नवलपुर, १८ बैशाख – नेपाल पत्रकार महासंघ नवलपुर शाखाको निर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यलाई निबर्तमान कार्यसमितिले पदहस्तान्तरण गरेलगत्तै नयाँ समितको प्रथम बैठक सम्पन्न भएको छ । शुक्रवार महासंघ कार्यालयमा बसेको वैठकले पत्रकार कल्याणकोष संचालन गर्ने निर्णय गरेको छ ।
पत्रकारको कल्याणमा मदत पुग्ने उदेश्य राखेर पत्रकार कल्याणकोष स्थापना गरिएको अध्यक्ष विरेन्द्र पराजुलीले बताए । पत्रकार कल्याणकोषमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाबाट पचास हजार सहयोग गर्ने बचनदान भएको छ । यस्तै, अध्यक्ष विरेन्द्र पराजुलीबाट दश हजार र सदस्य भविश्वर पाण्डेबाट पाँच हजार रुपैया नगद कोषमा जम्मा भयो भने आभानी मिडिया प्रालिका अध्यक्ष डिल्लिराम कडरीयाबाट सात हजार रुपैया बचनदान भएको हो । कल्याणकोषमा पछि रकम थप गर्दै लैजाने पनि अध्यक्ष पराजुलीले बताए ।
बैठकले पत्रकार महासंघको २६ औं महाधिबेशन सम्पन्न गर्न सहयोग पुर्याउने सवै सरोकारवाला ब्यक्ति तथा संघसंस्था लगायत निबर्तमान कार्यसमितिप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
यस्तै, कोभिड संक्रमणको उच्च जोखिममा अग्रपंक्तिमा खटिएर काम गर्नुपर्ने पत्रकारहरु समेत स्वयंले स्वास्थ्य सुरक्षाका सावधानी अपनाउँदै संक्टका बेला नागरिकलाई दिनुपर्ने सही, सत्य र तथ्यपरक सुचना, समाचारका गतिविधिमा लाग्न आग्रह गर्दै कोभिडका बहानामा संचारगृहले पत्रकारलाई निश्कासन गर्ने खालका काम नगर्न पनि अनुरोध सहितको प्रस्तावमा निर्णय गरेको छ ।
यसपूर्व सामुदायिक सेवा केन्द्र कावासोतीको सभाहलमा नवलपुर शाखाका निवर्तमान अध्यक्ष होमराज रानाभाटले बर्तमान अध्यक्ष बिरेन्द्र पराजुलीलाई निर्णय पुस्तिका दिएर पद हस्तान्तरण गरे ।
पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको पद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले मुलुकले संघीय ब्यवस्थाको कार्यान्वयन गरिरहेका बेला पत्रकार जगतले संघीयताको अनुभूत गर्न नपाएको बताए । मोफसलमा रहेर पत्रकारिता गर्नेहरुका पीडा र मार्का आफुले बुझेको बताउदै अध्यक्ष पोखरेलले ती समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।





