गोरखा, २२ चैत– गोरखाको बारपाक गैरहेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ना ५ च ३२९८ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएस्पी प्रकाश दाहालले जानकारी दिए ।
दुर्घटनामा बारपाक सुलिकोट गाउँपालिका शिक्षा शाखा प्रमुखसहित सात जना घाइते भएका छन् । बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडीको मृत्यु भएको डिएपी दाहालले जानकारी दिए । दुर्घटनामा गम्भिर घाइते भएका दुवैजनालाई थप उपचारका लागि गोरखा अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते हुनेमा गाउँपालिका प्रमुख सुशिल बराल छन् । त्यस्तै विद्यालयकै अन्य ४ जना शिक्षकहरु पनि घाइते भएका छन् । साँघुरो बाटोमा ब्रेक नलागेपछि भित्तामा ठोक्काउने क्रममा जीप पल्टिएर भीरबाट खसेको थियो । जीप झण्डै डेढ सय मीटर तल दरौँदी नदीमा खसेको थियो । दुर्घटनाग्रस्त जीपबाट गएराती उद्धार गरी शिक्षकहरुलाई अस्पताल लगिएको थियो । घाइतेमध्ये दुई जना शिक्षकलाई पोखरा र एक जनालाई भरतपुर पठाइएको छ ।





