बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वायु प्रदूषण, आँखा र फोक्सोमा पर्ने असर

वायु प्रदूषण, आँखा र फोक्सोमा पर्ने असर


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७७, शुक्रबार

प्रदूषण भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरू (पानी, हावा, माटो, अग्नी र आकाश–अन्तरिक्ष) जस्ता तत्वहरूमा हुने विकृति अर्थात् पर्यावरणमा त्यसले पार्ने असर र अन्ततः पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावलाई नै प्रदूषण भनिन्छ ।
पृथ्बीमा रहेका हरेक प्राणीको लागि यी पाँचै तत्वको महत्वपुर्ण भुमिका रहन्छ । यिमध्येका हावाबिना कुनैपनि प्राणी एक क्षण पनि बाँच्न सक्दैनौं । हामी जीवित रहन र स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि शुद्ध र सफा हावा अति नै आवश्यक पर्दछ । स्वच्छ हावामा नाइट्रोजन ७८%, अक्सिजन २१%, कार्बनडाइअक्र्साई ०.०४% र आर्गन तथा अन्य पदार्थ ०.९६% रहेका हुन्छन् । यीबाहेक अन्य दूषित विशालु ग्याँस हावामा मिसिन गएमा त्यसलाई वायु प्रदूषण भनिन्छ ।
वायु प्रदूषण कारणहरू
हावामा विभिन्न प्रकारका पदार्थ वा ग्याँस जस्तैः धुमपान, वनजंगलको डढेलोबाट निस्केको धुँवा, जीव, जन्तु, रुख, बिरुवा, फोहोरमैला सडे, गलेर प्राकृतिक रुपमा मिसिन गई वायु प्रदूषण हुन सक्छ । आजकल वायु प्रदूषण व्यक्तिका क्रियाकलापबाट पनि दिन प्रतिदिन बढ्दै गएको छ । जसमा दाउरा–कोइला बाल्ने, विभिन्न प्रकारका मेसिन चलाउने, कीटनाशक औषधीको प्रयोग गर्ने, बढ्दो सवारी साधन र वन विनाशका कारण वातावरण प्रदूषित बन्दै गएको छ । वातावरण सन्तुलनका लागि राष्ट्रमा ४४% भूमीमा वन, जंगलले ढाकेको हुनुपर्दछ । हाल नेपालमा वनजंगलले ढाकेको भाग २१% मात्र छ । त्यसैले नेपालमा वनजंगल फँडानीका कारण वातावरणमा प्रतिकूल असर पार्नुका साथै वातावरणीय तापक्रम वृद्धि भएको र स्वास्थ्यलाई आवश्यक पर्ने अक्सिजनको मात्रा कम हुँदै गएको छ ।
सवारी साधनबाट निस्कने धुँवाले वायु प्रदूषणको समस्या शहरी क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको छ । नेपालको प्रमुख सहर काठमाडौं शहर धुलो, धुँवा र बढ्दो सवारी साधनका, अव्यवस्थित विकास निर्माणका कार्य र अव्यवस्थित शहरीकरणका कारण उत्सर्जित अस्पतालजन्य हानिकारक फोहोर र अन्य रसायनिक तथा जैविक अजैविक फोहोरका कारण आज विश्वको प्रदूषित शहर मध्यमा अग्रस्थानना पर्नु ज्यादै दुःखलाग्दो कुरा हो । एउटा नयाँ गाडीले एक टन पेट्रोल खपत गर्दा ७५० केजी धुवाको रुपमा विशालु ग्याँस फ्याक्छ । सवारी साधनबाट जति पुरानो हुँदै गयो, त्यति नै दुषित धुँवा बढी निष्कासन हुन्छ । सवारी साधनबाट निस्कने विषालु ग्यासहरूमा नाइट्रोजन अक्साइड, कार्बनडाइअक्र्साईड, हाइड्रोकार्बन, लिड आदि हुन् । यी विषालु ग्यासहरू वायुमण्लीय हावामा मिसिन जाँदा कार्बन मनोअक्साइडबन्छ र जस्ले हाम्रो शरीरमा अक्सिजनको सञ्चारमा अवरोध गराउँदा मानिस बेहोस् हुने वा मृत्युसमेत हुनसक्छ । बढ्दो शहरीकरण, सवारी साधनको अत्याधिक प्रयोग, पुराना सवारी साधन विस्थापित गर्न नसक्नु, उद्योग, कलकारखाना मानवबस्ती नजिक हुनु, फोहोरमैला जथाभावी फाल्नु, बाटो, घरवरिपरि धुलो, धुँवा नियन्त्रण नहुनु र कीटनाशक औषधीको जथाभावी प्रयोग गर्नाले वायु मण्डलीय हावा दिन प्रतिदिन दुषित बन्दै गएको छ । वायु प्रदूषण आजको विश्वको मुख्य समस्याको रुपमा देखा परेको छ । जसमा भारतको नयाँ दिल्ली र चीनको बेइजिङ जस्ता शहरमा वायु प्रदूषण बढ्दै गएको समयमा केटाकेटीलाई प्रत्यक्ष प्रभावबाट जोगाउनका लागि केही दिन विद्यालय तथा क्यामपसहरू बन्द गरिने गरेको पाइन्छ । तर यो नै समस्याको सटिक र दिर्घकालिन समाधान भने पटक्कै होइन । आखिर स्वास फेर्ने हावा र घरैमा बसेपनी त उही हो ।
वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने असर
वायु प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गराउँदछ । यसबाट उत्पन्न हुने मुख्य समस्यामा श्वासप्रश्वाससम्बन्धी संक्रमण, रुघाखोकी, ब्रोङ्काइटिस, निमोनिया, फोक्सो, घाँटीको क्यान्सर, एलर्जी आदि हुन् । यसका साथै हावामा रहेका हाइड्रोजन सल्फाइट, फ्लोराइड, आर्सनिक आदि विषालु पदार्थले व्यक्तिको मृत्यु पनि हुन सक्दछ । हावामा रहेको विषालु मर्करी र सिसाका सुक्ष्म कणले स्नायु प्रणाली, मुत्रप्रणाली र पाचन प्रणालीमा असर गर्नुका साथै एनटिमोनी भन्ने तत्वले मुटुमा असर गर्दछ । पेट्रोल, डिजेलबाट निस्कने धुँवामा रहेको अक्सिएसिटिन नाइट्रेड र फमेलडीहाइडले फोक्सो, आँखा आदिमा असर पार्नुका साथै खेती, बाली पनि उत्पादन धट्दै जान्छ । इन्धनबाट निस्कने पोली हाइड्रोकार्बनले क्यान्सर जस्तो भयानक रोग उत्पन्न गराउँदछ । दूषित ग्यासका कारण ओजन तहमा असर परी छाती, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, क्रोमोजोममा असामान्य परिबर्तन आउन सक्दछ । यदि वायुमण्लीय हावा दूषित भएमा सूर्यको किरणबाट आउने अल्ट्र भ्वाइलेट किरण र अम्लीय वर्षाका कारण छाला खुम्चने, छालाको क्यान्सर हुने, आँखा पाक्ने रोग लाग्ने हुने सम्भावना बढी रहन्छ । वायु प्रदूषण बढ्दै गएमा हवाइ यातायातमा समस्या आउने, बाक्लो धुँवाका कारण सवारी साधनहरू दुर्घटनाग्रस्त अवस्थामा जाने, हरितगृहमा असर गरी पृथ्वीको तापक्रम उतारचढाव हुने, हिउँ पग्लने, वातावरणमा परिवर्तन भई कृषि उत्पादनमा ह्रास आउने आदि पनि हुन्छ ।
वायु प्रदूषणको नियन्त्रण
वातावरणमा रहेको हावालाई दूषित अवस्थामा पु¥याउने कार्य मानवले नै गरिरहेका छन् । सवारी साधन चलाउने, उद्योग, कलकारखानाहरू सञ्चालन गर्ने, धुलो धुँवा दुर्गन्ध फैलाउने कार्य स्वयम् मानिसले नै गरिरहेकोले यसलाई नियन्त्रण गर्ने कार्य पनि मानवको नै हो । यसैले वायु प्रदूषणबाट बचाउनका लागि निम्न उपाय अपनाउन सकिन्छ ।
बाँच्ने उपायहरू

१. वातावरण सन्तुलनमा वनजङ्गलको ठूलो हात हुने भएकोले वनजङ्गल फडानी रोक्ने, वृक्षारोपण गर्नेजस्ता कार्यमा प्रोत्साहित गरिनु पर्दछ ।
२. व्यवस्थित सहरीकरणको विकास गर्ने । आफ्नो घरअगाडि अनिवार्य रुपमा सरसफाइ गर्ने, प्लाष्टिक र धुँवाजन्य पदार्थहरू नजालाउने, पुराना सवारी साधनहरू हटाउने र नयाँ सवारी साधनहरू चेकजाँच गरी अनुमति प्राप्त सवारी साधनहरू मात्र सञ्चालनमा ल्याउने गरिनु पर्दछ ।
३. उद्योगधन्दा, कलकारखानाहरूलाई मानव बस्तीबाट टाढा राख्ने, सडकको गल्ली, खोलानाला, नदी, ताल आदिमा फोहोर, मैला फाल्न प्रतिबन्ध गर्ने, ढल निकासको उचित व्यवस्था गर्ने, कलकारखानामा काम गर्दा माक्सको प्रयोग गरी सुरक्षित रहने व्यवस्था गरिनुपर्दछ ।
४. इन्धनको रुपमा प्रयोग गरिँदै आएको दाउरा, कोइलाको सट्टा, गोबर ग्याँस, विद्युत् शक्ति र सौर्य उर्जाको प्रयोगमा जोड दिनु पर्दछ ।
५. उद्योगधन्दा र कलकारखानाहरूबाट निस्किएको औद्दौगिक फोहोरलाई वातावारणको सम्पर्कमा नआउने गरी उचित र वैज्ञानिक तरिकाबाट विसर्जन गरिनुपर्छ ।
आँखामा कस्तो असर ?
