बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म बिना कसैकसैलाईका सर्जक गिरी भन्छन्ः ‘छिट्टै कम ब्याक गर्छु’

म बिना कसैकसैलाईका सर्जक गिरी भन्छन्ः ‘छिट्टै कम ब्याक गर्छु’


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७७, बिहिबार

‘म बिना कसैकसैलाई मुस्किल छ, पोखरामा
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा…’
एकताका यो गीत निकै चर्चित बन्यो । चर्चित मात्रै बनेन, सबैको मुखैमा झुन्डियो । उसो त यो गीतको चर्चा अझै सेलाएको छैन । पोखरा शब्द सुन्ने बित्तिकै जोकोहीले यो गीत झल्यास्स सम्झिन्छन् । अनि गुनगुनाउन थाल्छन्, ‘मबिना कसैकसैलाई मुश्किल छ, पोखरामा…।’
यो गीतले जसरी चर्चा पायो, यसका गायक, सर्जक, कम्पोजरले पनि उत्तिकै चर्चा पाए । अझ यो गीतका गायक प्रमोद खेरलले त आफ्नो सांगीतिक करियरलाई सायदै पछाडि फर्केर हेर्नुपरेको छ । त्यस्तो कुनै स्टेज प्रोग्राम हुन्न जहाँ उनले यो गीत गाउन नपरोस् । यही गीतको डिमान्ड आइहाल्छ । तर, यो गीतका सर्जक शीतल गिरी भने गुमनाम जस्तै छन् । त्यसपछि उनका गीत खासै सुनिएका छैनन् ।
एउटा गीत चल्नुमा धेरै जनाको हात हुन्छ । लिरिक्स मात्रै राम्रो भएर हुँदैन । कम्पोजिसन राम्रो भएर मात्र पुग्दैन । गायकले राम्रो गाउनुपर्छ । सर्जकले राम्रो सिर्जना गर्नुपर्छ । कम्पोजरले राम्रो कम्पोज गर्नुपर्छ । सबैको कम्बिनेसन मिल्नुपर्छ । राम्रो प्रमोसन हुनुपर्छ । मिडियामा बज्नुपर्छ । धेरै मान्छे माँझ पुग्नुपर्छ अनि पो गीत चर्चित हुन्छ ।
‘मबिना कसैकसैलाई…’ को मेकिङ अनुभूति सुनाउँदै शीतलले भने, ‘यी सबैको राम्रो कम्बिनेसनले नै गीत हिट भएको हो । प्रमोसन स्ट्राटेजी नै फरक खालको थियो । त्यसैले पनि राम्रो भयो ।’
‘मबिना कसैकसैलाई’को रचना गर्भ छुट्टै छ । उच्च शिक्षा अध्ययनका लागि कीर्तिपुरमा थिए उनी । घरदेखि टाढिनु पर्दा घरपरिवार, माया गर्ने मान्छेलाई धेरै मिस गरे । परिवारसँगको त्यही विछोडलाई उनले शब्दमा उतारे । उनलाई गीत चर्चित बन्छ भन्नेमा विश्वास थियो तर यति धेरै चर्चित हुन्छ भन्ने लागेको थिएन रे ! ‘राम्रो बनेको छ भन्नेमा त ढुक्क थिए तर यति धेरै चर्चित हुन्छ भन्ने लागेको थिएन,’ उनले भने ।
सुरुमा त उनलाई यो गीत बनाउनुपर्छ भन्ने पनि लागेको थिएन । एकाध गजल बाचन कार्यक्रममा वाचन पनि गरे । सबैबाट राम्रो छ भन्ने प्रतिक्रिया पाए । कोहीकोहीले गीत बनाउनुपर्छ भनेर सुझाउँथे पनि । त्यस्तै, ०६२÷६३ तिरको कुरा हो । संगीतकार महेश खड्का र एकजना दाइसँग उनी जन्म घर पोखरा महानगरपालिका २४, कास्कीकोट राति करिब ११ बजेतिर पानीमा भिज्दै पुगेका थिए रे ! पुराना दिन सम्झिँदै उनले भने, ‘दाइले नै शीतलसँग यस्तो खालको गजल छ भनेर कुरा निकाल्नुभयो महेश दाइले सुनौँ न भन्नुभयो । मैले सुनाएँ । सुनिसकेपछि गीत मन पराउनुभयो । टेबललाई तबला बनाएर म्युजिकको कन्सेप्ट पनि त्यहीँ तयार पार्नुभयो, भिडियो पनि यस्तो यस्तो बनाउने भनेर कन्सेप्ट बनाउनुभयो ।’
