नवलपुर, २० फागुन– नेपाल सरकारका बहालवाला बन तथा बातावरण मन्त्री प्रेमबहादुर आलेले दिएको अभिब्यक्तिप्रति गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले टिप्पणी गरेका छन् । बिश्व बन्यजन्तु दिवसका अवसरमा कावासोतीमा भएको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका मेयर पौडेलले सरकारका जिम्मेवार मन्त्रीले गैरजिम्मेवारी अभिब्यक्ति दिएको बताएका हुन् ।
बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम कार्यान्वयन गर्न आफ्ना लागि आर्थिक प्रलोभन आएको भन्ने मन्त्रीको भनाई गैरजिम्मेवारपूर्ण अभिब्यक्ति भएको बतउँदै नगरप्रमुख पोडेलले भने– “जिम्मेवार मन्त्रीज्युले मलाई घुसको प्रलोभन देखाईयो भन्दा नीति नै नभएको मुलुक जस्तो महशुस भएके छ । मन्त्रीले आर्थिक प्रलोभन देखाउने ब्यक्तिलाई सार्वजनिक गरेर कानूनी रुपमा ल्याउने हो कि आफ्नै निरीहता प्रदर्शन गर्ने हो ? उनले प्रश्न गरे ।
बन तथा वातावरण संरक्षण संस्था नवलपुरको आयोजना, डिभिजन वन कार्यालय नवलपुर र तराई भू–परिधि कार्यक्रम कोहलपुर, बाँकेको सहयोगमा बुधवार कावासोतीमा सरोकारवालावीच भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख पौडेलले वनप्रतिको दृष्टिकोण बनाईरहदा संरक्षणको पाटोलाई ध्यान नदिने हो मरुभूमि बन्न बेर नलाग्नेतर्फ सचेत हुन आग्रह गरे । वढ्दो जनघनत्व बसाई–सराई ब्यक्ति तथा सरकारी दुवै पक्षद्धारा अनधिकृत भूमि उपभोगका कारण बन क्षेत्र र बन्यजन्तुको बासस्थान, आहार–बिहारमा प्रतिकुल असर परिरहनुका साथै क्षेत्र साँघुरिदै जाँदा चुनौती थपिएको पौडेलको तर्क छ ।
समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण अभियान–२०७७ को अवसर समेत पारेर गरिएको अन्तरक्रियामा डिभिजनल वन कार्यालय नवलपुरका प्रमुख कोमलराज काफ्लेले पर्यावरणमा रहेका सम्पूर्ण जीवजन्तुले ईको–सिष्टमलाई सन्तुलित राख्न मदत पुर्याएकाले मानव जातिले नै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो पुस्तालाई सुन्दर वातावरण र प्रकृति हस्तान्तरण गर्नु अहिलेको पुस्ताको कर्तब्य भएकाले पनि वन–वन्यजन्तुको संरक्षण नै सुन्दर पर्यावरण र प्रकृतिको संरक्षण भएको जिकिर गरे । वन कार्यालयका प्रमुख काफ्लेले बन तथा वातावरण संरक्षण संस्थाले स्थानीय स्तरबाटै समुदायमै गठन भएका सामुहिक युनिटले बन तथा बन्यजन्तु संरक्षणमा सकारात्मक नतिजा दिएको बताएका छन् ।
जिल्लामा रहेका ५७ वटा सामुदायिक वनमा ५७ वटै चोरी शिकारी नियन्त्रण युवा अभियान युनिट नै सक्रिय रहेको अन्तरक्रियामा प्रस्तुत डिजिटल कार्यपत्रमार्फत जानकारी दिईएको थियो । बन तथा वातावरण संरक्षण संस्था नवलपुरका अध्यक्ष रामप्रसाद पाण्डेद्धारा प्रस्तुत कार्यपत्रमा ७१ व्टा बन्यजन्तुको उद्धार गर्न सफल भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
अध्यक्ष पाण्डेले मध्यवर्ती वा निकुञ्जले मात्रै बन र बन्यजन्तु संरक्षण गर्छ भन्ने दृष्टिकोणभन्दा फराकिलो सोचका साथ समुदाय पनि संरक्षणमा सक्रिय रुपमा लागेको बताएका थिए । उनले बस्तीमा पसेका बन्यजन्तुलाई बिना ब्यवधान बासस्थानतर्फ पठाउन कावासोती, देवचुली, मध्यबिन्दु र हुप्सेकोटमा दुत उद्धार टोली (आरआरटी) तयार गरेको समेत बताए ।
संस्थाले मानव–वन्यजन्तुबीचको द्वन्द नियन्त्रण र ब्यवस्थापन गर्न सहजीकरण गर्ने र सरकारी कार्यालयलाई समेत सहयोग गर्ने गरेको बताउँदै संरक्षणमा टेवा पुर्याउने उदेश्यले सचेतनात्मक गतिविधि समेत गर्दै आएको बताए ।
अन्तरक्रियामा सहभागी भएका समुदाय स्तरका चोरी शिकारी नियन्त्रणमा संलग्न रहेका संरक्षणकर्मी कार्यकर्ताले औधोगिक क्षेत्रका रुपमा बिकास गर्ने भन्दै सिफारीस भएका र अवलोकन, निरिक्षणका साथै डिपीआर हुँदै गरेका वन क्षेत्रमा औधोगिक संस्थानले पार्ने दीर्घकालिन असरका बारेमा पनि अध्ययन हुनुपर्ने टिप्पणी गरेका छन् ।
औधोगिक क्षेत्र स्थापना गर्दैगर्दा पर्यावरण, वन–वन्यजन्तुलाई बास्तवमै पर्ने असरलाई सरोकारवालाले ध्यान पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नं. २ वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोर ब्यारेकका सेनानी रबि अधिकारी, वातावरण पत्रकार महासंघ नवलपुरका अध्यक्ष शालिकराम कोईराला, तराई भू–परिधि कार्यक्रम (ताल) का बेदहरि दाहाल लगायतको उपस्थिति रहेको थियो । जिल्लाभरिका सामुदायिक वन समुहका पदाधिकारी एवं चोरी शिकारी नियन्त्रण युवा अभियानका कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महाराजा सामुदायिक वन समुहका कार्यालय प्रमुख शोभा रानाले गरेकी थिईन् ।





