बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

उच्च रक्तचापको रोगीले के गर्ने, के नगर्ने ?

उच्च रक्तचापको रोगीले के गर्ने, के नगर्ने ?


  • कृष्ण कुमार सैजु
  • बैशाख १० २०७८, शुक्रबार

उच्च रक्तचापको कारन र प्राकृतिक समाधान
उच्च रक्तचाप अहिले धेरैमा देखिरहेको समस्या हो । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । हामी अधिकांशले भनेको सुन्छौं– मलाई उच्च रक्तचाप छ, औषधि खान्छु । उच्च रक्तचाप हुने बित्तिकै जीवनभर औषधि खानुपर्छ भन्ने बुझाइछ । तर अरू केही कुरामा ध्यान दिएमा औषधिको मात्र भर पर्नु पर्दैन ।
उच्च रक्तचापलाई अंग्रेजीमा ‘हाई ब्लड प्रेसर’, ‘हाइपर टेन्सन’ पनि भनिन्छ । उच्च रक्तचाप के हो र कसरी हुन्छ भन्नेबारे बुझ्न रक्तचापके हो भन्ने बुझ्नु जरुरी हुन्छ ।
सबै जीवित प्राणीको शरीरमा निरन्तर रक्तसंचार भईरहन्छ र रक्तसंचार हँुदा रक्तनलीमा रगत बहिरहन्छ, रगत बहँदा रक्तनलीमा चाप उत्पन्न हुन्छ र यसैलाई रक्तचाप भनिन्छ । यसमा मुटु र फोक्सो खुम्चिने र फुक्ने हुन्छ । मुटु खुम्चिने र फुक्नाले रक्तनलीमा रगत धेकेलिन्छ र रगत अघि बढेर शरीरका सम्पूर्ण भागमा पुग्छ । मुटु, फोक्सो र रक्तनलीले निरन्तर काम गरिरहने रक्तसञ्चारको यहीं सन्तुलन नै स्वस्थ अवस्था हो ।
मुटुले शरीरका सम्पूर्ण कोषमा शुद्ध रगत पु¥याउँछ र कोषहरूबाट फोहोर रगत फोक्सोमा पु¥याउँछ । मुटु खुम्चिँदै र फुक्दै यसरी पठाएको रगतले शरीरका सबै भागमा पोषण मिल्छ । मुटु एउटा पम्प जस्तै स्वचालित रूपमा निरन्तर फुक्दा र खुम्चिँदा रक्तनलीमा चाप फरक–फरक हुन्छ ।
मुटु खुम्चिँदा फोक्सोबाट शुद्ध रगत शरीरतिर जाने भएकाले फुक्दाभन्दा खुम्चिँदा बढी रक्तचाप हुन्छ । मुटु खुम्चिँदाको यही चापलाई ‘सिस्टोलिक प्रेसर’ भनिन्छ । फुक्दाको चापलाई ‘डाइस्टोलिक प्रेसर’ भनिन्छ ।
सिस्टोलिक प्रेसर
बायाँ भेन्ट्रिकलले मुटुमा रहेको सफा रगत एओर्टामा धकेल्छ । यस्तो बेला मुटु बलपूर्वक खुम्चिन्छ तब रगतको चाप सबभन्दा बढी हुन्छ रयसैलाई सिस्टोलिक प्रेसर भनिन्छ । सिस्टोलिक प्रेसर ९० देखि १४० लाई सामान्य मानिन्छ ।
डाइस्टोलिक प्रेसर
शरीरका सबै भागबाट फोहोर रगत आउनुलाई डाइस्टोलिक प्रेसर (चाप) भनिन्छ । यो मुटु फुक्दाको समय हो । ९० देखि ६० सम्मकोचापलाई सामान्य मानिन्छ । सिस्टोलिक र डाइस्टोलिक प्रेसरको सन्तुलित दबाबलाई नै सामान्य रक्तचाप भनिन्छ ।
पल्स प्रेसर
मुटुबाट सफा रगत शरीरमा जानु र शरीरबाट फोहोर रगत मुटुमा आउनु रगतको चक्र हो जसलाई ‘पल्स प्रेसर’ भनिन्छ । सामान्यतया एक मिनेटमा मानिसको पल्स ६० देखि ८० हुन्छ ।
उच्च रक्तचाप के हो त ?
