पोखरा, २७ साउन– विश्वकप छनोट चरण खेल प्रशिक्षण सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमलाई क्वारेन्टिनमा राखेसँगै सोमबार स्वाब परिक्षणको लागि पठाइएको छ । बन्द प्रशिक्षणमा बोलाइएका ११ सदस्यसहित २५ जनाको स्वाब संकलन गरिएको छ ।
सोमबार पाटन अस्पतालमा ११ खेलाडी, दुई अफिसियल र १२ जना स्टाफ गरि २५ जनाको स्वाब संकलन गरिएको एन्फाले जनाएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिने छ । सोमबार उपत्यका बाहिरबाट गएका विशाल राई, देवेन्द्र तामाङ, रवि पासवान, रन्जित धिमाल, मिक्छेन तामाङ, पुजन उपरकोटी, विमल राना, दीप कार्की, छिरिङ गुरुङ, दिलेन लोक्ताम, दर्शन गुरुङ, फिजियो आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको स्वाव संकलन गरिएको हो । एन्फाले क्याम्पमा डाकिएका ३४ खेलाडीसँगै कोचिङ स्टाफ, अफिसियल, होस्टेल स्टाफलगायत ७० जनाको कोरोना परीक्षण गर्ने योजना बनाएको छ । कोरोना नेगेटिभ देखिए खेलाडीलाई एन्फाको होस्टेलमा राखिने छ । प्रशिक्षण दौरान उनीहरुले एन्फा होस्टेल छाड्न पाउने छैनन् । एन्फाले प्रशिक्षणका लागि विभिन्न १७ प्रोटोकल बनाएको छ । एन्फाले १ भदौबाट राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने योजना बनाएको छ ।
एन्फाको साधारणसभा स्थगित
यस्तै भदौ १५ गते निर्धारण भएको एन्फाको १९ औ साधारण सभा समेत स्थगित भएको छ । कोराना भाइरस संक्रमण बढ्न थालेको भन्दै एन्फाले अर्को सुचना जारी नभएसम्मको लागि साधारणसभा स्थगित गरेको हो । सोमबार एक विज्ञप्ती जारी गर्दै एन्फाले साधारण सभा स्थगित भएको जानकारी दिएको हो । कोभिड–१९ को संक्रमणको दर झन बढ्न थालेको, समुदायस्तरमा नै संक्रमणको विस्तार हुन सक्ने उच्च जोखिम समेत देखिएकाले अर्को सुचना जारी नभएसम्मको लागि स्थगन गर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ भनि विज्ञप्तीमा उल्लेख छ ।





