पोखरा, ३१ साउन– विश्व कोरोनाको महामारीको चपेटामा परेको छ । अहिले कोरोनाको संक्रमण नेपालमा दैनिक बढ्न थालेका छन् । कोरोनाको कारण यतिबेला खेलक्षेत्र ठप्प छन् । खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् । कुनैपनि खेलको खेलाडीले नियमित प्रशिक्षण त गर्न नै पर्छ तर नियमित प्रशिक्षण गर्न नपाएको खण्डमा भने हप्तामा चार दिन आफु फिट रहन खेलाडीले व्यायम गर्नैपर्ने हुन्छ । कोरोनाको कारणले यतिबेला खेलाडी समेत घरमै बस्न पर्ने बाध्य भएका छन । खेल गतिविधि नहुँदा आफ्नो खेल स्तर बढाउन सकेका छैनन् । विशेष गरी समुहमा खेलिने खेलहरु बढि प्रभावित भएका छन भने खेलाडीलाई पनि त्यस्तै समस्या रहेको छ । कोरोनाको कारणले खेलाडीमा पर्ने मानसिक तनाव र खेल संघप्रति सकरात्मक बनाउन र विषम परिस्थितिमा समेत बलियो रहनको लागि भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले हौसला प्रदान गर्ने काम गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक सहयोगमा कास्की जिल्ला फुटबल संघले फुटबलसंग आवद्ध रहेको ५० जनालाई सहयोग गरेको छ ।
फुटबलको विकासमा पछिल्लो समय निकै अग्रसर देखाएको संघले आफ्नो जिम्मेवारी वहन गर्दै अघि बढेको छ । संघले फुटबलमा आवद्ध पुर्व खेलाडी, खेलाडी, कर्मचारी, पत्रकार लगायतलाई नगद सहयोग गरेको छ । कोरोनाको विषम परिस्थितिमा समेत संघले आफ्ना खेलाडीलाई सम्झनुनै सरानिय कार्य भएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको भनाई छ । ‘संक्रमण फैलिएको अवस्थामा सबै क्षेत्र प्रभावित भएको विशेष गरी खेल क्षेत्रभने बढिनै प्रभावित भएको छ । यतिबेला खेलकुदको गतिविधि ठप्प भएका छन् । खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् ’ गिरीले भने । खेलाडीको संरक्षण गर्ने काम फुटबल संघलेझै अन्य संघले पनि गर्नुपर्ने गिरीको भनाइ छ । कोरोनाको कारणले वर्षेनी प्रदान गर्दै आएको पोखरा स्पोर्टस अवार्ड समेत प्रभावित भएको बताउँदै उनले भने– ‘खेलाडीलाई प्रोत्साहन स्वरुप हामिले गर्दै आएको पोखरा स्पोर्टस अवार्ड कोरोनाको कारण प्रभावित बनेको छ । कोरोना संक्रमण सकिए हामिले अवार्ड वितरणलाई निरन्तरता दिने छौ’ उनले भने । सोहि क्रममा बोल्दै कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले खेलाडी तथा पदाधिकारीलाई केहि समय पहिले नै सहयोग गर्नुपर्ने भएपनि नाम संकलनको कारणले ढिला भएको बताए । एन्फाले मोफसलमा रहेका फुटबल संघ मार्फत खेलाडी तथा पदाधिकारीलाई सहयोग गर्नु खेलाडीको लागि मात्र नभएर संघको लागि समेत महत्वको विषय रहेको बताए । संघमा रकम आए खेलाडीलाई थप सहयोग प्रदान गर्ने उनको भनाइ छ । संघ मार्फत सहारा क्लब पोखराको लागि समेत आर्थिक सहयोगको लागि पहल भएको अध्यक्ष गुरुङले बताए । सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले खेलाडीको हौसला प्रदानगर्न संघले गरेको कार्यप्रति आभार प्रकट गरे । त्यस्तै लायन्स क्लब अफ सेन्टेनियलका अध्यक्ष प्रगत कायस्थले संघले गर्ने हरेक सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोहि क्रममा बोल्दै खेलाडी तथा महिला अफिसियल समेत रहेकी पार्वती रानामगरले आफुहरुले मैदानमा लामो समय देखि प्रशिक्षण गर्न नपाउँदा निकै समस्या परेको बताइन् । कोरोनाको कारण निकै समस्या भए पनि खेलाडीलाई संघले सम्झिएकोमा निकै खुसी रहेको बताइन् ।
एन्फाको र लायन्स क्लब अफ पोखरा सेन्टेनियलको आर्थिक सहयोगमा एक व्यक्तिलाई दुई हजार ५ सयका दरले सहयोग गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मण योगी ,जगत थापा लगायतले खेलाडीलाई हौसला प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै गरे । कोभिड १९ ले प्रभावित खेलाडी, अफिसियल र कर्मचारी गरि ५० जनालाई राहत वितरण गरिएको एन्फा कास्कीका उपाध्यक्ष एवम कार्यक्रम संयोजक इश्वर गुरुङले जानकारी दिए । राहत प्राप्त गर्नेहरुमा ५ जना महिला खेलाडी, ७ जना अफिसियल र ३५ जना पुरुष खेलाडी तथा ३ जना पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारी रहेका छन् ।





