकेर फेवा किनारमा निस्केकी हुन् रे गौरी । ‘अप्ठ्यारो त बेस्सरी भयो नि ! एउटै मान्छेले कोठाभाँडा सबैथोक गरेर बसेको मान्छेलाई ठप्प भएर बस्नपर्दा अप्ठ्यारो परेन होला ! अप्ठ्यारो प¥यो नि !’ लकडाउनमा भोग्नु परेको समस्या पोख्दै गौरीले भनिन् ।
गौरीका दुई छोरा रहेछन् । कान्छो छोरा ‘प्लस टू’, जेठो ब्याचलर पढ्दै रहेछन् । कहिलेकाहिँ त धेरै भीड जम्मा पा¥यौं भन्दै प्रहरी हप्काउन पनि आउछन् रे ! ‘घरको स्थिति हेरेर, केही होला भनेर आएको । डर त हाम्लाई पनि लाग्छ नि, रोग लाग्छ भन्ने डर त छ, डराई–डराई काम गर्नु परेको छ,’ उनले अघि सुनाइन् । अरु बेला दिउँसोपख पनि चहलपहल हुने फेवा अहिले ६ बजे आसपासमा अलिअलि हुँदोरहेछ । त्यही बेला अलिअलि व्यापार हुन्छ गौरीको ‘लकडाउन अघिसम्म दिनहूँ ३ हजारसम्मको व्यापार हुन्थ्यो । अहिले त ४÷५ सय कमाउन पनि मुश्किल छ’, गौरीले सुनाइन् ।
‘पोखरा महानगरले बाँडेको राहत पाउनु भयो कि भएन नि’, हामीले सोध्यौं । एकपटक महानगरले बाड्ने राहत वडाबाट १२ किलो चामल पाएकी रहिछन् गौरीले । त्यतिले त कति नै पो पुग्थ्यो ?‘अब त मरे मरिन्छ । खाना बिना मर्न भन्दा काम गरेरै खाएर मर्ने भनेर आएको । डर त छ’, उनले भनिन्, ‘मर्न देखि डर त लाग्छ नि केही सीप नलागेपछि परिवार पाल्न प¥यो । आफू त जे सुकै होला, दुई छोराहरु छन्, तिनलाई पनि हेर्नुप¥यो । खाँचो पनि पूरा गरिदिनुप¥यो ।’ गौरी अहिले पोखरा महानगरपालिका वडा नम्बर ७ मा डेरा गरि बस्छिन् रे !
गौरीको अलि पर्तिर खहरेकी सीता नेपाली पनि उसैगरि टोकरिमा चटपट् र पानीपुरीको पसल थापेकी छिन् । सीताको पनि गौरीका जस्तै व्यथा छन् । धन्न ! उनको त लकडाउनको बेलामा पनि आफ्नो टोलमै अलिअलि व्यापार भएछ् । त्यसैले केही सहज भएको बताउँछिन्, सीता ।सीताको परिवारमा छोरा र श्रीमान मात्र रहेछन् । लकडाउनले श्रीमान पनि बेरोजगार बनेर बसेका रहेछन् । लकडाउन अघिसम्म दिनहूँ ३ हजारसम्मको व्यापार गर्ने उनको व्यपार अहिले त ५ सय रुपैयाँमा झरेको छ । ‘गरेर खान पनि गाह्रो छ’, सीताले सुनाइन् ।
सीताको टोकरी नजिकै सन्त मगरले पनि चिया बेचिरहेका छन् । उनका पनि गौरी र सीताकै जस्तो कथा छ । २ वर्षदेखि चिया बेच्दै आएका उनी लकडाउनले महिनादिनसम्म कोठामै बसे । कामधन्दा ठप्प बनेपछि हातमुख जोर्ने पनि धौंधौं भो । बिहान के खाने ? बेलुका के खाने ? समस्यै समस्या !‘पहिला त घरतिर पनि खर्च पठाउन पुग्थ्यो,’ दुख पोख्दै उनले भने, ‘अहिले त भाडा तिर्न पनि सकेको छैन । पहिला सेदीमा बस्थ्यौं । महंगो भएर पामे सरेका छौं । आमाबुबा गाउँतिर इलाममै हुनुहुन्छ ।’
सन्तले भने राहत दुई चोटी पाएका रहेछन् । एकपटक पारस शाहले बाँडेको राहत पाएका रहेछन् । अर्कोपटक महानगरबाट पनि पाएछन । तीन महिना कामविहीन बनेर बसेका सन्त बीचमा ज्यामी काम पनि हिँडेछन् । तर, त्यही ज्यामी काम पनि रेगुलर पाइनछन् । कामै नपाएर भोकै मर्नुभन्दा जे पर्ला पर्ला सोचेर, सन्तले थर्मसमा चिया भरेर निस्केछन्, फेवा किनारतिर । पहिलेदेखि चिनजान भएका फाट्टफुट्ट उनकोमै चिया पिउन आउँदा रहेछन् । ‘कोरोना भन्दा पनि भोकले मरिएला भन्ने डर लाग्यो सर, रोगसँग पनि सर्तक हुनु पर्ने हो । रोग लाग्छ भनेर नहिडेर कसले खान दिने ? बालबच्चा सानै छन्,’ उनले सुनाए । फेवा किनारका यि तीन खुद्रा व्यापारी । जो पहिले जस्तै ग्राहक आउने प्रतीक्षामा छन् ।