अहिलेको वायु प्रदूषणले आँखामा निकै गम्भीर असर पर्न सक्छ । आँखामा यस्तो प्रदूषणको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने देखिन्छ । अल्पकालीन प्रभावबारेमा अहिलेको वायुमा कार्बन मनक्साइड, नाइट्रस अक्साइड आदिको मात्रा छ । त्यसले गर्दा ‘अक्युलर सर्फेस डिस्अडर’ अर्थात् आँखाको नानी र कोर्नीआको बाहिरको सतहमा असर पर्न सक्छ ।
त्यस्तै ‘ड्राई आई सिन्ड्रोम’ अर्थात् आँखा सुक्खा भएर विभिन्न समस्या पनि देखिन सक्छन् । प्रदूषणका कारण आँखाबाट आँसु आइरहने, आँखा पोल्ने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने तथा भाइरस वाब्याक्टेरिया प्रवेश गरेमा संक्रमण हुने जोखिम बढ्न सक्छ । त्यस्तै यस्तो प्रदूषणको दीर्घकालीन प्रभाव भनेको आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु पनि हुनसक्छ । उनका अनुसार वायु प्रदूषणका कारण रेटिना पनि बिग्रिने खतरा हुन्छ ।
फोक्सो र आँखा जोगाउन के गर्ने ?
अहिलेको प्रदूषणबाट जोगिन सकेसम्म घर बाहिर ननिस्किने । श्वासप्रश्वाससम्बन्धी समस्याबाट बच्नका लागि घरभित्रै बस्नु उपयुक्त हुन्छ । सबैभन्दा बढी प्रदूषण बिहान ५ बजेदेखि ८ बजेसम्म हुने भएकाले सो अवधिमा श्वासप्रश्वासका रोगीलगायत सम्पुर्णमा बिहान मर्निङवाक पनि ननिस्कन आग्रह हर्दछु । फोक्सोका रोगीहरूले मास्क लगाएर पनि बाहिर जाँदा सुरक्षित नहुन सक्छ । बजारमा सजिलै पाइनेकतिपय मास्कको गुणस्तर राम्रो नभएकाले अहिलेको जस्तो प्रदूषणबाट जोगिन त्यति सजिलो छैन ।
घरभित्र बस्दा झ्याल र ढोका बन्द गर्न तथा धूप नबाल्न र धूमपान नगर्न आग्रह गर्दछु । आँखालाई बचाउनका लागि फोक्सो बचाउन मास्क लगाए जस्तै चस्मा वा सनग्लास लगाउनु उपयुक्त हुन्छ । यस्तो प्रदूषणका बेला ‘कन्ट्याक्ट लेन्स’ लगाउन हुंदैन । त्यसले आँखालाई थप सुक्खा बनाउने र घाउ हुनसक्ने खतरा बढ्न सक्छ । त्यस्तै कुनै प्रिजर्भटिभ नभएको नक्कली आँसु प्रयोग गर्ने र दिनमा दुईदेखि तीन पटकसम्म सफा चिसो पानीले आँखा सफा गर्नु उपयुक्त हुन्छ । तर धेरै पटक पानीले आँखा धोइरहनु पनि उपयक्त हुँदैन ।
त्यस्तै आँखा नमिच्ने र हात सफा गरिरहनु गर्नुपर्छ र संक्रमण भएमा चिकित्सकको सल्लाहमा औषधि प्रयोग पर्दछ । विद्यालय र समुदायमा वातावरणीय शिक्षा प्रदान गरी वायु प्रदूषणबारे यथेष्ट ज्ञान प्रदान गरिनु पर्दछ । वायु प्रदूषणका कारण हाम्रा शहरहरू दिन प्रतिदिन दूषित बन्दै गएका छन् । निमोनिया, ब्रोङकाइटिस, श्वासप्रश्वास प्रणालीमा क्यान्सर, छालासम्बन्धी समस्या, एलर्जी आँखाका रोगहरू धुलो, धुँवाका कारण बढ्दै गएका छन् । त्यसैले व्यवस्थित सहरीकरणको विकास गरी श्वासप्रश्वाससम्बन्धी समस्याबाट मुक्त गराउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->