शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लकडाउनको त्यो पहिलो दिन, बिर्सेका छैनौं !

लकडाउनको त्यो पहिलो दिन, बिर्सेका छैनौं !

अस्पतालमा दुईचार थान पिपिइ आएको रहेछ, त्यही लगाएर मैले गाडी चलाए: पराजुली


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ११ २०७७, बुधबार

लकडाउनको एक बर्ष
बागलुङ, ११ चैत– चैत महिनाको ११ गते भन्ने बित्तिकै नेपालीको मानसपटलमा जीवनमै पहिलोपटक सुनेको र देखेको लकडाउनको कालो स्मरणमा आउँछ ।
त्यसै दिनदेखि नेपाल लकडाउनबाट ठप्प भएको थियो । संसार हल्लाउने गरी आएको कोरोना भाइरसको संक्रमण सुरु भएपछि देशभर लकडाउन गरिएको थियो । लकडाउनले मानिसलाई यति धेरै तर्सायो की गोली आएझै ढोकाबाट कोरोना छिर्छ र सत्यानास पार्छ ।
त्यसो त कोरोनाले अर्बौको आर्थिक नोक्सानी मात्र गरेन, ३ हजार नेपालीको ज्यान पनि लियो । विदेशमा उत्तिकै नेपालीले मृत्युबरण गर्नुप¥यो । मृत्यु जस्तै डरलाग्दो गरी संक्रमण पनि देशका कुनाकुना पुग्यो । कोरोना संक्रमणले नेपालको राजधानीपछि मोफसलमा बागलुङलाई प्रभावित पा¥यो ।
नेपालकै पाँचौ र छैठौं संक्रमित बागलुङमा भेटिए । उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि बागलुङमा त्रास मात्र फैलिएन बागलुङका मानिस देखेर धेरै जिल्लाबासी त्रसिद बन्न थाले । दिनभर घाम लाग्थ्यो, तर कालो बादल मडारिएझै देखिन्थ्यो । सडकहरु सुनसान हुन्थे । काम बिशेषले सडकमा निस्केका सुरक्षाकर्मी र पत्रकारलाई हेर्न मानिसहरु छतबाट चिहाउँथे । पत्रकारका लागि स्वास्थ्य सामग्री लिएर आएका गण्डकी प्रदेशका पदाधिकारी जिल्ला प्रवेश नगरी मालढुंगामै सामान छाडेर फर्केको घटना ताजै छ ।
बागलुङमा गत बर्षको चैत १५ गते पहिलो संक्रमित पुष्टी भएको थियो । बागलुङ नगरपालिका ४ की १९ बर्षिय युवती अंशु सापकोटालाई कोरोना पुष्टी भएपछि अस्पतालमा ल्याउने बिषय नै चुनौतीको बनेको थियो । यसअघि धौलागिरी अस्पतालमा आइसोलेसन कक्ष बनाइएको थियो । तर आइसोलेसनमा कसले ल्याउने भन्ने चुनौतीले संक्रमण पुष्टी भएको ७ घण्टासम्म जिल्ला कमाण्ड पोष्टसमेत अन्यौल बनेको थिायो ।
संक्रमितलाई को लिन जाने भन्ने बिबादले उग्र रुप लिएपछि जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौ आँफै गाडी लिएर हिड्नु परेको थियो । उक्त गाडीका चालक थिए रुद्र पराजुली । उनी सुरुवातबाटै जोखिम मोलेर फ्रन्टलाइनमा खटिने कर्मचारी हुन् । पहिलो पटक पिपिइ लगाउने अनुभव समेत उनीहरुले त्यहींबाट सुरुवात गरे । ‘अस्पतालमा दुईचार थान पिपिइ आएको रहेछ, त्यही लगाएर मैले गाडी चलाए’ पराजुलीले भने, ‘त्यसपछि हामी संक्रमित लिन गयौं ।’ हामी गएको देखेर धेरैले सटर र घरका ढोका समेत लगाए । धेरै दिनसम्म उनको परिवारसँग पनि मानिसहरु डराएको पराजुलीले अनुभव सुनाए ।
अस्पताल र नेपाल रेडक्रसको एम्बुलेन्स चालकले जागिरै छाड्ने तर संक्रमित लिन नजाने भन्दै सम्पर्कबिहिन भएपछि गुरौ र पराजुलीले देखाएको साहसलाई अहिले भने धेरैले स्मरण गर्छन् । उक्त साहसकै कारण उनीहरुको सम्मान भएको छ । राती ९ बजेसम्म अन्यौल भएपछि उनीहरु संक्रमित लिन पुगेका थिए । ‘कोही तयार नभएपछि मैले स्वास्थ्य क्षेत्रमा किन जागिर खाएँ भन्ने सम्झीए’ पराजुलीले भने, ‘घरपरिवार डराएपनि मैले पहिलो आँट गरें ।’ राती १० बजे संक्रमित ल्याएर अस्पतालमा भर्ना गरेपछि नुहाएर घर फर्केको उनले बताए । घर गएपनि उनी स्वयं क्वारेन्टाइनमा बसेका थिए ।
