शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

निशुल्क खोप लगाउन हजारौं खर्चेर सदरमुकाम !

निशुल्क खोप लगाउन हजारौं खर्चेर सदरमुकाम !

मंगलबारदेखि बुर्तिबाङमा पनि खोप केन्द्र ।


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७७, मंगलबार
फाईल तस्विर

बागलुङ, २० माघ– अमृता पुन स्वास्थ्य स्वयंसेवीका हुन् । बरेङ गाउँपालिका वडा नं. ५ सुखौरामा उनले स्वास्थ्य क्षेत्रमा स्वयंसेवा गरिरहेकी छन् । घरायशी काम र बजारका लागि सुखौराबासीलाई सदरमुकाम बागलुङ बजारभन्दा गुल्मीको शान्तिपुर बजार नजिक पर्छ । अपायक पर्ने भएपनि प्रशासनीक कामका लागि बागलुङ बजार नै आउनुपर्छ ।
कोरोना महामारीका समयमा जनचेतनामुलक सन्देश बोकेर गाउँका घर घरमा पुगेकी पुनलाई यतिबेला निकै खुसी लागेको छ । नेपाल सरकारले पहिलो चरणमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउँदा स्वास्थ्य स्वयंसेविकाहरु प्राथमिकतामा परे । पुनले पनि खोप लगाईन् । तर निशुल्क खोप लगाउन सदरमुकाम आउँदा उनको तीन हजार पाँच सय रुपैयाँ खर्च भयो ।
‘खुसी लागेको छ, एक दिन सदरमुकामै बास बसियो’ पुनले भनिन् ‘सबै मिलेर गाडी रिजर्भ गरियो, खाना, बस्ने खर्च गर्दा ३५ सय पुग्यो ।’ जिल्लाभर एउटा मात्रै खोप केन्द्र तोकिएकाले झण्डै ५० किलोमिटर कच्ची सडकमा गाडी चडेर पुन र उनका साथीहरु सदरमुकाम आए । स्वयंसेवामा खटिने उनीहरु मात्रै होईन स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाई मजदुरहरु पनि खोप लगाउन आउँदा लाग्ने खर्चको मारमा परेका छन् ।
‘न्यनतम तलबमा सम्झौता गराएर करारमा काम गरिएको छ, खर्च धेरै आउँदा नियमित खर्च चलाउन कठिन’ जैमिनी नगरपालिकाको एक स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी भन्छिन् ‘कि त नजिकको स्वास्थ्य संस्थामा ल्याउनु पर्दथ्यो कि यातायतको व्यवस्था गर्नुपर्ने थियो ।’
यस्त, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाबाहेकका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेविकाका लागि धौलागिरी अस्पताल अपायक पर्छ । दुरीका हिसाबले टाढा रहेको अस्पताल पुग्न सवारी साधनको खर्चले मात्रै सानो परिवारलाई एक महिना खान पुग्छ । ढोरपाटन नगरपालिकाको बोबाङ, निसीखोला गाउँपालिकाको भल्कोट र तमानखोला गाउँपालिकाको नर्जाखानी जस्ता ठाउँहरुबाट खोप लगाउन आएर फर्किँदासम्म पाँच हजारभन्दा धेरै खर्च हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
‘हामीले बुर्तिबाङ, गलकोट र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि खोप केन्द्र बनाउन सक्थ्यौं तर सम्भावित जोखिम कसरी सामना गर्ने भन्ने पूर्व तयारी नभएका कारण खोप केन्द्र बिकेन्द्रित गर्न सकिएन’ गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, अस्पताल विकास महाशाखाका प्रमुख डा. राम बहादुर केसीले भने ‘निशुल्क खोप लगाउन करोडौं खर्च हुने देखियो, खोप लगाउनेहरुको व्यक्तिगत खर्च पनि राज्यकै हो भन्ने ठान्नुपर्छ ।’
खोप अभियान चलिरहेकै समयमा खोप लगाउन आउनेहरुबाट गुनासो आउन थालेको छ । जिल्लाभर रहेको कच्चि सडकमा नियमित सवारी नचल्ने र भाडाका सवारीलाई रिजर्भ गरेर हिँडाउनु पर्दा थप व्ययभार पर्ने गरेको उनीहरुको गुनासो छ ।
‘भुगोलको आधारमा हामीले सोच्नै पर्ने बेला आएको छ, दोस्रो चरणको खोप लगाउन सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ’ केसीले भने ‘जिल्लास्थित जिम्मेवारी पाएको खोप व्यवस्थापन समितिले यसमा पहल गर्नुपर्छ ।’
खोपको व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको जिल्ला खोप व्यवस्थापन समितिले भने सरकारलेनै अस्पताललाई मात्रै खोप केन्द्र बनाउने भनेकाले त्यसो गरिएको जनाएको छ । ‘सम्भावित अवान्छित घटनाको लागि एम्बुलेन्स, आईसियु र डाक्टरहरु चाहिने भएकाले सबै ठाउँमा खोप केन्द्र बनाउन सकिएन्’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने ‘हामीले सक्दो प्रयास गरेका हौं ।’
सोमबार बसेको जिल्ला खोप व्यवस्थापन समितिको बैठकले पश्चिमका चार स्थानीय तहका लागि ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा खोप केन्द्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । समितिको निर्णय अनुसार माघ २० गते मंगलबारदेखि २४ गतेसम्म बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट कोभिडको खोप दिईने छ । ‘सबै पालिकामा पुग्न सम्भव हुने कुरा भएन्’ न्यौपानेले भने ‘बुर्तिबाङ सबैका लागि पायक पर्ने ठाउँ भएकाले धेरै सहज हुनेछ ।’ यसअघि जिल्लाभर धौलागिरी अस्पताललाई मात्रै खोप केन्द्र तोकिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->