म्याग्दी १४ पुस– भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्ष भवेन्द्र कुवँरले विश्वकै सबैभन्दा क्षमतायुक्त सङ्गीतलिपिको आविष्कार गरेका छन् ।
भौतिक शास्त्रीय मान्यताका आधारमा निर्मित उक्त सङ्गीतलिपिको आविष्कारपछि साङ्गीतिक पाठहरूका मसिना पक्षहरूको समेत लेखन र सङ्ग्रहण गर्न सकिने भएको छ ।
भौतिक विज्ञानमा दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरण पत्ता लगाई ग्यालिलियोले पूरा गर्न बाँकी छोडेका र न्युटन, आइन्सटाइन आदि वैज्ञानिकहरूले पूर्णता दिन नभ्याएका भौतिक शास्त्रीय परिमाणहरूलाई पूर्णता प्रदान गरेका कुवँरले हालै “गोमन सङ्गीतलिपि” नामक नयाँ सङ्गीतलिपि आविष्कार गरेका हुन् ।
म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा जन्मिएर काठमाण्डौंमा वसोवास गर्दै आएका वैज्ञानिक कुवँरले आर्किमिडिजको सिद्धान्तमा देखिएका समस्यासम्बन्धी वैज्ञानिक अनुसन्धान सम्पन्न गरेपछि भौतिक विज्ञानका क्षेत्रमा तरङ्ग उत्पन्न भएको थियो ।
यसअघिका सङ्गीतलिपिहरू पूर्णतः वैज्ञानिक आधारमा निर्माण नहुँदा ध्वनि र समयका मसिना पक्ष समेट्ने व्यवस्था गरिएको थिएन । जसका कारण साङ्गीतिक पाठहरूका सूक्ष्मदेखि स्थूल संरचनामा निहित सबै तह र पक्षहरूको लेखन, पठन र सङ्ग्रहणमा समस्या रहँदै आएको संगीतकारहरुले बताउँदै आएका थिए ।
प्रचलित लिपिहरूमा मसिना तह र पक्षहरू संलग्न हुन नसक्ने देखिएपछि कुँवरले “वैज्ञानिक सङ्गीतलिपिः आधार र स्थापना” शीर्षकको अनुसन्धानपत्र विज्ञसमीक्षित (पिअर रिभ्युड) जर्नल “ज्ञानगङ्गा” मा छपाएका थिए । सोही लेखमार्फत् कुँवरले “गोमन सङ्गीतलिपि” नामक नयाँ सङ्गीतलिपि स्थापना गरे ।
वैज्ञानिक कुँवरले सङ्गीतलिपिको नामकरणबारे बताउँदै भने, “गोमन सर्पको शारीरिक संरचनासँग तुलनीय देखिएकाले गोमन सर्पको नामबाट नै यस लिपिको नामकरण गरिएको हो ।” कुँवरले उक्त सङ्गीतलिपिको “गोमन सङ्गीतलिपि (कोब्रा नोटेशन)” नामकरण गरेका छन् ।
ध्वनिको तरङ्गको वैज्ञानिक स्वरूपजसरी नै नवीन आकृतिहरूका आधारमा गोमन सङ्गीतलिपिको निर्माण गरिएको वैज्ञानिक कुँवरले जानकारी दिए । सङ्गीतकारसमेत रहेका वैज्ञानिक कुँवरले भौतिक शास्त्र र गणितमा स्थापित वैज्ञानिक मान्यताका आधारमा उक्त सङ्गीतलिपि स्थापना गरेका हुन् ।
यसअघिका लिपिहरू वैज्ञानिक आधारमा नभई परम्परागत आधारमा आधारित हुँदा साङ्गीतिक पाठहरूका मसिना पक्षहरूलाई लिपिबद्ध गर्न समस्या रहेको थियो । “सुरहरूको सापेक्ष उचाइ र प्रचलित लिपिनिर्माणका आधारका बीच विरोधाभास देखिँदै आएको थियो ।” वैज्ञानिक कुँवरले प्रचलित लिपिबारे जानकारी दिए ।