गीत त तयार भयो तर समस्या के भइदियो भने कम्पोजअनुसार गाउन कोही पनि गायक तयार भएनन् । गीत तयार भएको २÷३ वर्षसम्म त यसै थन्कियो । पछि प्रमोद खरेलसम्म कुरा पुगिसकेपछि भोकल गर्न तयार भए । कम्पोजअनुसार भोकल पनि भरेँ ।
तपाईंको वास्तविक जीवनसँग मेल खाने गीत त होइन नि ! हामीले प्रश्न राख्यौं । हाम्रो प्रश्नमा मुस्कुराउँदै उनले भने, ‘म एकदम स्पष्ट बोल्ने मान्छे, तपाईंलाई नलाग्न पनि सक्छ । गीत हिट भइसकेपछि पहिलो पटक बिग एफएममा इन्टरभ्युका लागि बोलाइएको थियो । मेरो पहिलो इन्टरभ्यु लिने मान्छे सम्झना गिरीसँग मेरो विवाह भयोे ।’
कसैको सिर्जनालाई प्रेमसँग मात्र दाँज्न नहुने धारण राख्छन्, शीतल । शीतल आफू भने गीत गाउँदैनन् तर गीतसंगीतको प्रभाव सानैदेखि परेको छ । आमाले जाँतो पिन्दा निस्केको आवाज उनलाई संगीतको धुन जस्तै लाग्थ्यो रे ! आमा अबेरसम्म जाँतो पिन्थिन् । उनी जाँतोको आवाज सुनेर निदाउँथे । सायद, त्यही आवाजको मोहले उनलाई सिर्जनको बाटोतर्फ डो¥यायो की !
रमाइलो प्रसंग त के छ भने रेडियो अन्नपूर्णले त्यतिबेला ‘खोजी प्रतिभा’को भन्ने कार्यक्रम चलाउँथ्यो । लहैलहैमा अडिसन दिए । फ्याट्ट, सेलेक्ट पनि भए तर उनकै एक जना राम्रो गाउने साथी भने अडिसनबाटै आउट भए । ‘लहैलहैमा अडिसन दिन गएँ,’ उनले भने, ‘फ्याट्टै अडिसनमा पनि पास भइहालेँ । मभन्दा राम्रो गाउने साथी भने अडिसन पास भएनन् ।’ यो सबै संयोग जस्तो लाग्छ उनलाई । मान्छेलाई भगवानले नै यो काम गर भनेर पहिलै त्यो किसिमको प्रतिभा दिएर पठाएको विश्वास राख्छन् उनी ।
कीर्तिपुरमा केही समय संगीत सिक्न पनि कस्सिएका रहेछन्, शीतल । तर, हार्माेनियमको किबोर्ड त्यति चलाउन सकेनन् । जति उनी डायरीका पानामा कलम चलाउन सक्थे ।
गिरी अचेल बैंकमा जागिरे छन् । तर सिर्जनशील क्षेत्रबाट पनि अझै अवकाश लिएका छैनन् । सग्रह नै निकाल्न पुग्ने गीत तयार छन् । एक वर्षअघि मुक्तक सग्रहह ‘सालिक’ बजारमा ल्याएका थिए उनले । आख्यानमा पनि कलम चलाउने गिरीले एउटा आख्यानको पाण्डुलिपि तयार पारिसकेको बताए । साहित्यका सबैजसो विधामा कलम चलाउन सक्ने खुबी उनमा भए पनि उनलाई सन्तुष्टि मिल्ने विधा भनेको गीत नै हो । उनी स्वयं आफूलाई गीतकार भन्न रुचाउँछन् ।
यो क्षेत्रमा फर्किन सुझाउने धेरै छन् उनलाई । ‘फेरि यही क्षेत्रमा फर्किनुपर्छ भन्ने धेरै हुनुहुन्छ,’ उनले भने, ‘आफ्नो करियर पनि हेर्नुप¥यो । गीतसंगीतमा लागेर मात्र पनि पुगेन । तर अब चाहिँ छिट्टै कमब्याक गर्ने योजनामा छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->