पोखरा, ११ असोज– नेपाल भारत्तोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले विगतमा भारत्तोलन खेलले धेरै पदक जितेपनि ब्यवस्थापनको कमजोरीका कारण सफलता अनुसार चर्चा पाउन नसकेकेको बताएका छन् । कास्की जिल्ला भारत्तोलन संघले शनिबार पोखरामा आयोजना गरेको नवनिर्वाचित केन्द्रीय अध्यक्ष, उपाध्यक्ष र केन्द्रीय सदस्यलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा बोल्दै उनले खेलको विकास र खेलाडी उत्पादनमा विगतमा नेतृत्व तहमा रहेकाहरुले चासो नदिदाँ चार दशकको इतिहास बोकेर पनि भारत्तोलन खेल ओझेलमा परेको बताए । आफनो चार वर्षे कार्यकालमा भारत्तोलन संघलाई २१ जिल्लाबाट अझै विस्तार गर्ने योजना र लक्ष्य सहित सबै जिल्लामा खेलको सम्भावनाको खोजी गर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, उपाध्यक्ष राजनकुमार बड्गामी र केन्द्रीय सदस्य रत्नमान मालीलाई कास्की जिल्ला भारत्तोलन संघका पदाधिकारीले खादा लगाएर बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । संघको गत माघमा सम्पन्न अधिवेशनमा श्रेष्ठले विजेन्द्रविक्रम शाहलाई दुई मतले पराजित गदै अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले २० र शाहले २८ मत प्राप्त गरेका थिए ।कास्की जिल्ला भारत्तोलन संघका अध्यक्ष राजनकुमार बड्गामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष उमेश सिकेले गरेका थिए ।