सामान्यतः रगत बहने सबै रक्तनली लचिला हुन्छन् । जबसम्म रगत बहने धमनी र रक्तनलीको अवस्था स्वाभाविक र लचिलो हुन्छ तबसम्म मुटुलाई रगत शरीरतिर पठाउँदा खुम्चिन र फुक्न धेरै बल दिनु पर्दैन । तर जब यी नलीमा अवरोध हुन्छ, लचिलोपन कम हुन्छ र रगत सञ्चारका लागि मुटुलाई सामान्यभन्दा बढी बल र परिश्रम गर्नुपर्छ । जति बढी परिश्रम र बल प्रयोग हुन्छ त्यति नै जोडले रगत चल्न थाल्छ र रगतको चाप बढ्छ । उच्च रक्तचाप भन्नाले रगत बहँदा रक्तनलीका भित्तामा हुनपर्ने सामान्यभन्दा बढी चाप हुनु हो । सिस्टोलिक प्रेसर १४० भन्दा रडाइस्टोलिक ९० भन्दा बढी भए उच्च रक्तचाप मानिन्छ ।
उच्च रक्तचापलाई दुई भागमा विभाजन गरिन्छ ।
साधारणः ९० देखि ९५ प्रतिशत उच्च रक्तचापको कारण थाहा नहुने भनिन्छ । कारण थाहा नभएको रक्तचापलाई साधारण रक्तचाप भनिन्छ ।
असाधारणः कुनै अन्य रोग जस्तै मिर्गौला समस्या, सुगर, मुटुरोग, दम आदिबाट उत्पन्न हुने रक्तचापलाई असाधारण रक्तचाप भनिन्छ । यो ५ देखि १० प्रतिशत हुन्छ ।
साधारण रक्तचापको कारण थाहा नपाउने भएकाले निको नहुन सक्छ भने असाधारणलाई जुन रोगबाट आएको हो, त्यो रोग निको भएपछि ठीक हुने प्रबल सम्भवना हुन्छ । रक्तचाप निको नहुने र जीवनभर औषधि खाइरहनु पर्ने समस्याका रुपमा लिइन्छ । तर केही कुरामा ध्यान दिए र सावधानी अपनाए निको हुन सक्छ ।
रक्तचाप हुनुका कारण
१. अनुचित आहार
हामी जे खान्छौं त्यसैले हाम्रो शरीर निर्माण हुन्छ, त्यही खानाले रगत पनि बन्छ । अनुचित खानपानले शरीरमा टक्सिन जम्छ । त्यही टक्सिन रगतमा मिसिन्छ र रक्तनलीमा फोहोर जम्मा हुन्छ । यसले रक्तनली साँघुरो बनाउँछ र नलीहरूमा अवरोध हुनु नै रगतको चाप बढ्नुको मुख्य कारण हो ।
२. अनुचित विहार
हाम्रो शरीरले गर्ने गतिविधिका कारण पनि रक्तचाप बढ्छ । शरीरको क्षमताभन्दा बढी परिश्रम र धपेडी गरे रक्तचाप बढ्छ । त्यसैले सधैं काम र आरामको सन्तुलन हुनुपर्छ । सामान्यतः वयस्क व्यक्तिलाई २४ घन्टामा ६ देखि ८ घन्टा निद्रा आवश्यक पर्छ । त्यसैगरी जुनुसुकै काम गर्दा मेरुदण्ड सिधा र खुकुलो हुनुपर्छ ताकि स्नायु सञ्चार र रक्तसञ्चार स्वभाविक रूपले चलोस् । टाउको झुकाएर वा निहुराएर बस्न हुँदैन । झुकेर बस्दा टाउकोसम्म रगत सञ्चार राम्रोसँग हुन पाउँदैन र तनावयुक्त विचार आउँछ । हिँड्दा छाती फुलाएर हिँड्नुपर्छ, यसले रक्तसञ्चार राम्रो हुन्छ र आत्मबल बढाउँछ ।
३. अनुचित विचार
रक्तचाप बढ्नुमा आहार, विहारको जति भूमिका हुन्छ, त्यत्तिकै विचारको पनि रहन्छ । रिस, चिन्ता, लोभ, मोह जस्ता विचारले रक्तचाप बढ्न सक्छ । त्यसैले सधैं शान्त रहनुपर्छ ।
