मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

खानीको गाउँ ‘नर्जाखानी’, तामा निकाल्न स्थानीयको माग

खानीको गाउँ ‘नर्जाखानी’, तामा निकाल्न स्थानीयको माग


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०७७, मंगलबार

बागलुङ, १६ मंसिर– बाउबाजेका पालामा तामा निकालेका सुरुङहरु पाखाभरी देख्दा तमानखोला गाउँपालिका–६ नर्जाखानीका स्थानीय ओम प्रसाद छन्त्याललाई लाग्छ ‘अहिलेको भन्दा पहिले यहाँको जनजिविका सम्पन्न थियो ।’
स्थानीय औजारको प्रयोग गरेर ठुला पहाड काटेर तामा निकालेको भन्ने सुन्दा अचम्म लाग्छ रे उनलाई । अहिले गाउँमा स्थानीय रुपमै निकालिएको बिजुली छ । ठुला मेसिन प्रयोग गर्न सकिन्छ । तर घर छेवैमा रहेको वैभव खेर गईरहेको देखेर उनी आँफैलाई धिक्कार्छन् ।
वरिपरी डाँडाहरुले घेरिएको नर्जा गाउँमा तामाको ठुलो खानी रहेको स्थानीयलाई थाहा छ । भन्छन्– ‘पहिले तामा निकालेका धाउहरु देख्दा लाग्छ आजैबाट खानी खन्न सुरु गरौं ।’ बाउबाजेको पालामा नर्जाखानीमा रहेका तामाखानीमा उत्खन्न हुँदाहुँदै तत्कालीन श्री ३ चन्द्र शमसेरको पालामा खानीहरु बन्द भएको स्थानीय बुढापाकाबाट ओम प्रसादले सुनेका थिए । तमानका जानकारहरु समेत सोही समयमा तामाखानी बन्द भएको सुनाउँछन् ।
छन्त्यालले गाउँ वरिपरी घेरिएका पहाडहरुमा तामाखानी र टल्कने ढुंगा रहेकोले त्यसको उत्खनन् गर्न आँफुहरुले सरकार गुहारी रहेको बताए । ‘तत्कालका डिठ्ठाबिचारी वर्षविर छन्त्यालले तत्कालिन श्री ३ चन्द्र शमशेरको पालामा तामा बुझाउन नसकेपछि बन्द गरेको बुबाले सुनाउनुभएको थियो’ छन्त्यालले भने ‘अहिलेको प्रविधिले उत्खनन् थाल्ने हो भने यहाँ अर्बौको सम्पत्ति छ, सरकारले ध्यान पु¥याएन् ।’
उनले नर्जाखोला गाउँमा वरिपरी रहेको सबै भू–भागमा खानी रहेको बताए । ‘यहाँ रहेको भू–भागमा ठूलो मात्रामा तामा छ,’ उनले भने– ‘स्थानीय, प्रदेश र संघिय सरकारले छिटोभन्दा छिटो खानी उत्खनन् गरेर आत्मनिर्भर भए धेरै राम्रो हुनेछ ।’
स्थानीय विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका छन्त्यालले त्यहाँ रहेको तामाको विषयमा नयाँ पुस्तालाई जानकारी गराउने गरेका छन् । ‘पहिले बाजेहरुले एउटा घन र छिनाको भरमा ठूला–ठूला भिर काटेर खानी उत्खनन् गर्थे । अहिले नयाँ–नयाँ प्रविधि छ सरकारले छिटो खानी उत्खनन् गरेर आत्मनिर्भर बन्दै स्थानीयलाई रोजगारी सिर्जना गरेमा राम्रो हुने थियो’ उनले भने ।
तमानखोला गाउँपालिका–६ नर्जाखानीका वडाध्यक्ष कुल बहादुर छन्त्यालले गाउँको चारैतिर तामा उत्खनन् गरेका खानीहरु रहेकोले गाउँको नाम नर्जाखानी भएको इतिहास सुनाए । तत्कालिन समयमा छन्त्यालहरुले खानीको उत्खनन् गरेको र कामी, विकहरुले तामाका ढुंगा (धाउ) पगाल्ने र थकालीहरुले तराईबाट खाना ल्याउने र धाउ तराई लगेर बेच्ने गरेको इतिहास रहेको उनले सुनाए ।
गाउँपालिका पालिका र सिंगो देशको आर्थिक विकास पुराना खानी उत्खनन् गरेर गर्न सकिन्छ भन्ने उनको मन्यता छ । छन्त्यालले संघिय सरकारले चासो दिएर खानीहरु तत्काल उत्खनन् गरेमा आफुहरुले साथ दिने बताए । ‘यहाँ पहिरो जाँदासमेत तामाको धाउहरु निक्लने गरेका छन्,’ वडाध्यक्ष छन्त्यालले भने– ‘खानी उत्खनन्को लागि स्थानीय सरकारले मात्र सक्दैन, संघिय सरकारले विशेष चासो दिएमा उत्खनन् गर्न सकिने थियो ।’
वडाध्यक्ष छन्त्यालले तामाखानी र महंगो मुल्यमा बिक्री हुने टल्कने ढुंगा रहेको क्षेत्रको क्षेत्रफलको वडाले सर्वेक्षण गरिरहेको बताए । नर्जाको खानीको विषयमा गाउँपालिकाले चासो त देखाएको छ तर काम भएको छैन । नर्जाखानीमा पूर्खाहरुले तामा निकालेको अवशेषहरु देखिएकोले त्यहाँको धाउहरु ल्याबमा लगेर परीक्षण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । उनले ल्याब परीक्षणको रिपोर्ट राम्रो आएमा प्रदेश र संघिय सरकारलाई उत्खनन् गर्नको लागि पहल गर्ने बताए ।
बागलुङ जिल्लाको सबैभन्दा उचाईमा रहेको गाउँ हो तमानखोला गाउँपालिका–६ को नर्जाखानी । उक्त गाउँ समुन्द्र सतहदेखि २३५० मिटरको उचाईमा रहेको छ । बागलुङ बजारदेखि सवारी साधनमा साढे पाँच घण्टाको यात्रापछि पुगिने उक्त गाउँमा पैदल हिँडेर २ दिन लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->