नवलपुर, २८ मंसिर– नवलपुर प्रहरीले छुट्टा–छुट्टै २ स्थानबाट साढे ५ लाख बढी नगदसहित १४ जना जुवाडे पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना वडाअध्यक्ष समेत परेका छन् ।
प्रहरीले देवचुली १ मा रहेको मेघा पार्क रिसोर्टमा कौडा खेल्दै गरेका ५ जना र कावासोती ३ को सरदरमुकाम मार्ग नजिकै गमबहादुर सिंजालीको घरमा तास खेल्दै गरेका ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
कावासोतीबाट पक्राउ परेका ९ जनामध्ये बौदीकाली गाउँपालिका वडा नं. १ का अध्यक्ष टोलानाथ कंडेल हुन् । उनीसँगै कावासोती २ का राम्जी केसी, चुडामणी कंडेल, कावासोती ८ का श्रीधर शर्मा, कावासोती ३ का बलबहादुर गुरुङ, गमबहादुर सिंजाली, किरण केसी, कावासोती ४ का रुमबहादुर सिंजाली र कावासोती १६ का दुर्गा गिरी पक्राउ परेका छन् । जुवा खालबाट प्रहरीले १ लाख ६८ हजार नौं सय १० रुपैयाँ नगद फेला पारेको छ ।
यस्तै, मेघा रिसोर्टबाट प्रहरीले देवचुली १ का सुवासचन्द्र ओझा, भरतपुुर महानगरपालिका वडा नं. ११ का किरण श्रेष्ठ र दुर्गामान गुरुङ, भरतपुर २ का सन्दिप गुरुङ र लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ४ का दिनेश जोशीलाई नियन्त्रणमा लिएको छ ।
कौडा खालबाट प्रहरीले नगद ३ लाख ८५ हजार २२५ रुपैँया बरामद गरेको जनाएको छ ।
फरक–फरक दुई ठाउँबाट ५ लाख ५४ हजार १ सय ३४ रुपैया नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत मधुसुदन सिंहले जानकारी दिए ।





