
बागलुङ, ६ चैत– बालुङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चैत २९ र ३० गते हुने भएको छ । जिल्ला मसन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा बिहिबार बसेको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो । बैठकले चैत २३ गतेभित्र सबै पालिकाले प्रतियोगिता गरेर उत्कृष्ट विद्यार्थी खेलाडी पठाउन आग्रह समेत गरेको छ ।
समन्वय समितिको अगुवाईमा हुने खेलका लागि प्रशासन, प्रहरी समेतलाई शान्ति सुरक्षा र अन्य व्यवस्थापनमा साथ दिन आग्रह गरिएको ढुंगानाले बताए । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको कार्यक्रमलाई समन्वय समितिले एकीकृत गरेर खेल संचालन गर्न लागेको हो ।
यसअघि जिल्ला खेलकुद विकास समितिमार्फत प्रतियोगिता हुने गरेको थियो । अहिले समिति नभएको र बजेट संकलनका लागि समेत व्यवस्थापन भएको थिएन । समन्वय समितिले सबै क्षेत्रको समन्वय गरेर बजेट संकलन गरी खेल संचालनको तयारी गरेको हो । बैठकमा सहभागि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायलगायतले पनि खेल संचालनका लागि सहमति दिएका हुन् ।
विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको खेलप्रतिको रुचीलाई मर्न नदिने, प्रतिष्पर्धामार्फत योग्य खेलाडी छनौट गर्ने र राष्ट्रिय अन्तराष्ट्रिय तहसम्म पुग्ने अवसर सिर्जना गर्न यो प्रतियोगिता राखिएको ढुंगानाले जानकारी दिएका छन् । जिल्ला खेलकुद विकास समिति नभएकोले जिल्ला तहको कार्यक्रम कसले आयोजना गर्ने भन्ने अन्यौल थियो । पालिका तहमा भने प्रतियोगिताहरु संचालन भैरहेका छन् ।





