मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

शंकरपोखरीमा खानेपानीको चरम समस्या

शंकरपोखरीमा खानेपानीको चरम समस्या

‘एक घर एक धारा बनाउने हुन अरे भन्ने पनि सुनेको हो । खै अहिलेसम्म केही अत्तोपत्तो छैन् ।’


  • संजय रेग्मी
  • मंसिर ४ २०७७, बिहिबार
agandhar parbat

पर्वत, ४ मंसिर– पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी जमुना तिवारी हिउँद लागेपछि बिहान चार बजे नै उठेर करीब एक घण्टा टाढा रहेको राहालेपानी वा आधा घण्टा टाढा रहेको धारापानीमा पानी लिन जान्छिन् । ढिला हुँदाको दिनमा एक गाग्री पानी बोकेर घरमा आईपुग्दा १० बज्छ । उनले यो नियति भोगिरहेको वर्षौ भयो ।
‘म बिहे गरेर आउँदा नि समस्या यही थियो, अहिले बूढीहुँदा पनि उस्तै छ । जहिलेसुकै काकाकूल भएर बस्नुपर्ने यो ठाउँमा’, उनले भनिन, ‘बर्खा याममा आकाशे घैँटामा बलेसीको पानी जम्मा गरेर पिउने पानी बनाईन्छ, हिउँदमा पानी खेज्दै बिहान बित्छ ।’
चुनावको बेलामा पानीको आश्वासन दिनेहरु चुनावपछि भने फर्केर नआउने गरेको गुनासो गर्दै तिवारीले शंकरपोखरीमा खानेपानीको आपूर्ति गराईदिने नेता पाएमा जयजयकार गर्दै सबैले सम्मान गर्ने धोको रहेको बताईन् । ‘धेरै जना भएको घरमा त बिहानै बिते पनि केही भएन । घरमा एकसरो महिलामात्र हुँदा त पानी लिन जानु की खाना पकाउनु ? पानी लिएर आउँदा मेला जाने बेला भइसक्छ । भोकै हिँड्नुपर्छ ।’ उनले थपिन्, ‘सबैभन्दा बढी समस्या महिलालाई भएको छ ।’
शंकरपोखरीकै चन्द्रबहादुर थापाले पैदल यात्रा गरेर करीब तीन घण्टामा पुग्न सकिने डहरेको लेकमा रहेको स्रोतबाट शंकरपोखरीमा पानी ल्याइएको भएपनि लामो दूरी हुँदा ठाउँ ठाउँमा पाईप भाँचिने गरेका कारण पानीको आपूर्तिको भर नभएको बताए । ‘हामीले आकाशे घैँटोमा जम्मा भएको पानी खान्छौँ । नुवाईधुवाई गर्न र पशुलाई पनि त्यहीं पानी हो । बरु सुन हराउँदा पछुतो लाग्दैन होला, एक गिलास पानी पोखिए त्यती पछुतो लाग्छ ।’ उनले भने, ‘एक घर एक धारा बनाउने हुन अरे भन्ने पनि सुनेको हो । खै अहिलेसम्म केही अत्तोपत्तो छैन् ।’
सोही ठाउँकी ७० वर्षीया तुलसी तिवारीलाई हिउँदै भएपनि आकाशे वर्षा भइदिए हुँदो हो भन्ने लाग्छ । बूढेसकालको शरीरले डेढ घण्टा टाढाबाट पानी ओसार्नु पर्दा उनको श्वास फुल्छ, हातख्ट्टा गल्छन् । तर प्राण धान्नको लागि पानीको खोजेरै जीवन सकिन लागेको उनको भनाई छ । ‘बुहारी, नातीनातिना घरमा हुँदा त पानी ल्याउँछन् । म एक्लै हुँदा कसरी पानी ल्याएर प्यास मेटुँ ?’ तुलसी भन्छिन् ।
जमुना, चन्द्रबहादुर र तुलसीले भोगिरहेको समस्या शंकरपोखरीका करीब छ सयभन्दा बढी परिवारले भोगीरहेका छन् । दिनको एक समयमा डहरेको लेकको पानीको मुहानबाट पानी आउने गरेको भए पनि सडकको विस्तारसँगै बिछ्याइएका पाइपलाईन टुटफुट भएका छन् । देखिएका ठाउँमा मर्मत गर्ने गरिए पनि निकै लामो दूरी भएका कारण हरेक दिनहुँजसो पाईपमा समस्या आउँदा पानी नियमित आउँदैन् ।
खानेपानी पानीको अभाव रहेको शंकरपोखरीका कृषकले हिउँदे बाली लगाएर त्यसमा सिचाईँ गर्नु परको कुरा हो । सिचाईँको लागि तत्कालै कुनै योजना नभएको भएपनि खानेपानीको सहज आपूर्तिका लागि करीब ६० करोडको लगानीमा लिफ्ट सिस्टममार्फत लमाए खोलाको पानी तानेर वितरण गर्ने योजना रहेको वडाध्यक्ष अर्जुनबहादुर कार्कीले बताए ।
उनका अनुसार, कोरोनाका कारण काम प्रभावित हुँदा हालसम्म ट्याङ्की निर्माणका कामहरु पूरा हुन लागेका छन् । ‘अब शंकरपोखरीबासीले सधैँको जस्तो पानी पिउन पनि नपाउने अवस्था रहँदैन् । लिफ्ट सिस्टमको खानेपानी आयोजनाको काम चलिरहेको छ ।’ उनले भने, ‘यो आयोजनाबाट पानीको चरम संकटमा परेका करीब छ सयभन्दा बढी परिवारलाई पानीको आपूर्ति हुनेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->