बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

साइकलमा डोल्पा चिनाउने हुटहुटी

साइकलमा डोल्पा चिनाउने हुटहुटी


  • दिवस गुरुङ
  • असोज ५ २०७७, सोमबार

कोरोनाले देश आक्रान्त भएको समय । त्रासै त्रास अनि भयवित परिस्थितिले ग्रसित थियो देशभरको माहोल । थलथलिएर सारा देश ठप्प थियो । मानौं कसैले समयको लगामलाई रोकिदिए झैं । घर नै सिंगो संसार बन्यो सबैलाई । घुमफिर त परको कुरा, हिँडडुलसमेत साघुँरियो सबको । कैयौंका बुनेका कैयौं सपनाहरु अनि योजनाहरुमा बे्रक लाग्यो । तर यहीँ समयलाई अवसरमा बदलेर आफ्नै जिल्लाका कुनाकन्दरा चहा¥दै छन् उनी । अझ भनौं, घुम्ने मनको भोक, प्यास अनि तिर्सना मेट्दै छन् उनी । त्यो पनि साइकलमा । हिड्नसमेत कठिनाइँ हुने ठाउँमा उनले साइकल पु¥याए । कतै साइकलले उनलाई बोके त कतै उनले साइकललाई । तर उनले हार मानेनन् । पुगेरै छाडें । घुमेरै छाडे । मनको प्यास मेटाएरै छाडे । नेपालको विकट मानिने डोल्पा जिल्लालाई साइकलिङमार्फत चिनाउने योजनासहित साइकलमा डोल्पा चहार्ने उनै हुन्, २३ वर्षीय भाष्कर बस्नेत ।

नेपालकै सबैभन्दा ठूलो जिल्ला डोल्पा । त्यहीं जिल्लाको जगदुल्ला गाउँपालिकास्थित झ्याकोट गाउँँमा जन्मेका थिए उनी । तर पढाइकै लागि उनी सानैमा गाउँबाट टाढिएका थिए । पढाइकै सिलसिलामा उनी पुगे साइजल गाउँ । फोक्सुन्डो तालको नजिक । घरबाट हिंडेर चार दिन लाग्थ्यो स्कुल पुग्न । उतै एसएलसी उत्तीर्ण गरेका थिए उनले । विद्यालयको नाम ताब्रिजा माध्यमिक विद्यालय । कारण थियो त्यति टाढा पढ्न जानुको पछि । स्वीजरल्यान्डका डोनरहरुले सञ्चालनमा ल्याएको विद्यालय थियो त्यो । तिब्बती भाषाको राम्रो पढाइ हुने ठाउँ । यसैका लागि उनी त्यहाँसम्म पुगेका थिए । वर्षमा दुईपल्ट मात्र घर फर्कन्थे उनी । फर्कदा नेपाली सबै बिर्सेको हुन्थ्यो । तर बोनसमा त्यहाँ उनले अंग्रेजी पनि राम्रो सिके । त्यसैको फाइदा उनलाई अहिले विदेशी घुमाउँदा भएको छ । कहिले साइकलमा त कहिले पदयात्रामा नै । टे«किङ सँगसँगै साइकलिङ गाइड भएर निरन्तर लागिरहने उनको सपना ।

सानैदेखि आफ्नो गाउँठाउँ मात्र चहार्दैनथे उनी, चार दिन लगाएर पढ्ने ठाउँसम्म आउँदा जाँदा बाटैमा धेरै सिक्थे, धेरै बुझ्थे । उनी त्यो समय यसरी सम्झन्छन्, ‘म सानै थिए । चार दिनको हिँडाइ हुन्थ्यो । किताबहरु, लुगाफाटा अनि अन्य सरसामान बोकेरै आउजाउ गर्न गाहे हुन्थ्यो । छिमेकीको घोडा भाडामा माग्थ्यौं । सबै सामान त्यसैलाई बोकाएर बुबासँगै चार दिन हिँडेर विद्यालय पुग्थे । रात कहिले पाटीपौवा त कहिले ओडारमा बिताउँथ्यौं ।’ नयाँनयाँ ठाउँ, विषयवस्तु भेटिए जिज्ञासा लिएर उनी बुबासँग सोध्थे । सानैदेखि अन्जानमै उनमा घुम्ने भोक जागिसकेको थियो । जुन विस्तारै समयसँगै गति लियो ।

