पोखरा, ६ वैशाख– नेपालका मेडिकल कलेजमा कार्यरत कर्मचारी युनियनका अगुवाहरुले अन्तर्राष्ट्रिय युनियन आन्दोलन र अभ्यासबारे प्रशिक्षण लिएका छन् ।
युनियन नेटवर्क इन्टरनेसनल, युएनआई ग्लोबल युनियनसँग आवद्ध युनियन अफ प्राइभेट हस्पिटल, नेपाल (युनिफिन) ले आयोजना गरेको प्रशिक्षणमा देशभरका १६ वटा मेडिकल कलेजमा कार्यरत २५ जना युनियनकर्मीको सहभागिता रहेको थियो । युनिफिनकी कोषाध्यक्ष प्रतिमा भट्टका अनुसार सम्मेलनले युनिफिन अन्तर्गत मेडिकल कलेज युनियन एलायन्ससमेत निर्माण गरेको छ । उनका अनुसार मेडिकल कलेजको प्रतिष्ठा, कर्मचारी व्यवस्थापन, श्रम अधिकारको रक्षा, शान्तिपूर्ण औद्योगिक सम्बन्धलगायत कर्मचारीसँग सरोकार राख्ने बिषयमा एलायन्सले सरकार, मेडिकल कलेज एसोसियसन र अन्य सरोकारवालसँग सम्वाद र सहकार्य गर्ने उल्लेख छ ।
प्रशिक्षणमा अधिवक्ता मीना रानाभाटले श्रम ऐन, ट्रेड युनियन ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन नियमबारे प्रशिक्षण दिएकी थिइन् ।
युएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले अनलाइन जुमको माध्यामबाट लाइभ प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसियनका पूर्वअध्यक्ष डा. भोला रिजाल, डा. सुरेश कनौडियाले सहभागीलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए । युनिफिनका अध्यक्ष पृथ्वीरमण थपलियाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।





