शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेलाडीलाई पदक खै ?

खेलाडीलाई पदक खै ?

०७६ साल मंसिरमा सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाललाई ऐतिहासिक सफलता दिलाउने खेलाडी तथा प्रशिक्षक भने विभूषण पाउने सोचमा समेत परेनन् ।


  • विजय नेपाली
  • असोज ६ २०७७, मंगलबार

पोखरा, ६ असोज– संविधान दिवसका अवसर पारेर राज्यले यस पटक ५ सय ९४ जनालाई विभूषण दियो । संविधान दिवसको अवसर पारी हरेक वर्ष मानपदवी, अलंकार र पदक गरि २ सय जनालाई मात्रै विभूषण प्रदान गर्न पाइने व्यवस्था भएपनि यसपटक संख्या भने बढाइएको छ । मन्त्रिपरिषद्ले भदौ अन्तिम साता तक्माको संख्या निर्धारण सरकारको तजबिजीमा हुने गरी भन्दै पुरानो मापदण्ड परिवर्तन गरेको थियो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षताा रहेको सो समितिले तक्मा पाउनेको सूचीलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पेस गरेका थिए । मन्त्रिपरिषदबाट अनुमोदन गरी बिहीबार तक्मा पाउनेको सूचि राष्ट्रपति कार्यालयमा पठाइएको थियो । यसपटक ५ सय ९४ जनालाई विभूषण दिने घोषणा गरिएको छ । तर, ०७६ साल मंसिरमा सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाललाई ऐतिहासिक सफलता दिलाउने खेलाडी तथा प्रशिक्षक भने विभूषण पाउने सोचमा समेत परेनन् ।
राष्ट्रिय खेलकुद परिषद्का (राखेप) सदस्य सचिव रमेशकुमार शिलवाल विभूषित हुने भएका छन । राजनितिक नियुक्तिमार्फत् खेलकुदमा पुगेकालाई मानपदवी दिइरहँदा देशको लागि पदक दिलाएर इतिहास रच्ने खेलाडी भने पाखामा फालिएका छन् ।
मन्त्रीपरिषदले तक्माको संख्याको मापदण्ड परिवर्तन गरिरहँदासमेत खेलकुदमन्त्री जगत विश्वकर्माको ध्यान त्यतातर्फ नपुगेको देखियो । मन्त्री त्यहीँ चुके । तक्मा दिने सिफारिस गराउँदा मन्त्री विश्वकर्माले सागका पदक विजेता, प्रशिक्षक वा व्यवस्थापनमा योगदान गरेका कसैलाई समेट्न पहल गरेनन् । १३ औं साग मा ऐतिहासिक सफलता दिलाउने २ सय ७ खेलाडी तथा सोही खेलका प्रशिक्षक मध्ये कोही पनि मन्त्रीको आखामा पर्न सकेनन् । नेपालले अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक उच्च पदक हात पारेको हो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक हात पारेको थियो ।
मन्त्रालयको सिफारिसमा १३ औं सागसँग सम्बन्धित २ व्यक्तिले मात्र संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपतिले घोषणा गरेको मानपदवी, अंलकार र पदक प्राप्त गर्नेको सूचिमा रहेका छन् । साग आयोजक समितिका कार्यकारी समितिका संयोजकसमेत रहेका राखेप सदस्य सचिव रमेशकुमार सिलवाल (सुप्रवल जनसेवा श्री तृतीय) र समारोह समितिका सचिव कुलबहादुर थापा (प्रवल जनसेवा श्री चतुर्थ) मानपदवीका लागि सिफारिसमा परेका छन् ।
सागबाहेक खेलकुदबाट ओलम्पिक संगिना बैद्य (प्रज्वल सेवा श्री चतुर्थ) विभूषण प्राप्त गर्ने सूचिमा परेकी छिन् । सागमै स्वर्ण पदक जित्ने १५ खेलाडीले भने युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा नभई सम्बन्धित विभाग (सेना, प्रहरी र सशस्त्र) को सिफारिसमा विभूषण प्राप्त गर्न लागेका हुन् । जसमा पुलिसका ७, सेनाका ६ र सशस्त्रका २ खेलाडी छन् । मन्त्रालयको आशा गरेको भए यी अन्य स्वर्ण पदक विजेतासँगै यी १५ खेलाडी पनि विभूषणबाट बन्चित हुने देखिएको छ ।
स्वर्ण पदक दिलाउने ७६ खेलाडीलाई फारम भर्न लगाइएको थियो । फारम मन्त्रालयसम्म पुगेको थियो । यस्तै एशियन फुटबल संघका पुर्वउपाध्यक्ष गणेश थापाले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन ‘यो सम्पूर्ण खेल जगतकै अपमान हो ।’ पदक विजेता खेलाडीहरुले राष्ट्रपतिबाट संविधान दिवसको उपलक्ष्यमा प्रदान गरिएको पदक प्राप्त नगर्नु आश्चर्यजनक रहेको बताएका छन् । यसको नैतिक जिम्मेवारी खेलकुदमन्त्रीले लिनुपर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->