पढ्ने विद्यालयबाट कस्सिएर हिँडे डेढ दुई घण्टामा फोक्सुन्डो ताल पुगिन्थ्यो । होस्टलबाट समय समयमा उनी त्यहाँ साथीभाइसँग पुगिरहन्थे । फोक्सुन्डो किनारमा साथीभाईसँग खेलेको सम्झना अझै ताजै छन् उनमा । नेपालकै गहिरो ताल फोक्सुन्डोको त्यतिबेला महत्व थाहा नभएको बताउँदै उनले भने, ‘बाल्यकाल मेरो फोक्सुन्डो किनारैमा बितेको थियो । कतिपटक पुगियो, कुनै लेखाजोखा नै छैन । पानी पधेँरोजस्तो । निराकार ताल अनि आँखै अगाडि काञ्जिरोवा हिमालको काखमा कैयौं तितामिठा बाल्यकालका यादगार क्षणहरु बिताएका थिए । त्यतिबेला सानै भएकाले त्यति महत्व थाहा भएन तालको तर अहिले आएर धेरै बुझें, धेरै सिकें । यो त डोल्पाको मात्र नभई नेपालकै हिरा रहेछ । त्यही चम्किलो हिराको काखमा बाल्यकाल बिताउँने सौभाग्य पाउनुमा गर्व छ मलाई । अब यस ताल र सिंगो डोल्पालाई साइकलमार्फत चिनाउने संकल्प गरेको छु मैले ।’

एस.एल.सी. भ्याइयो । उच्च शिक्षाका लागि उनी राजधानी हानिए । अनि सुरु गरे, सिटिइभिटिइमार्फत परीक्षा पास गरी बालाजु इन्जिनियरिङमा ओवरसियर पढाइ । उनको डेरा अनि कलेजको दुरी अलि टाढै थियो । काठमाडौंमा सार्वजनिक बसमा यात्रा गर्दाको सकस उनले बुझिसकेका थिए । बाइक किन्ने हैसियत थिएन परिवारको । र, जोडियो साइकलसँगको सानिध्यता । अनि खने साइकलको बाटो ।

अलिअलि सानैदेखि जम्मा गरेको पैसा अनि साथीभाइसँग सापटी मागी बीस हजारमा जिटिए ब्रान्डको साइकल किने उनले । कलेज आउँजाउँ यसैमा गर्थे उनी । दैनिकी चलिरहेकै थियो । विस्तारै फेसबुकमा उनको विभिन्न साइकल चलाउनेहरुसँग हिमचिम बढ्यो । साइकलमै डाँडाकाडा उक्लने र लामो यात्रा तय गर्ने सुन्दा उनलाई पनि हुटहुटी बढ्यो । यसैका जोडिने उनको रहर पलायो तर उनको साइकलमा त्यो सम्भव थिएन । अरुको साइकलको मुल्य सुन्दा पनि जिब्रो टोक्थे म, उनी भन्छन्, ‘साइकलकै दाम दुई लाख, चार लाख । त्यतिमा त हाम्रोमा मज्जाको २÷३ वटा घोडाहरु पालेर राम्रैसँग एउटा परिवारको जीविका चल्थ्यो । यहाँ सोखका लागि मान्छेहरु त्यतिका पैसा सजिलै साइकलमा हाल्दा रहेछन् । यही भिन्नता मैले यहाँ आएर बुझें ।’

देखावटी रुपमा सोखका लागि नभई नेपालका कुनाकन्दरा साइकलैमा डुल्ने उनको सपना । अझ भनौं आफ्नै गृह जिल्ला डोल्पा साइकलमै छिचोल्ने रहर । मसिनो रुपमा साइकलमै डोल्पा बुझ्ने हुटहुटी । यसका लागि उनको पहिलेको साइलकले सम्भव थिएन । घरकाले लाखमा साइकल किनिदिने कुरै थिएन । अझ भनौं हैसियत पनि थिएन । तर उनी कुनै हालतमा सपनालाई तुयाउने पक्षमा थिएन । कुनै हालतमा छाम्नु थियो डोल्पाको कुनाकाप्चा साइकलमा । पढ्नु थियो डोल्पा । अघाउन्जेल साइकलमै घुम्नु थियो ।

जहाँ रहर, त्यहाँ उपाय भने झैं भो उनलाई । प्यांक बाइक सप । नेपालकै सबैभन्दा जेठो साइकल पसल । त्यसैका प्रोपाइटरसँग उनको चिनजान भयो । विभिन्न ठाउँहरु साइकलमै घुम्ने साइकलेहरलाई साइकल स्पोन्सर गथ्र्यो यस पसलले । बदलामा पसलको प्रचारप्रसार गरिदिनु पर्ने । उनलाई यहीँबाट केही सहुलियतमा साइकल मिल्यो । ढुंगा खोज्दा देउता मिले सरह नै भो । त्यसैमा धेरै ठाउँ टेके उनले । उनी काठमाडौंमा विभिन्न साइकलिङ प्रतियोगितामा समेत भाग लिन पुगिहाल्थे । उपत्यका वरपरका डाँडाकाँडा साइकलमै भ्याए । कुनाकन्दरा सुम्सुमाएनन् मात्र, धेरै बुझे । सक्दो अरुलाई समेत बुझाए ।

