नवलपुर, ९ मंसिर– नवलपुरमा कुपोषणको अवस्था जटिल बन्दै गएको छ । व्यस्त जीवनशैली र सन्तुलित आहाराको ब्यवस्थापन गर्न नजान्दा कुपोषणबाट प्रभावित हुने बालबालिकाको अवस्था जटिल बन्दै गएको एक कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाले प्रस्तुत गरेको तथ्याङ्कमा नवलपुरमा कुपोषणको ख्याउटेपन १४.९ प्रतिशत, पुड्कोपन २५.७ प्रतिशत र कम तौल हुने २८.८ प्रतिशत रहेको छ ।
नागिलाले कुपोषणबाट बच्चालाई जोगाउन प्रमुखतामा जन्मेदेखी ६ महिनासम्म बच्चालाई आमाको स्तनपान निरन्तर गराउनुपर्ने बताएका छन् । त्यस्तै, ६ महिनापछि आमाको दूधसँगै शक्ति, वृद्धि र रक्षावद्र्धक पोषिलो खाना खुवाउनुपर्ने बताए । सन्तुलित आहाराका साथै नियमित रुपमा बच्चाको वृद्धि विकासको मापन र बच्चामा लिनुुपर्ने सबै खोप तथा भिटामिन पाएमा कुपोषणबाट पर्ने प्रभावमा कमी आउने उनको भनाई छ ।
एक्सन एगेण्ट्स हंगरका डा. सञ्जिव सापकोटाले स्मार्ट सर्भेक्षणबाट तयार पारिएको तथ्याङ्क अनुसार, गण्डकी प्रदेशका ११ जिल्लामै नवलपुर ख्याउटेपनको कुपोषणबाट सबैभन्दा बढी प्रभावित भएको र पुड्को र कम तौलको कुपोषण केही कम रहेको पाईएको बताए ।
स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा एक्सन एगेण्ट्स हंगरको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित शिघ्र कुपोषणको एकिकृत व्यवस्थापनअन्तर्गतको पुर्नताजगी तालिममा २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।





