स्याङ्जा, ९ साउन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सीप सिकेर आत्मनिर्भर बन्नेबाटोमा लाग्नु पर्ने बताएकी छन् । आत्मनिर्भरता बिना देशको विकास सम्भव नभएको बताउदै मन्त्री अर्यालले अब अत्मनिर्भर बन्नुको विकल्प नभएको बताइन् ।
‘आत्मनिर्भर भएमात्रै देशको विकास गर्न सकिन्छ, सबै कुरामा अर्काकाको भर परेर अब मुलुकले धान्न सक्दैन त्यसैले सबै आत्मनिर्भरताको बाटोमा लागौँ’, उनले भनिन्,‘ आवश्यक सहयोग गर्न सरकार तयार छ ।’ मन्त्री अर्याल वालिङमा सञ्चालित व्यावसायिक ढाका बुनाई सीप विकास तालिमको समापनमा बोल्दै थिइन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको महिला लघु उद्यम तथा उद्यमशील विकास कार्यक्रम अन्र्तगत सो तालिमको आयोजना गरिएको छ । आफै आत्मनिभर नभएसम्म बोलेर मात्रै समृद्धि नआउने भएकोले सरकार आत्मर्निभरताको बाटोमा अगाडी बढेकोले आयात घटाएर निर्यात बढाउने योजनाका साथ सरकारले काम गरिरहेको मन्त्री अर्यालको दावी थियो ।
मन्त्री अर्यालले महिला दिदीबहिनीहरुलाई संगठित भएर समुहमा काम गर्न आग्रह पनि गरिन् । व्यावसायिक रुपमा काम गर्न चाहनेहरुलाई सरकारले सहुलियतदरमा ऋण उपलब्ध गराउनुका साथै बजारीकरणका लागि समेत सरकारले सहयोग गर्ने उनको भनाई थियो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँंणले समृद्धिको लागि सीप विकास आवश्यक रहेको बताउँदै उत्पादनलाई प्राथामिकता दिनुपर्ने बताए । नगरप्रमुख खांँणले उत्पादनलाई प्रोत्साहन दिनका लागि नगरपालिका जमानी बसेर ऋणको व्यवस्था समेत गरेको जानकारी दिए ।तालिममा वालिङनगरपालिकाका १४ वटै वडाबाट एक एक जना महिलाको सहभागिता कानुङ आँधीखोला बचत तथा ऋण सहकारीका अध्यक्ष उमेश दर्लामीले जानकारी दिए ।





