बागलुङ, ३१ चैत– दृष्टीविहीन युवा अमिट केसीले सगरमाथा चढ्ने अभियानलाई देशभरका व्यवसायीले सहयोग गरिदिन बागलुङ उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
आइतबार सबै व्यवसायी तथा देशभरका उद्योग वाणिज्य संघलाई निमन्त्रणा पत्रसहित आग्रह गरेको हो । केसीले नेपाल उद्योग वाणिज्य महासंघको झण्डासमेत सगरमाथामा लिएर जाने योजना सहित सहयोगको माग गरेकोले उक्त सहयोगको आग्रह गरिएको संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।
केसीले केही वर्ष अघिदेखि नै सगरमाथा चढ्ने प्रयास गरेका छन् । २ वर्ष अघिको प्रयासमा मौसम खराबका कारण फर्केका थिए । आगामी जेठ महिनामा उनी फेरि सगरमाथा जाने योजनामा छन् । त्यसका लागि खर्च धेरै लाग्ने भएकोले सहयोगको माग गरेको केसीले बताए । सगरमाथा चढ्ने उपकरण तथा लत्ता कपडा, सामाग्री खरिदमा धेरै खर्च लाग्ने गरेको हो ।
सगरमाथा चढ्न गाइड चाहिने भएपछि खर्च बढेको केसीले बताए । उनले अन्य संस्थामा पनि सहयोगको माग गरेका थिए । केही वर्षअघि संघले सगरमाथा अभियानमा प्रायोजक बन्ने घोषणा समेत गरेको थियो ।





