नवलपुर, १ वैशाख– भारतसँग सीमानाका जोडिएको नवलपुरको त्रिवेणी क्षेत्रमा स्वास्थ्य अनुगमन तथा निरीक्षण भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरिरहेका बेला गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरिक्षक मोहदत्त ढकालसहितको टोलीले सोमवार गण्डकी प्रदेशको एकमात्र दक्षिणी नाकाको अवलोकन गरेको हो ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाई, मध्यबिन्दु जिल्ला अस्पातालका डा. सरद पोख्रेल र रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलसहितको टोली अनुगमन–निरीक्षणमा पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालय प्रमुख चापागाईका अनुसार त्रिवेणी नाका आवत–जावतका हिसावले सुनसान जस्तै छ । अति आवश्यकीय काममा भारततर्फ उपचारका निम्ति नेपालतर्फबाट बिरामी लैजानुपर्दा बाहेक अन्य प्रयोजनमा मानिसहरु स्वतःस्फुर्त रुपमै आफै पनि भारततर्फ जान डराएको अवस्था रहेकाले नाका सुनसान भएको हो ।
‘त्रिवेणी नाका व्यस्त नभइसकेकाले पनि भारतबाट नेपाल भित्रिनेहरु यो नाका हुँदै प्रवेश गरेका छैनन् । सहज यातायात र सजिलो निकास नभएकाले त्रिवेणी नाकावाट मानिसहरु प्रवेश नगरेका पनि हुन सक्छन्’, प्रमुख चापागार्इंको भनाई छ ।
त्रिवेणीधाम हिन्दु धर्मावलम्वीहरुको धार्मिक आस्थाको केन्द्रसमेत भएकाले यहाँ बिहानको समयमा छिटफुट संख्यामा नजिकैको क्षेत्रका भारतीयहरु आउने र नुवाएर पूजा–आजा सकेर फर्कने गरेको जानकारी आफूहरुले पाएको बताए । सरकारले पछिल्लोपटक सावधान हुने सन्देश जारी गरेपछि गजेन्द्रमोक्ष धामलगायत त्रिवेणीका अन्य धार्मिक–सांस्कृतिक पर्यटकीय स्थलहरुमा धार्मिक भक्तजन तथा आन्तरिक पर्यटकहरुको उपस्थिति घटेकोे छ ।
भारतसँग सीमानाका जोडिएकै कारण गण्डकी प्रदेशमा नवलपुर फेरि पनि कोरोनाको ‘हटस्पट’ बन्न सक्ने आंकलन भइरहँदा नाकाकै कारण भयभित भइहाल्नुपर्ने अवस्था नरहेको तर सावधानीका साथ स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न स्वास्थ्य प्रमुख चापागाईंले आग्रह गरेका छन् ।
कोरोनाको दोस्रो लहर देखिए सँगै जिल्लामा आफूहरु तयारीमा जुटेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए । अहिले जिल्लाको भारतसँग जोडिएको एक मात्र नाका त्रिवेणीमा हेल्थ डेक्स राखेर नाकाबाट जिल्ला भित्रिनेहरुको स्वास्थ्य परिक्षण सुरु गरिएको चापागाईंले बताए ।
उनका अनुसार नाकामा गरिने स्वास्थ्य परीक्षणमा कोरोनाको लक्षण देखिएका बिरामीलाई तत्काल एन्टिजेन टेस्ट गरिने, कोरोना संक्रमण देखिएमा नजिकको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था गरिएको छ ।
त्यस्तै भारतलगायत तेस्रो मुलूकबाट आउनेहरुलाई कम्तीमा १० दिनसम्म होम क्वारेण्टिनमा बस्न आग्रह गरिएको र शंकास्पद लक्षण भएकालाई तत्काल पालिकाको स्वास्थ्य केन्द्रहरुमा एन्टिजेन टेस्टको व्यवस्था गरिएको चापागाईंले बताए ।
त्यसैगरी स्थानीय तहका स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा यस अगाडि कोरोना संक्रमितलाई उपचारमा राखिएका बेडहरु र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको चापागाईंले बताए । भारतलगायत तेस्रो मुलुकबाट आउनेहरुका लागि क्वारेण्टिनको लािग अहिले केही निर्णय नगरिएको र होम क्वारेण्टिनमा बस्न आग्रह गरिएको चापागाईंको भनाइ थियो ।
कोरोनोको सुरुको लहरमा कोरोना संक्रमणको दर फैलिएपछि जिल्लाको देवचुलीमा रहेको प्राकृतिक चिकित्सालयलाई अस्थायी कोरोना अस्पताल बनाएर उपचार गरिएको थियो । कोरोनाले सुरुवातमा झँै महामारीको रुप लियो भने त्यस्तो अवस्थामा आफूहरु प्राकृतिक चिकित्साको माध्यमबाट संक्रमितको उपचार गर्न तयार रहेको प्राकृतिक चिकित्सालयका निर्देशक डाक्टर विनोद पौडेलले बताए ।‘अहिले त स्थानीय तहहरुमा अस्थायी अस्पताल बनेका छ्न, जिल्ला अस्पताल छ, यदि महामारी बढेर असहज भए हामी कोरोना संक्रमित उपचार गर्न तयारी अवस्थामा छौँ’, डाक्टर पौडेलले भने ।