चैतको १९ गते दोश्रो संक्रमित पनि उनैले ल्याए । बानपा ३ की ६५ बर्षिय मनकुमारी पौडेललाई लिन पनि पराजुली नै जानुपरेको थियो । दुवैजना संक्रमितलाई धौलागिरी अस्पतालमा राखेपछि अन्य बिरामीको संख्या शुन्य जस्तै भयो । तर कन्ट्रयाक्ट ट्रेसिङका स्वाब लिएर पटक पटक पोखरा र काठमाण्डौ गएको उनीसँग अनुभव छ । ‘बागलुङको गाडी आयो भनेपछि पोखरामा पनि ढोका थुन्थे’ पराजुलीले भने, ‘त्यो अनौठो र अत्यासलाग्दो समय अब नहोस् ।’ बिहान बागलुङबाट निस्केपछि बेलुकी फर्केर नुहाएपछि मात्रै पानी पिउन पाएको उनले अनुभव सुनाए ।
त्यतिमात्र हैन, अस्पतालको बाटो समेत हिड्न मानिस डराउँथे । ‘लकडाउन भएकोले मानिस हिडिरहने कुरा त भएन, तर अत्यावस्यक परेर हिड्नेले पनि यो बाटो समातेनन्’ अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘रणनीतिक योजना बनाउने, अस्पतालमा भर्ना भएका बिरामी हेर्ने र संक्रमितको बारेमा पटकपटक फलोअप भने हामीले गरिरहेका थियौं ।’ उपचार पद्दती नभएकोले जस्तो लक्षण देखिन्छ त्यही औषधि खुवाउने मात्रै काम गरेको उनले बताए । तर त्यतिबेला अस्पतालमा रहनुनै बढी जोखिमको कुरा मानिएको उनले बताए ।
चैत १९ गतेपछि झण्डै डेढ महिना बागलुङमा अन्य संक्रमित देखिएनन् । तर बेलाबेला आउने हल्लाले जिल्लामा जुरुक्क उचालिन्थ्यो । गलकोटबाट घर फर्केका २८ मजदुरमध्ये बारा जिल्लामा १४ जनालाई कोरोना पुष्टी भयो । त्यसपछि उनीहरुको सम्पर्कमा रहेका झण्डै १ सय जनाको पिसिआर भयो । तर उनीहरुमा नेगेटिभ देखिएपनि लामो समय त्रासपूर्ण वातावरण बनेको थियो । पछि उनीहरु गाउँ पुगेर क्वारेन्टाइनमा बस्दा संक्रमण भएको पुष्टी भयो ।
लकडाउन आंशिक खुला हुने, सिमानामा अलपत्र परेकालाई गाउँपालिका र नगरपालिकाले ल्याउने गरेपछि जिल्लामा संक्रमणको दर ह्वात्तै बढ्यो । असारपछि बागलुङमा झण्डै एक हजार संक्रमित थपिए । उनीहरुको व्यवस्थापन निकै ठूलो चुनौती भयो । संक्रमण पुष्टी भएकाहरु अधिकांस धौलागिरी अस्पताल, धौलागिरी बहुमुखी क्याम्पस र धौलागिरी बहिरा बिद्यालयमा थिए । गाउँगाउँका सबै बिद्यालयहरु क्वारेन्टाइनमा परिणत भए ।
क्वारेन्टाइनमा बस्दा बागलुङ उद्योग बाणिज्य संघ, विभिन्न अधिकारवादी संस्था, युवा क्लब र व्यक्तिले पनि खानेकुरा सहयोग गरे । स्थानीय पालिकाले लत्ताकपडाको व्यवस्थापन गराए । हरेक दिन देशभरबाट आउने फोनबाट जिल्लाको अबस्था सार्वजनिक गर्ने र दैनिक जिल्ला प्रशासन पुगेर कमाण्ड पोष्टको बैठक बस्ने काममा गुरौले सबैभन्दा बढी समय खर्चनु परेको बताउँछन् । ‘दैनिक सुरक्षाका लागि बैठक, व्यवस्थापनका लागि काम गर्नुपथ्र्यो, धेरै जनाको फोन उठाउने समय पनि हुने थिएन’ गुरौ भन्छन्, ‘सबैको प्रयोगशाला जस्तो बन्नुपरेको थियो ।’
चुनौतीका बीच बागलुङ अस्पतालमा आइसोलेसन र आइसियु बनेको छ । तर अझै उपकरण र व्यवस्थापनमा सुधार जरुरी छ । ‘गत असारमा माग गरिएको पिसिआर मेसिन नआएर हरेक पटक स्वाब लिएर पोखरा पुग्नु परेको थियो’ अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले भने, ‘अब भने बागलुङमै पिसिआर गर्न पाउने तयारी भएको छ ।’ कोरोना संक्रमणले स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने सन्देश दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->