नवलपुर, १ फागुन– देबचुलीमा नगरपालिकाको स्वास्थ्य शाखाले ज्येष्ठ नागरिक, अपाङ्ता तथा बालबालिकाका लागि चलाएको निशुल्क स्वास्थ्य शिविर ७ वटा वडामा सम्पन्न गरेको छ । माघ १३ गतेदेखि सञ्चालन गरेको शिविर ७ वटा वडामा हुँदा १ हजार १ सय १६ जनाले सेवा लिएका छन् ।
स्वास्थ्य शाखा देवचुलीले आफ्नो आधिकारिक पेजमा राखेको तथ्याङ्क अनुसार वडा नं. ५ मा १ सय २९, १६ मा १ सय ४०, १७ मा १ सय ५७, ६ मा १ सय ५२, ९ मा १ सय ७३, १५ मा २ सय ६ र ४ मा १ सय ६२ जनाले निशुल्क सेवा पाएका छन् । यस्तै, कुल सेवा लिएका १ हजार १ सय १६ जनामध्ये ६ सय ५४ जनाले मधुमेह रोगको परिक्षण सेवा समेत लिएका छन् ।
यसैबीच, वडा नं. ५, १६ र ६ मा निर्माण भएका आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन भएको छ । देवचुलीका बिकट मानिने वडा नं. ५ को बन्दीपुर, १६ को बाह्रकोल र ६ को किर्तिपुरमा उद्घाटन भएका आधारभुत स्वास्थ्य केन्द्रबाट स्थानीयले छिटो, छरितो र उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा लिईएको छ ।
देवचुलीका ७ वटा वडामा सम्पन्न शिविरमार्फत् सेवाग्राहीले दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित नगर अस्पताल) का डाक्टरबाट निशुल्क स्वास्थ्य परिक्षण सेवा तथा सम्वन्धित स्वास्थ्य चौकीबाट खटिएका स्वास्थ्यकर्मी एवं कर्मचारीबाट समस्या अनुसारका औषधिको निशुल्क सेवा प्राप्त गरेका स्वास्थ्य शाखा देबचुलीका सिनियर अहेव शिव पराजुलीले जानकारी दिए ।





