शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चोटपटक रोकथाम र सुरक्षा प्रवर्द्धनसमबन्धी विश्व सम्मेलन अष्ट्रेलियामा

चोटपटक रोकथाम र सुरक्षा प्रवर्द्धनसमबन्धी विश्व सम्मेलन अष्ट्रेलियामा


  • कृष्णप्रसाद शर्मा
  • चैत्र १५ २०७७, आइतबार

लण्डन, १५ चैत – कोभिड-१९ को महामारीपछि विश्वमा भइरहेको खोपको विकास र विस्तारले मानिसमा राहत महशुस भइरहेको अवस्था छ । तर, मानवीय व्यवहार, वातावरणीय जोखिम र वस्तु वा सेवाको दुरूपयोगका कारणले चोटपटकहरूबाट भइरहेको भौतिक, शारीरिक तथा आर्थिक क्षति हुने क्रम भने रोकिएको छैन। नेपालमा पनि सडक दुर्घटनालगायत कारणबाट वर्षेनी १६ हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन् । दशौं लाख मानिसहरू अस्पतालमा उपचार गराइरहेका हुन्छन्। अध्ययनहरूका अनुसार यसबाट देशको अर्थतन्त्रमा नकारात्मक असर परेर गरीवी नियन्त्रणमा बाधा आइरहेको छ। यसै सन्दर्भमा अष्ट्रेलियामा मार्च २२ देखि २६ सम्म चोटपटक रोकथाम र सुरक्षा प्रवर्द्धन विषयक १४औं विश्व सम्मेलनमा सम्पन्न भएको छ । अनलाइन मार्फत विश्व स्वास्थ्य संगठन, अष्ट्रेलेसियन इन्जरी प्रिभेन्सन नेटवर्क र पब्लिक हेल्थ एशोसिएन अष्ट्रेलियाको संयुक्त आयोजनामा एक हप्ता लामो भर्चुअल कार्यक्रममा विश्वभरिबाट करीव ३०० वटा कार्यपत्रहरू प्रस्तुत भए । चोटपटक सम्बन्धि सबैभन्दा ठूलो यो सम्मेलन हरेक दुई दुई वर्षमा हुने गरेको छ ।
सम्मेलनको ग्लोबल प्लानिङ विषयमा प्यानल डिस्कसनका लागी सहभागीका रूपमा वक्ताको रूपमा चोटपटक रोकथाम सम्बन्धि नीति र कार्यक्रम तर्जुमा गर्नमा गुणस्तरीय तथ्यांकहरूको महत्व र नेपालमा विश्वव्यापी रोगभार अध्ययन (ग्लोबल बर्डन अफ डिजीज स्टडी) तथ्यांकको उपयोगबारे डा. पुष्पराज पन्तले बोलेका थिए । मार्च २४ तारीखमा भएको उक्त सेसनमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नसर्ने रोगहरू, अपाङ्गता, द्वन्द्व एवम् चोटपटक रोकथाम (एनभीआइ) सम्बन्धी महाशाखा प्रमुख डा. इटियन क्रुग र अर्थ इन्ष्टिच्यूटका डा.रोबी पार्क्स सहभागी थिए । उक्त सेसनको अध्यक्षता युगान्डाको माकिरेरी विश्वविद्यालयका डा. ओलिभ कोबुसिङ्गेले गरेका थिए । डा. पन्त यस सम्मेलनको १४औं संस्करण सम्म ३० वर्षको इतिहासमा की नोट स्पीकरको रूपमा आमन्त्रीत पहिलो नेपाली अनुसंधानकर्ता हुन् । कार्यक्रममा डाक्टर पन्तले अन्य दुईवटा अनुसन्धान पेपर समेत प्रस्तुत गरेका थिए ।
