बागलुङ, १५ साउन– राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यमा बागलुङका सम्पन्न श्रेष्ठ मनोनित भएका छन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विहिबार बागलुङका श्रेष्ठसहित छ जनालाई सदस्यमा मनोनित गरेका हुन् ।
तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्षसमेत रहेका श्रेष्ठ गण्डकी प्रदेशबाट राखेपमा सदस्य मनोनित भएका हुन् । उनीसहित रिम रानाभाट, इन्दिरा निरौला, सुवास श्रेष्ठ, गोविन्द भट्टराई र अर्जुन बहादुर केसी पनि सदस्यमा मनोनित भएका छन् ।
राष्ट्रिय खेलकूद विकास ऐन २०७७ अनुसार राष्ट्रिय खेल संघको सिफारिसमा बाग्लुङ नगरपालिकाका निवासी श्रेष्ठलाई मन्त्रालयले मनोनित गरेको जनाएको छ । समितिमा खेलकूद विज्ञ, खेलकूद प्राविधिक, प्रशिक्षक तथा एन्टी डोपिङलगायत मध्येबाट समेत सदस्य मनोनित गरिएको छ । बागलुङका श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का जिल्ला कमिटि सदस्य, खेलकुद इन्चार्ज र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यसमेत हुन् ।





