समय र भाग्य सबैको एकनास कहाँ चल्दोरहेछ र ? कसैको भाग्यमा खुसी र सुख मात्र मिल्छ त कसैको भाग्यमा पिडा र दुखैदुख, आफु र भाइबहिनी पनि सानै, भर्खर आफुले स्कुल चिन्दै गर्दा बुवाले सौतेनी आमा ल्याएर आफुहरुलाई छाडी छुट्टै बसेपछि परिवारमा आर्थिक अभाव ! पढ्ने, खेल्ने, परिवारको साथमा रमाउने त्यो बालापन, बाह्र वर्षको कलिलो उमेरमा आफ्नो ठुलोबुवासंग परिवारको अभाव टार्ने सपना बोकेर भारत प्रस्थान ! त्यो बालपनमा प्रदेशमा पसिना बगाउँदा शारीरिक र मानसिक रुपमा पिडा कति भयो होला कि भोग्नेले अनुभव गर्न सक्छ कि मात्र महसुस गर्न सकिन्छ ! आफ्नै संघर्षले भाइबहिनीको र आमाको चोली फेर्ने सपना पुरा भएपछि विवाह, विवाह गरेको छ÷सात वर्षसम्म सन्तान नजन्मिएपछि अर्को चिन्ता, पुजापाठ, औषधिमुलो गरेपछि बल्ल सन्तानप्राप्ती ! जसले थपिदिएको थियो जिन्दगीमा नै एउटा सुनौलो खुशी, त्यसपछि लगातार दुई÷तिन वर्षको अन्तरालमा पाँच सन्तानको जन्म ! ३ छोरी २ छोरा सन्तान परिवारको साथमा रमाउने रहर कुन बाउलाई नहोला र सन्तानको भविष्य भन्दाभन्दै छोराछोरीसंग कहिल्यै साथमा छ महिना बिताउने अवसर नै मिलेन ! उनीहरुको सफलता र खुशीले संसारकै अमुल्य खुशी दिन्थ्यो जसले जस्तोसुकै दुःखमा पनि अझ संघर्ष गर्ने उर्जा थपिदिन्थ्यो !
आशाहरु भरपुर थिए छोराछोरीले पढाई सकेर कमाउने छन् अर्थात् मेरा सहारा बन्ने छन्, त्यसपछि म उनीहरुकै साथमा सधैं, संगै रमाउन अवस्य पाउने छु भन्ने अभिलाषा जिवित थियो ! छोराछोरी हुर्किदै पढ्दै थिए, अब त्यो दिन आउन एक÷दुई वर्षभन्दा बढी बाँकी थिएन, त्यसैको बिचमा आफ्नी आमाको मृत्यु भयो, आमाको मृत्युुपछि घर गएर काजकिरिया सकेर फेरि प्रदेशी बनेको भर्खर छ महिना पुगेको थियो ! अभाव, दबाब, पिडाले त थिचिरहेको थियो तर लागेको थिएन त्यो समय त्यती निर्दयी बन्नेछ ! अलिअलि घाँटीमा समस्या देखियो, त्यसपछि अस्पतालमा भर्ना साँझमा परिवारसंघ कुरा गर्दा रुघाखोकी लागेर पनि कोहि आत्तिन्छ भन्दै सान्त्वना दिँदै फोन राख्नु, तर समयको नियतीलाई कस्ले छेक्न सक्यो र ? अब परिवारको साथमा रमाउने सपना दैबलाई असह्य भयो अँह बुढो हुन्जेल बाँच्नै अधिकार नै दिएन पापी समयले ! बाउन्न वर्षको अल्पायुमै अर्को दिन बिहान सदासदाको लागि संसार छोडेर सबैसंग बिदा हुनुपर्यो, हो त्यही मान्छे हुनुहुन्छ मेरो बाबा !
यदि मेहेनत र संघर्षले खुशी र सुख दिँदो हो त संसारको सबैभन्दा खुशी, सुखी मेरै बाबा हुनुहुन्थ्यो होला ! अँह म कहिल्यै जानिन् बुवाको रुखो बचन त एक झापड ! जिन्दगीको सबैभन्दा अप्ठ्यारो प्रश्न नै त्यहीं लाग्छ अचेल कसैले ‘बुवा कहाँ हुनुहुन्छ’ भनेर सोध्ने प्रश्न ! जसको म उत्तर नै भेटाउदिन !
बाबा हजुरले छोडेदेखि खुशीहरु हामीबाट निस्किएर खुशी आउने बाटोमा ताला लागेको छ, त्यो ताला खोल्ने चापी म अझै भेटाउन सकेको छैन ! आज त बुवाको मुख हेर्ने दिन मलाई खुब अत्यास लागेको छ, वर्षौँदेखीको अत्यास मेट्नु छ, हृदयमा गुम्सिएको पिडाहरु हजुरको अंगालोमा झम्टेर रुदैँ बिसाउन मन छ, हजुरको नामलाई शिरमा राखेर संसार चिनाउन, संघर्षको पाइला गन्तब्यसम्म पुर्याउन हजुरको आशिर्वाद लिनु छ, बाबा जसरी भएपनि आजको दिन मेरो सपनीमा आउनु है !
गल्याङ नगरपालिका–६ स्याङ्जा ।





