पोखरा, २४ भदौ– युइएफए नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा नर्वेले सानदार जित हात पारेको छ । नर्वेले नर्दन आयरल्यान्डलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको हो । नर्वेको जितमा एर्लिङ ब्राउट हालान्ड र एलेसान्दार सोरलोथले समान २–२ तथा मोहम्मद इल्युनोउसीले १ गोल गरे । नर्दन आयरल्यान्डका प्याट्रिक टिमका लागि सान्त्वना गोल गरे । एकपक्षीय खेलमा नर्वेले खेल सुरु भएको तेस्रो मिनेटमा नै गोल ग¥यो । सो गोल नर्वेका इल्युनोउसीले नाममा लेखियो । कप्तान स्टेफन जोहान्सनले दिएको क्रसलाई पासको सदुपयोग उनले गोल गरेका हुन् । छैटांै मिनेटमा घरेलु टोलीका प्याट्रिकले खेललाई १–१ गोलको बराबरीमा ल्याए । ड्यानियल बलार्डको क्रसमा फरवार्ड कोनोर वासिङ्टनले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई नर्वेका गोलरक्षक रुनी जार्सटेइनले पञ्च गरी बचाए पनि अनमार्क रहेका प्याट्रिकले बललाई जाली चुमाएका थिए ।
त्यसको एक मिनेट नबित्दै एर्लिङ ब्राउट हालान्डले गोल गर्दै नर्वेलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । सोरलोथले हेडरमार्फत् मिलाइदिएको पासमा हालान्डले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत हुन पुग्यो । खेलको १९औं मिनेटमा आइताम एलिसामीको क्रसमा सोरलोथले गोल गर्दै नर्वेलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । ४७औं मिनेटमा हालान्डको पासमा सोरलोथले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित निश्चित गरेका थिए । त्यस्तै खेलको ५८औ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ को सानदार जित दिलाए । जितसँगै लिग ‘बी’ १ मा रहेको नर्वेले दुई खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । रोमानिया ४ अंक जोडेर शीर्षस्थानमा रहँदा ३ अंक नै जोडेको अष्ट्रिया नर्वेभन्दा हेड टु हेडमा अघि छ । नर्दन आयरल्यान्ड १ अंकसहित पुछारमा छ । सोही समूहको अर्काे खेलमा रोमानियाले अष्ट्रियामाथि ३–२ को जित निकालेको छ । रोमानियाको जितमा डेनिस एलिबेक, ड्रागोस ग्रिगोरे र एलेसान्द्रु म्याक्सिमले समान १–१ गोल गरे । अष्ट्रियाका क्रिस्टोफ बाउमगार्टनर र करिम ओनिसिवोले गोल गरे ।
सोमवार राति नै भएको अन्य खेलमा इटालीले नेदरल्यान्डलाई १–० गोलले हरायो । इजरायल र स्लोभाकिया बीचको खेल भने १–१ गोलको बराबरीमा रोकिएको छ । स्कोटल्यान्डले चेक रिपब्लिकलाई २–१ ले हरायो । पोल्यान्डले बोस्निया हर्जगोभिनालाई २–१ तथा लिथुनियाले अल्बानियालाई १–० गोलले हरायो ।
फ्रान्सका एम्बाप्पेलाई कोरोना पुष्टि
फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) का अनुसार अन्तर्राष्ट्रिय ड्युटीमै रहँदा २१ वर्षीय एम्बाप्पेमा सोमबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएसँगै उनी राष्ट्रिय टोलीको क्याम्प छोड्दै सेल्फ आइसोलेसनमा गइसकेका छन् । नेसन्स लिग अन्तर्गत शनिबार स्वीडेनविरुद्धको खेलमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए । उन गोलमा १–० को जित निकालेको थियो । कोरोना पुष्टि भएसँगै एमबाप्पेले क्रोएसियाविरुद्धको खेल गुमाउने भएका हुन ।





