बागलुङ, ८ चैत– प्रतिभा छनौटका लागि जिल्लाको काठेखोला गाउँपालिकाले आगामि चैत ९ र १० गते आयोजना गरेको गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । काठेखोला गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ । कला संस्कृति तथा खेलकुद विकास समितिको संयोजन तथा व्यवस्थापनमा दुई दिन प्रतियोगिता संचालन हुने प्रतियोगिताका संयोजक टिका संगम विकले जानकारी दिए ।
गाउँपालिकाका तीन स्थानमा प्रतियोगिता गर्नेगरी तयारी भएको छ । भीमसेन माध्यमिक विद्यालय, काठेखोला जलजला खेलमैदान र विहुँकोट खेलकुदको हलमा प्रतियोगिता संचालन गरिने बिकले बताए । सबै ठाउँको प्रचार र प्रतियोगिको सहजतालाई हेरेर स्थान छनौट गरिएको हो । दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिबल प्रतियोगिता, कबड्डी प्रतियोगिता, ट्रयाक, फिल्ड, मार्शल आर्टका विधामा प्रतिस्पर्धा हुने संयोजक विकले बताए । प्रतियोगितामा ८५ जना खेलाडी छनोट हुने र उनीहरुले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाको तर्फबाट सहभागिता जनाउने छन् । प्रतियोगितामा गाउँपालिका भित्र रहेका ११ वटा विद्यालयका १८ वर्ष नपुगेका विद्यार्थीहरुले सहभागिता जनाउने संयोजक विकले बताए ।