४. कब्जियत र मोटोपन
कब्जियत र मोटोपनले पनि रक्तचाप बढ्छ । आहार जहिले पनि कब्जनिवारक हुनुपर्छ भने तौल नियन्त्रणमा हुनुपर्छ ।
अन्य कारणहरू
५. नुन चर्को खानु (नुनले रक्तनली खुम्च्याउँछ र पानी बढी सोस्छ । पिसाब नभएसम्म शरीरमा रगतको मात्रा बढी हुन्छ । त्यसैले प्रेसरमा पिसाब खुलाउने औषधि पनि दिइन्छ ।)
–माछा, मासु, अमिलो चिया, कफी, कोल्ड ड्रिंक, गर्मी गराउने खाना जस्तै पिरो, मसला, कृत्रिम तेल–चिल्लोमा तारेभुटेका खाना, मैदाबाट बनेका खाद्यान्न बढी खानु ।
–रक्सी, चुरोट, खैनी खानु ।
–बारम्बार या धेरै खानु ।
–पानी कम हुनु ।
–व्यायाम नगर्नु ।
–आँखाको कमजोरी, मृगौलाघात, मस्तिष्कघात, पक्षघात, हृदयघात, दृष्टिघात आदिका कारण पनि रक्तचाप बढ्न सक्छ ।
रक्तचापका लक्षण
–शरीर भित्रभित्रै गर्मी बढ्नु, मन बेचैन हुनु ।
–टाउको दुख्नु, मुख्यतया पछाडि भागमा झुम्म भएर दुख्नु ।
–रिंगटा, वाकवाकी लाग्नु ।
–अनिद्रा वा थकान हुनु ।
–छाती भारी हुनु, सास फुल्नु ।
–अलि धेरै नै रक्तचाप बढे नाथ्री फुटेर रगत बग्ने पनि हुन्छ ।
यी समस्या देख्ने बित्तिकै प्रेसर जँचाउनु पर्छ । सिस्टोलिक १२० र डाइस्टोलिक ८० भन्दा बढी भए रक्तचाप बढेको मानिन्छ । प्रेसर बढ्ने बित्तिकै औषधि खाइहाल्न पर्दैन । बरू मन, शरीर र पेटलाई आराम दिनुपर्छ । मनलाई आराम दिनु भनेको विचारमा शान्त रहने, शरीरलाई आराम भनेको दौडधुप नगर्ने र पेटलाई आराम भन्नाले उपवास बस्ने, झोलिलो खानेकुरा, फलफुल वा सादा खाना खाएर बस्ने । यी तीन चिज मिलाउँदा रक्तचाप केही दिनमै कम हुन सक्छ ।
रगत सफा रहन र स्वस्थ रहन भोजन कस्तो गर्ने त ?
कब्जियत नगराउने, नमोटाउने, सुपाच्य, सादा र प्राकृतिक भोजन हुनुपर्छ । भोजन जति सुपाच्य भयो, शरीरलाई पाचन गर्न त्यति नै सजिलो हुन्छ । शरीरले बढी काम गर्नु पर्दैन र प्रतिरोध क्षमता बढी हुन्छ । भारी खानेकुरा पचाउन शरीरले धेरै शक्ति खर्च गर्नुपर्छ र प्रतिरोध क्षमता कम हुन्छ ।
हामीले खाने खानामा करिब ७० प्रतिशत रेशा र छोक्राबोक्रा हुनुपर्छ । यो ताजा हरिया सागसब्जी, फलफूल, सलाद र अप्रशोधित अन्न, जस्तै खैरो चामल, गहुँको पिठो, च्याँख्ला, मकै, फापर आदिमा प्रशस्त पाइन्छ । अन्न, हरिया तरकारी र काँचो सलाद, फलफूल तीनै थरी मिलाएर बराबर खाँदा कब्जियत हुँदैन । कब्जियत नरहेपछि शरीरमा फोहोर जम्मा हुन पाउँदैन । यसले मोटोपन हुँदैन र रगत सफा हुन्छ । सामान्यतया बढी नुनले हानी गर्छ । उच्च रक्तचापमा नुन, चिल्लो र गर्मी गराउने मसलावर्ग, चिया, कफी आदि खानु हुँदैन । त्यसैगरी फलफूलमा अमिलो गुणका र अनार खानु हुँदैन ।
कति रक्तचाप हुँदा के गर्ने ?
