फाईल तस्विर
तनहुँ ४ असोज–
यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो
मगमग चल्यो बासना,
अनि दोलेहो कि, मोहनीले हो कि, यो नानीको शिरै ढल्केको
हामी पनि रिसिङ्गको, तिमी पनि रिसिङ्गको, लाइदेऊ माया एकै किसिमको…..
चर्चित गायक तथा सर्जक स्व. झलकमान गन्धर्वका यी कालजयी गीतका हरफहरूले तनहुँ रिसिङ्गको संस्कृतिलाई झल्काउँछ । नेपाली संगीतमा झलकमानदेखि प्रेमध्वज प्रधान र नयाँ पुस्ताका लोकप्रिय गायक विधान श्रेष्ठसम्मले यो गीतलाई विभिन्न कालखण्डमा गाएका कारण आज पनि रिसिङ्गको नाम चर्चामा छ । मगर समुदायमा प्रचलित कौराह रिसिङ्गबाट उत्पत्ति भएको मानिन्छ ।
दिनभर खेती–किसानी गर्ने र साँझपख रोधीघरमा रंग रमाइलो गर्ने मगर समुदायको पुख्र्याैली चलन हो । मौलिक कौराह गाउँदा नाच्ने आर्नाम (तरुनी)लाई चित्रण गरेर यो गीतको शब्द रचिएको छ । आर्नाम खैँचडीको तालमा पाउमा झर्रा र शिरमा चन्द्रमा वा फूल सिउरिएर नाच्ने गर्छन् । रिसिङ्गमा अझै पनि रोधी बस्ने चलन हराइसकेको छैन । मगर समुदायको बाक्लो बसोबास रहेको रिसिङ्गमा गुरुङ तथा नेवार समुदायको पनि बसोबास छ । पहिलेजस्तो सधँैझैँ गाउने बजाउने नभए पनि बेलामौकामा विशेष गरी चार्डपर्वमा अझै पनि मौलिक नाचगान गर्ने चलन जीवितै रहेको स्थानीय बताउँछन् ।
मगर समुदायमा प्रचलित कौराह तनहुँ जिल्लाको रिसिङ्ग गाउँपालिका तत्कालीन कोटदरबार गाउँविकास समितिअन्तर्गत पर्ने गैह्राथोक आसपासबाट करिब अढाई सय वर्षपहिले उत्पति भएको संस्कृतिकर्मी दानबहादुर आलेमगरको दाबी छ । मगर समुदायको मौलिक र लोकप्रिय नाच कौराहा पानी कुर्दा समय बिताउने क्रममा रमाइलो र आराम गर्न पँधेरोमा पानी भर्न प्रयोग गर्ने भाँडाकुँडा बजाउँदै नाच्ने गाउने गरी सुरु भएको आलेको कथन छ । आले भन्छन्– ‘मगर भाषामा (क्रुङ र ङाहा) नेपालीमा खैजडीको आवाज बज्योबाट कौराहा साथै (रुङ र डी) पानी कुर्नेदेखि रोदीको नामांकन भएको हो ।’
त्यसो त धर्म र संस्कृतिको सम्मिश्रणको स्थानका रूपमा रिसिङ्गलाई बुझ्नेहरू पनि कम छैनन् । दशकौँ अघिदेखि चर्चामा रहेको यो ठाउँ अपेक्षाकृत विकास नहुँदा यहाँको इतिहास बुझ्नेहरूलाई रिसिङ्गको गर्विलो संस्कृतिसमेत लोप हुन थालेको अनुभूति हुन्छ । तर, स्थानीयहरू भने पुरानो कला, संस्कृति अझै लोप भइनसकेको दाबी गर्छन् । ‘गाउँमा भएका ठिटाहरू बाहिर देश जाने ठिटीहरू पढ्न बजारतिरै बस्छन्, रोधी पहिलाको जस्तो त हुनै छाड्यो,’ स्थानीय वृद्ध आइतबहादुर थापा भन्छन्– ‘तर, कहिलेकाहीँ कसैको बिहे प¥यो भने रोधी बस्ने चलन छ, रोधी बस्दै नबस्ने भन्नेचाहिँँ होइन ।’
१६औँ शताब्दीमा श्रृङ्ग ऋषिको तपोभूमिका रूपमासमेत परिचित यो ठाँउ चौबिसे राज्यपूर्व यहाँ मगरहरूको स–साना राज्यहरू रहेको इतिहास भेटिन्छ । वि.सं १६१० ताका पाल्पाका राजा मुकुन्द सेनका भतिजा सम सेनले यहाँ राज्य गरेका र पछि यिनी निःसन्तान भएर परलोक भएपछि यसलाई तनहुँको राज्यमा समावेश गरिएको आलेखहरूमा उल्लेख गरिएको पाइन्छ । यहाँ रहेको प्रसिद्ध रानीपोखरी रिसिङ्गको अर्को विशेषता मानिन्छ ।
यो पोखरी मगर राजाको पालामा निर्माण भएको हो वा सेन राजाका पालामा यकिन छैन । रानीपोखरीको पश्चिमपट्टि एउटा सानो कुवा छ, जुन कुवामा उत्तरबाट सेती नदी र दक्षिणबाट कालीगण्डकीको पानी जम्मा भएको र उक्त पानी सेवन गरेपछि रोगव्याधि लाग्दैन, भन्ने किंवदन्ती छ ।