डा. पन्तले नेपालमा बालबालिकामा हुने चोटपटक रोकथामबारे समुदायमा आधारित अनुसन्धान गरेर बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ दि वेष्ट अफ इंल्याण्डबाट पहिलोपटक विद्यावारिधि (पिएचडी) गरेका थिए। सोही विश्वविद्यालय र काठमाडौं मेडिकल कलेजको साझेदारीमा नेपालमा संचालन भइरहेको नेपाल इन्जरी अनुसन्धान परियोजनाका वरिष्ठ सोधकर्ताका रूपमा कार्यरत डा. पन्तका अतिरिक्त उक्त सम्मेलनमा नेपाल, बेलायत र जर्मनीबाट पनि नेपालमा चोटपटकसम्बन्धी लगभग दुई दर्जन एब्स्ट्र्याक्टहरू प्रस्तुत गरिएका थिए।
नेपाल इन्जरी अनुसन्धान केन्द्रका प्रा. डा. सुनीलकुमार जोशी, प्रा. जुली मिटन, डा. सन्तोष भट्ट, लगायत एक दर्जन सहभागी थिए । जर्मनीको फ्रेडरिक सिलर युनिभर्सिटी एनाका डा. फिलिक्स सिबर्ट, राष्ट्रीय ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेल, त्रिभुवन विश्वविद्यालयबाट भगबती सेढाँइको प्रस्तुती थियो।
ढोरपाटनसँगको कुराकानी उनले नेपालमा चोटपटक र तिनका जोखिमबारेको सचेतनाको स्थिति सन्तोषजनक नभए पनि केही वर्षयता जनस्वास्थ्यको यस उपेक्षित विधामा भइरहेका अनुसन्धानहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। यसले पक्कै पनि नीतिनिर्माताहरू र निर्णयकर्ताहरूलाई उपयोगी जानकारीहरू उपलव्ध गराउने छ र अब बन्ने राष्ट्रिय योजनाहरूमा समावेश गरिनेछ।
अर्को एक जिज्ञासामा उनले भने, नेपालमा चोटपटक भन्ने वित्तिकै सडक दुर्घटनालाई बुझ्ने गरेको पाइन्छ तर सडक दुर्घटनाका अतिरिक्त पानीमा डुब्ने, आगोले पोल्ने, सर्पले टोक्ने, जान अन्जानमा हुने विष सेवन, धारिलो वस्तु वा औजारले काट्ने, रूख वा अग्लो स्थानबाट लड्ने जस्ता आकस्मिक घटनाका साथै स्वयंलाई वा अर्कालाई हानी पुर्याउने मनसायले हुने हत्या हिंसाका घटनाहरू सबैमा हुने शारिरीक क्षतिलाई पनि उत्तिकै महत्व दिइनु पर्दछ किनभने नेपालमा प्रतिवर्ष कमसेकम मानिसहरू चोटपटकको उपचारका लागी ११ लाख पटक अस्पताल वा स्वास्थ्य संस्थामा जाने गरेको तथ्यांकले देखाउँछ। त्यसमध्ये १ लाख मात्र सडक दुर्घटनाको उपचारका लागी अस्पताल गएको सरकारी तथ्यांकले देखाएको छ।
उनका अनुसार चोटपटकको उपचारको खर्च पचास रूपैंयाँ देखि केही लाख रूपैंयाँसम्म लाग्ने भएता पनि एक अध्ययनले प्रति व्यक्तिप्रति पटक औषत रू. १५ हजार ४ सय पर्ने पाएको छ। यसरी हेर्दा मानिसहरूले अर्बौं रूपैंयाँ रोकथाम गर्न खर्च गर्नु परेको छ जुन धेरै चिन्ताको विषय हो।
उनका अनुसार यस्तो महत्वपूर्ण विश्व सम्मेलनमा नेपालको स्वास्थ्य मन्त्रालय वा सरोकारवाला निकायको अनुपस्थितिले यो विषय नेपालमा स्थापित हुन अझै समय लाग्ने र बालबालिका एवम् उत्पादनशील उमेर समूहका मानिसहरूलार्इ प्रभावित गर्ने यो समस्या केही वर्ष यही दरमा निरन्तर रहिरहने शंका पनि पैदा गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->