१५०/९० भएमाः
यो अवस्थामा औषधि खाइहाल्नु पर्छ भन्ने छैन । खाना, सागसब्जी, सलाद–फलफूल तीनैथरि बराबर मिलाएर खाने । नुन कम गर्ने, नियमअनुसार प्रसस्तै पानी पिउने । मर्निङवाक वा हलुका योग–व्यायाम गर्ने गर्न सकिन्छ ।
१६०/१०० भएमाः
यो अवस्थामा नुन ३ देखि ५ दिनसम्म बन्द गरी सादा खाना र उचित मात्रामा पानी खाने । यसो गर्दा ३ देखि ७ दिनभित्र प्रेसर कम हुन्छ । तौल बढी भए मोटोपन घटाउने तरिकाले खानपान गर्नुपर्छ जसमा खाइरहेको खानामा १ भाग कम गर्ने । नुन कम भएको हरियो तरकारी दुई कचौरा र खानालगत्तै अमिलो गुण नभएका सलाद–फलफूल खाने । दौडधुप र चिन्ताबाट पनि मुक्त रहनै पर्छ । सास नफुल्ने गरी केही समय हिँड्न सकिन्छ । हलुका अंग व्यायाम, सुतेर गर्ने र कब्जियत खुलाउने आसन र सरल प्राणायाम गर्न सकिन्छ ।
१८०/११० भएमाः
यो अवस्थामा शरीर, मन र पेट सबैलाई आराममा राख्नु पर्छ । पेटलाई आराम भन्नाले दिनमा २ छाक खाना र खाजामा हलुका आहार (अमिलो गुण नभएका फलफूल) खान सकिन्छ । प्रेसर सामान्य नभएसम्म नुन नखाने । तौल बढी भए घटाउने हिसाबले खाने । प्रेसर दैनिक जाँच गरिरहने । सामान्य भएपछि पनि केही दिन नुन कमै खाने । यो अवस्थामा कुनै व्यायाम गर्नु वा हिँड्नु हुँदैन । सरल प्राणायाम गर्न सकिन्छ तर छातीलाई धपेडी हुने गरी सास तान्ने–छाड्ने गर्नु हुँदैन ।
२००/१२० भएमाः
यो अवस्थामा शरीर, मन र पेट सबै पूर्ण आराममा रहनुपर्छ । ३ देखि ५ दिनसम्म रसाहार या फलफूल मात्र खाएर शरीर र पेटलाई आराम राख्नु पर्छ । प्रेसर ठीक भएन भने ७ दिनसम्म झोलिया खाना या फलफुलमै रहनु पर्छ । प्रेसर कम भएपछि पनि सामान्य नभएसम्म नुन नखाने वा धेरै कम मात्र लिने । यो अवस्थामा कुनै व्यायाम गर्नु हुँदैन । सरल प्राणायाम पनि मुटुलाई रत्ति अप्ठ्यारो नुहने गरी मात्र गर्न सकिन्छ ।
यसरी शारीरिक र मानसिक दुवै रूपमा शान्त र आराममा रहेर, खाना मिलाएर खाएमा, ७२ घन्टामा बढेको प्रेसर कम हुन सक्छ । तौल भने ठीक ठाउँमा ल्याउनु पर्छ, मोटोपन नघटेसम्म उच्च रक्तचाप पूर्ण रूपमा कम हुँदैन । तर यसरी सबै मिलाउँदा पनि प्रेसर कम भएन भने अन्य रोग कारण हुन सक्छ । माथि उल्लेख गरिएका सरल उपाय हुन् । यसरी मिलाउन नसकेमा औषधि खानुपर्छ । औषधि खाँदैमा पनि कम हुन्छ भन्ने छैन, औषधीको मात्र रगतमा हुँदा सम्मलाई हो, औषधिसँगै खानपान ठीक हुनुपर्छ ।
औषधि खाएर मात्र रोग कम गर्न खोज्दा शरीरबाट टक्सिन निष्कासन हुन पाउँदैन र शरीरले अर्को बाटोबाट टक्सिन निष्कासन गर्न खोज्छ । जस्तै प्रेसरको औषधि खाँदा विस्तारै सुगर हुन सक्छ । त्यसैले औषधिसँगै खाना पनि मिल्नु पर्छ । खाना मिलाएर खाँदा शरीरमा जम्मा भएको फोहोर निस्कासन हुन पाउँछ र शरीर सफा हुन्छ ।
सावधानी
औषधि खाइरहेका र अत्यधिक रक्तचाप भएकाले विज्ञसँग परामर्श लिएर मात्र खाना मिलाउने गर्नुपर्छ । प्रमुख बिषय औषधि खाएर होस् वा खाना मिलाएर, रक्तचाप सधैं ठिक्क राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->