स्थानीय जनताको यस कथनमा सत्ययुगमा यहाँ ‘श्रृङ्ग ऋषि’ आएर तपस्या गरेका थिए । यिनै ऋषिको नामबाट अपभ्रंश भएर यस ठाउँको नाम रिसिङ्ग रहेको हो भन्ने गरिन्छ । अर्को भनाइअनुसार सेती गण्डकीदेखि दक्षिण तथा कालीदेखि उत्तरमा अवस्थित पूर्व–पश्चिम पसारिएर बसेको डाँडालाई श्रृङ्ग ऋषिको आश्रम भनिएको छ । देवभूमि भारत एवं आध्यात्मिक नेपाल ग्रन्थको श्लोक संख्या ९३÷९५ मा भनिएअनुसार श्रृङ्ग ऋषिको जन्मभूमि ऋषिङ्ग तथा तपोभूमि दमौलीदेखि दक्षिणपूर्वमा पर्ने तनहुँको सेती गण्डकी सराङघाटमा भएको बुझिन्छ ।
समुद्र सतहदेखि ११२० मिटर उचाइमा अवस्थित यस ठाउँमा प्रशस्त भिरालो जमिन छन् । ऐतिहासिक तथा पुरातात्विक इतिहास बोकेको रिसिङ्गले विकासको अधिक सम्भावना बोकेको छ । त्यहाँ रहेका ऐतिहासिक संरचनाहरू राजदरबारको भग्नावशेष, रानीपोखरी, अजम्बरी माईको मन्दिर, जलजला मन्दिर, कोटदरबार, गुफा मुख्य आकर्षण हुन् । तर, ती सम्पदाको उचित संरक्षण हुन नसकेको स्थानीय बताउँछन् ।
भिरालो जमिनमा परम्परागत रूपमा बनेका घरले अझै पनि रिसिङ्गको मौलिकतालाई जोगाइराखेका छन् । पुर्खौंदेखि कृषि तथा पशुपालनमा निर्भर यहाँका स्थानीयको जीवनशैलीमा भने तात्विक भिन्नता पाइँदंन । अहिले रिसिङ्गमा सडक, शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता विकासका पूर्वाधारहरू पुगे पनि बसाइँसराइ रोकिएको छैन । त्यहाँका स्थानीय सुविधाको खोजी गर्दै भीमाद, शुक्लागण्डकी, कास्की र चितवनसम्म झर्ने गरेका छन् ।
रिसिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले रिसिङ्गको विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाएर अघि बढेको बताउँछन् । ‘यहाँको ऐतिहासिक, सामाजिक, धार्मिक तथा सांस्कृतिकलगायत हरेक पक्षलाई समेटेर रिसिङ्गको विकासमा केन्द्रित छौँ,’ उनले भने– ‘रिसिङ्गबाट भागुँ–भागँुको मन र अवस्थालाई परिर्वतन गरेर बसँु–बसुँ बनाउने अभिप्रायले अगाडि बढेका छौँ ।’
उनले पूर्वाधार विकासदेखि युवापुस्ताका लागि रोजगारीको अवसर सिर्जना गर्ने, रिसिङ्गको गहना र पहिचानका रूपमा रहेका सम्पदाहरूको मौलिकता नमेटिने गरी रिसिङ्गको ऐतिहासिक परिवर्तन गर्ने काम गरेको बताए । रिसिङ्गको गौरव कौराहको संरक्षणका लागि डकुमेन्ट्री निर्माण गर्ने सवालमा गाउँपालिकाले आर्थिक सहायतदेखि अन्य महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले रिसिङ्गबासी भाषा, कला र संस्कृतिमा धनी भएको र यहाँका गुरुङका घाटु, नेवारका लाखेलगायत पुराना संस्कृतिहरूलाई पनि संरक्षण एवं उजागर गर्न बजेटको व्यवस्था गरेको बताए ।
गाउँपालिकाले पुरानो संस्कृति लोप हुन नदिनका लागि युवापुस्तालाई कला हस्तान्तरण गर्न आवश्यक छ । त्यहाँका मौलिक संस्कृतितर्फ युवाहरूलाई आकषर््िात गराउन बजेटसहितका कार्यक्रम तयार पारेको गाउँपालिकाले जनाएको छ । रिसिङ्गको गर्विलो सांस्कृतिक इतिहासलाई जीवन्त राख्न गाउँपालिकाले गत वर्षदेखि होमस्टे सञ्चालन गरेको छ । पहिलो चरणमा गाउँपालिकाको वडा नं १ सेताङ्ग भन्ने स्थानमा २० घरबाट होमस्टे सुरु गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।