विस्तारै उनलाई आफ्नै डोल्पाको यादले सतायो । आफू जन्मे हुर्केको ठाउँ जति सुन्दर थियो त्यति गुमगाम । डोल्पा आफैंमा प्रकृतिको अनुपम भण्डार हो, यसमा कुनै दुई मत थिएन । बस्, यसलाई बाहिर प्रचारमा ल्याउनु मात्र थियो । चिनाउनु थियो, देखाउनु थियो सबैमाझ । अनि उनले डोल्पा चिनाउने माध्यम रोजे, त्यो पनि साइकलमा । भौगोलिक विकटता अनि सडकसमेत राम्रोसँग विस्तार नभएको कुनाकन्दरा साइकलमा डुल्नु चानचुने कुरा पक्कै थिएन । तर उनले हिम्मत हारेनन् । पाइला सार्नु मात्र आधा यात्रा सफल हुनु हो, उनलाई लाग्यो । अनि उनले सुरु गरे, डोल्पा एक्सपिडिसन थ्रु साइकल ।

डोल्पा, पदयात्राका लागि एक अनुपम गन्तव्य । भौगोलिक विविधतासँगै त्यहाँको रैथाने संस्कृति, रहनसहन, स्थानीय परिकारहरु अनि बोन धर्म लगायत तिब्बती संस्कृति बुझ्नका लागि एक आँखीझ्याल । साइकलमै डोल्पा पुग्ने कमै छन्, अझ फोक्सुन्डो ताल किनारमा थकान मार्दाको सुखानुभूति कमैलाई सौभाग्य मिलेको छ । साइकल रुटको अध्ययनका लागि दुई वर्षअघि उनी डोल्पाका विभिन्न ठाउँहरु पैदलयात्रा गरे । एडभेन्चर मानिने माउन्टेन बाइकिङको लागि डोल्पा त स्वर्ग हो, उनी थप्छन्, ‘जति चुनौती साइकल पर्यटनमा देखें, त्यति नै अवसर यहाँ । अप्पर डोल्पा र लोवर डोल्पा साइकलमा छिचोल्न सकिन्छ तर धेरै ठाउँमा साइकल डो¥याउनु, ठेल्नु र धकेल्नु समेत पर्छ । यसको मज्जा पनि त बेग्लै हुन्छ नि, हैन र ? मनाङ अनि मुस्ताङ साइकलको लागि जुन हब बनेको छ, अर्को डेस्टिनेशन डोल्पा बनाउन सकिन्छ तर यसको लागि सबैको साथ, सहयोग अनि एकता जरुरत रहन्छ ।’
दोस्रो पटक त उनी साइकलमै ट्रेल अध्ययनका लागि डोल्पा हानिए । साथमा थिए अर्का साइकलिस्ट, ओम अधिकारी । यात्राको सुरुवात भने पूर्वी रुकुमबाट । रुकुममा आयोजना हुने गुरिल्ला अल्ट्रा म्यारथुममा सहभागी हुने उनको योजना सफल हुन सकेन, स्वास्थ्यको कारणले । अर्का सहयात्रीले भने भाग लिए । केही दिनमा रुकुम र डोल्माको सिमानामा अवस्थित ज्वारी भञ्ज्याङ कटेर डोल्पा पुगेका थिए उनीहरु । बाटोमा यार्सापाटनमा यार्सा बटुल्नेहरु हुन्थे । खच्चर अनि घोडामा सामान ओसार्नेको लर्को भेटिन्थ्यो बाटामा । स–साना बच्चाहरु निस्फिक्री खेलिरहेका देख्दा उनी आफ्नो बाल्यपन सम्झन पुग्थे । फोक्सुन्डो किनारमा केही दिनमा साइकलमै पुगे । जसरी तालको सुन्दरताको वर्णन गर्न सकिँदैन, त्यस्तै फोक्सुन्डो पुुग्दाको आत्मसन्तुष्टि अनि खुसीका भावहरु व्यक्त गर्नका लागि शब्द थिएन उनीसँग । डोल्पाको कुनाकन्दरा साइकलमै फन्को मारे । धेरै बुझे । केही सिके । मनमा केही आँट थपियो अनि लाग्यो अब टोली नै लिएर डोल्पा फेरि पुग्नेछु ।

