बेनी, १९ कात्तिक– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङ गाउँमा एउटा जिर्ण घरभित्रको भ¥याङ नजिकै एउटी महिला पल्टिएकी छन् । एउटामात्र कोठामा खाट जोडेर बनाएको ओछ्यान भएपनि ३८ वर्षीया गौरी बिक सधँै चिसो भुईँमा सुत्छिन् । मानसिक सन्तुलन गुमाएकी गौरी को १२ वर्षदेखि आमा जुनमती विकले दिसा पिसाब गराउँदै आएकी छन् । कलिलै उमेरमा विवाह गरेकी गौरीको एउटा छोरा छन् । श्रीमान भने अर्को टिपेर हिँडे । मानशिक रोगी छोरी पाल्ने जिम्मा आमाको काँधमा आयो । उपचार खर्च नभएपछि घरमा थुन्नको विकल्प नभएको आमाको भनाई छ ।
‘ओछ्यानमै रहेकी छोरीको उपचार गर्ने बाटो पाएको छैन्’, आमा जुनमतीले भनिन् ‘उपचारमा धेरै खर्च लाग्छ भन्छन्, पैसा नै छैन ।’ गन्हाउने ओढ्ने ओछ्याउने फेर्न सक्ने पैसा समेत नभएको अवस्थामा छोरीको उपचार गर्न सक्ने अवस्था नभएपछि घरमै राखेको गौरीको भनाई छ । गाउँले उपचार, धामी झाँक्री, जडिबुटीले काम नगरेको पनि उनले सुनाइन् । ‘अपाङ्क भत्ता पाएपछि केही सहज भएको छ’, उनले भनिन्, ‘एकपटक राम्रो अस्पतालमा देखाउनपाए हुन्थ्यो ।’ उपचारको लागि विक परिवारले सहयोगको याचना समेत गरेका छन् । ‘आम्दानीको स्रोत केही छैन’, पिता काले बिकले भने, ‘एकपटक छोरीलाई अस्पतालम लगेर उपचार गर्ने धोको छ ।’ वडाध्यक्ष खड्क कुमारी छन्त्यालले मानसिक सन्तुलन गुमेकी विकलाई अपाङ्ता भत्ताको ब्यवस्था गरिएको बताइन् । ‘उपचारमा आवश्यक सिफारिससहित सहयोग जुटाउन सघाउँछु’,उनले भनिन् ।





