नवलपुर, ६ कात्तिक – जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । प्रजिअ पंगेनी सहित ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए ।
कार्तिक ३ गते प्राकृतिक चिकित्सालय रजहरमा स्वाव संकलन गरी परीक्षणका लागी पोखरा पठाईएको प्रयोगशालाबाट प्राप्त रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको हो ।
पछिल्लो पटक कार्तिक १ गते नवलपुर जिल्ला अस्पताललाई पिसीआर मेसिन हस्तान्तरण समारोहमा औपचारीक कार्यक्रममा सहभागी प्रजिअ पंगेनीलाई सामान्य ज्वरो र खुट्टाका मांशपेसी दुखेजस्तो लक्षण देखिएपछि स्वाव परीक्षण गराएको प्रमुख जिल्ला अधिकारी पंगेनीले वताईन । प्रजिअ पंगेनी सहित उनका छोरा, छोरी र भान्से सहित ४ जना तथा प्राकृतिक चिकित्सालयका ब्यवस्थापक र लेखापालमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।