आँटिला स्वभावका बस्नेत । १७ जनाको टोली काठमाडौंबाट जाजरकोट हिड्यो बसमा । साइकल भने छतमा । त्यसपछिको यात्रा भने साइकलमा । भिन्न थियो उनीहरुको लक्ष्य । अन्तर्राष्ट्रिय ओस्कर अवार्डमा मनोनयमा पर्न सफल क्याराभान चलचित्रमा अभिनय गरेका थिए डोल्पाका थिन्ले लेण्डुप लामाले । यस चलचित्रले डोल्पालाई विश्वरभर चिनायो । स्व. उनै थिन्लेको सम्झनामा ‘सुलिगड – फोक्सुन्डो पदमार्गलाई क्याराभान – थिन्ले पदमार्ग’ नामकरण गरिनुपर्छ भन्ने अभियानसहितको ¥याली । टोलीको नाइके थिए उनै भाष्कर । यात्रा थियो करिब दुई हप्ताको । हरेकबाट बीस बीस हजार उठाएँ । सबैलाई फोक्सुन्डो ताल घुमाउने मात्र हैन, डोल्पाबाटै जुम्ला पु¥याउने उनको योजना । साइकल यात्राको जिम्मा उनको काँधमा । कति ठाउँमा आफ्नै खल्तीबाट पैसा थपें । उनको रैथाने ठाउँ । कति ठाउँमा सित्तैमा वा सहुलियतमा खाना बस्ने व्यवस्था मात्र मिलाएनन् उनले, ठाउँठाउँमा बाजागाजासहितको भव्य स्वागतको समेत व्यवस्था गराएका थिए ।

सत्र वटा साइकल बोकेरै पहिलोपल्ट आफ्नो गाउँ पु¥याए । खुसीले सिंगो गाउँको छाती ढक्क फुलेको थियो । खुसीले सिंगो गाउँ उनीहरुको स्वागतमा उर्लिएको थियो । उनको गाउँमा धान नफल्ने, चामल कम पाइने । अर्को गाउँबाट चामल ल्याएर भएपनि उनले साइकलेहरुको स्वागतमा चुकेनन् । घरमै खसी ढाले । सिंगो गाउँमा रौनकता छाएको थियो । उनी खुसीले गदगद भए । भित्रैदेखि रमाएँ । अनि हौसिए । लाग्यो, अब पर्यटकहरुलाई आफ्नै गाउँठाउँ घुमाउछु । गाउँ चिनाउँछु । गाउँलेको जीवन स्थरमा पनि सुधार आउनेमा उनी आशावादी छन् ।

यसपालि १०८ जना साइकलेको टोली डोल्पाहुँदै जुम्ला अनि रारा पु¥याउने उनको सपना कोरोना कहरले पुरा हुन सकेन । उनले हार भने मानेका छैनन् । अझ परिस्कृत यात्राको योजना बुन्दैछन् उनै । यता यही कोरोना कहरको छेको पारि डोल्पा कै नयाँनयाँ गन्तव्यहरु साइकलमै पुगें । दुधकुण्डली ताल । हाल तीर्थस्थलका रुपमा मात्र चिनिने तालमा उनी साइकल बोकेरै पुगे । साइकल यात्राको सहजताबारे अध्ययन गरे । वरपर रहेका कैयौ अग्ला झरनाहरुले उनलाई लोभ्याउँथ्यो । साइकल टे«लमा त्यस्ता ठाउँलाई पनि जोड्ने जमर्को गरेको छु, उनी आशावादी हुँदै भने, ‘एकै ठाउँमा राक्षस दह, अगुल्टे दह लगायत आधा दर्जन तालहरु रहेका ठाउँहरु अझै प्रचारप्रसारको कमीले ओझेलमै छन् । मेरो यस यात्रामा पक्कै स्थानीय सरकार वा सम्बन्धित निकायहरुको साथ र सहयोगको अपेक्षारत छुँ ।’

विकट मानिने जिल्ला डोल्पाका अनेकौ पर्यटकीय आशा अनि अभिलाषाको भारी काँधमा बोकेका युवा हुन् बस्नेत । केबल डोल्पा नेपालमा मात्र हैन, विश्वभर चिनाउने उनको सपना । त्यो पनि साइकलमार्फत । थप उर्जा अनि उत्साहसहितका आगामी योजनाहरु उनै बुन्दै छन् । यसका सरोकारवालाहरुको साथ, सहयोग अनि हौसला थपिए, सुनमा सुगन्ध हुन्छ पक्कै । कुनै दिन थिन्लेले चिनाएको डोल्पा अब भाष्करले भविष्यमा अझ शिर उँचो बनाउनेमा कुनै दुई मत छैन । यस लामो सफरका लागि अनगिन्ती शुभकामना भाष्करलाई !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->