तनहुँ, १२ भदौ– फाँटको छेउमा पुगेर हेर्दा सुसाउँदै कालीगण्डकी अविरल बगिरहन्छ । नदी किनारको माथीपट्टी उराठ लाग्दो फाँट छ । कालीगण्डकी तीरदेखी दुई सय मिटर माथीको रुपटार फाँटमा सिंचाईको सुविधा पुगेर लहलह धान झुलेको हेर्ने धोको छ, शुसिला गिरीलाई । शुसिला मात्र कहाँ हो र ? तनहुँको ऋषिङ गाउँपालिका–५ रुपटारीबासी पनि यस्तै सपना देख्छन् ।
‘खेतको आलीमा बसेर लहलह झुलेको पहेँलपुर धान हेर्ने धोको कति हो कति छ । हाम्रै पुस्ताले देख्न पाए हुन्थ्यो’ उनी भन्छिन्, ‘सपना मात्रै हुन्छ कि ?’ यहाँको सुन्दर फाँटमा सिंचाई सुविधा छैन् । उर्वर फाँटमा सिंचाई अभावले मुख्य वालीका रुपमा मकै र मास मात्र उत्पादन हुन्छ । ‘दुई खेती भन्दा हुदैन् । भात खानलाई चामल र तरकारी बजारबाटै बेसाउनुपर्ने बाध्यता छ’, उनले भनिन् ‘मकै र मास मात्र फल्छ । त्यही बेचेर चामल किन्ने हो ।’
बैशाखमा यहाँ मकै छरिन्छ । साउनमा मकै भाँचेपछि मास लगाईन्छ । कात्तिकमा मास थन्काएपछि बैशाखसम्म करिब दुई सय हेक्टर क्षेत्रफलमा फैलिएको फाँट बाँझै रहन्छ । यहाँका ९५ प्रतिशतले बजारबाट बेसाएको चामलको भरमा दुई छाक भात खाने हो । नत्र मकैको आटो र मासको दाल । नवलपुर कालीपारमा खेत हुनेहरुले मात्रै आफैँले उब्जनी गरेको चामल उपभोग गर्छन् ।
सिंचाई सुविधा भए रुपटारको फाँटमा सजिलै तीन वाली लगाउन मिल्ने गिरीले सुनाईन् । सिंचाई भएको खण्डमा हिउँदमा गहुँ, तोरी, केराउ, चना, मुसुरो जस्ता वाली लगाउन सक्ने उनले बताईन् । तीन खेती गर्न पाए स्थानिय गरिबीको रेखामुनीबाट माथी उठ्ने शुशिलाको विश्वास छ । उनले अगाडी थपिन्, ‘उब्जनीका लागी पानी प्रशस्त चाहिन्छ । सुख्खा भएपछि के फल्छ र ।’ पहिला चामलको लागी यहाँ घैया खेती पनि गरिन्थ्यो । सिंचाई नपुगेको पाखो बारीमा लगाउने घैया पछिल्ला बर्ष भने समयमै पानी नपरेर उत्पादन घट्दै गएकाले लगाउन छोडेको गिरीले बताईन् ।
अर्का किसान ढोलबहादुर दरैले सिंचाईको सुविधा भईदिए सुख्खा फाँट हराभरामा परिणत हुने बताए । ‘भईदियो भने मकै राम्रै फल्छ । धानको त गेडो फल्दैन । सिंचाईको सुविधमा भएको भए धान खेती गर्न सकिन्छ’, उनले भने । परिवारका सदस्य वैदेशिक रोजगारीमा गएकाले चामल सहजै खरिद गरेपनि ज्याला मजदुरीको भरमा दैनिक गुजारा चलाउने परिवारलाई धौधौ हुने उनले सुनाए । कालीगण्डकी नदीको पानी रुपटारको फाँटमा सिँचाइ गर्ने व्यवस्था मिलाएमा रुपटारबासीको जिवकोपार्जनमा सघाउ पुग्ने दरैको भनाई छ ।
गाउँमै कृषीमा आत्मानिर्भर भएर छोरानाती विदेशीन नपरे हुन्थ्यो जस्तो लाग्छ स्थानियलाई । नगएर सुखै छैन् । उर्वरभुमी बाँझै राखेर गाउँका युवा वैदेशिक रोजगारमा जान बाध्य भएको स्थानिय शिक्षक कृष्ण गिरीले बताए । ‘अहिले निर्वाहामुखी खेती भईरहेको छ । सिंचाई हुने हो भने यहीँ खेतीपाती गरेर आत्मानिर्भर हुन सक्छौँ’, उनले दाबी गरे ।
बहुदल आएपछिको हरेक पटक चुनावमा उम्मेदवारहरु रुपटारमा सिंचाई सुविधाको सपना देखाँउदै पुगे । तर, पुरा कहिल्यै भएन् । यसपाली गण्डकी प्रदेश सरकारले चालु बर्षको बजेटमा रुपटार भुमीगत सिंचाईका लागी ११ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकमले सिंचाईको काम सम्पन्न नभएपनि थोरै आशा पलाएको गिरीले उल्लेख गरे ।
कालीगण्डकी किनारका फाँटहरुमा फल्ने मास स्वादिष्ट हुदाँ बजारमा राम्रै माग थियो । दुई बर्षयता मास पनि त्यति बक्री नभएको गिरी बताउँछन् । उनी भन्छन्, ‘किराले सताएर उत्पादन घटेको छ । अर्कोतिर विदेशको मासले विस्थापित गराउदा मुल्य नै पाइएन ।’ दुई बर्ष अगाडी ६ सय रुपैयाँ पाथीमा मास बिक्री भएकोमा यो बर्ष ३ सय रुपैयाँ पाथीमा पनि बिक्री नभएको उनले बताए ।
रुपटार फाँटमा सिंचाईको सुविधा भए कृषी उत्पादनको निकै सम्भावना भएको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ बताउँछन् । त्यहाँ सिंचाई आयोजना सञ्चालन गर्न गाउँपालिकाको बजेटले नभ्याउने कारण संघ र प्रदेश सरकारलाई सिफारिस गरेको उनले जानकारी दिए । ‘गाउँपालिकाबाट सम्भव भएका काम गर्छौ’, उनले भने ।





