तनहुँ जिल्लाको पुरानो नगरपालिका हो, व्यास । दुई दशक अगाडी नगरपालिका भएको व्यास स्रोत साधनको दृष्टिकोणले जिल्लाका अन्य १० स्थानिय तहभन्दा अगाडी नै छ । जिल्लाको सदरमुकाममा पर्ने व्यासको बागडोर गएको चार वर्षदेखि मेयर बैकुण्ठ न्यौपानेको नेतृत्वमा छ । यी चार वर्षमा व्यास नगरपालिकामा के कति काम भएका छन् त ? जनताको अपेक्षा पूरा हुनेगरी काम गर्न सकियो कि सकिएन? कोरोनाको प्रभावले विकास निर्माणमा कस्तो प्रभाव पारेको छ ? याव्त विषयमा तनहुँबाट ढोरपाटनकर्मी विनोद ढुंगानाले मेयर न्यौपानेसँग लामो सवालजवाफ गरेका छन् । प्रस्तुत छ– कुराकानीको सम्पादित अंश…
कोरोनाको दोस्रो लहर युके भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । व्यास नगरपालिकामा संक्रमणको स्थिति कस्तो छ ?
– व्यासमा संक्रमणको दर बढ्दै छ । अहिलेसम्म करिब २५ जना संक्रमित भएका छन् । हरेक हप्ताको सोमबार पीसीआर परिक्षणको व्यवस्था गरिरहेका छौँ । हाम्रो स्तरबाट गर्नुपर्ने पूर्वसावधानी अपनाइरहेका छाँै । सचेतता–सर्तकता नै हामीले गर्नुपर्ने मुख्य काम हो । त्योभन्दा जटिल दायित्व के–के गर्नपर्ने हो हामी समेट्दै जान्छौँ ।
जोखिमयुक्त स्थानबाट आएकाहरु सिधै घर–घरमा गएका छन् । यसले झनै जोखिम बढाएको छ । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा चासो किन नदिनुभएको ?
– क्वारेन्टिन र आइसोलेसनका कुरा के भो भने, अहिले मानिसहरु आफैं सचेत र स्वाबलम्वी छौँ भन्ने स्थिति सिर्जना भयो । पहिला लकडाउन हुन्थ्यो र जो मान्छे आउनु पर्ने हो, कुन सवारी साधनबाट आउँछन् भन्ने थाहा हुन्थ्यो । उसले आउँदा–जाँदा अनुमतति लिएको हुन्थ्यो । उनीहरुलाई हामीले क्वारेन्टिनमा राख्थ्यौँ । पीसीआर परीक्षण भएपछि मात्रै घर पठाउथ्यौँ । अहिले यातायातमा त्यति सतर्कता, सचेतता र अभिलेखीकरण छैन् । कहाँबाट आउँछन् र जान्छन् भन्ने कुरा नभएको कारण मानिसहरु घर आउने बस्ने क्रम चल्याछ । बिरामी भइसकेसी मात्रै हामीलाई जानकारी आउँछ । सकेसम्म होम क्वारेण्टिन, होम आइसोलेसन बस्ने भन्ने सरकारको नीति छ । कडा लक्षण देखिएका र स्वास्थ्यमा कठिन समस्या भएका मात्रै हस्पिटल जानकारी आउँ नत्र नआऊ भनेको हुनाले हामीलाई पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । हामी क्वारेण्टिन लागि तयार छौँ । क्षेत्री समाजको भवनमा ७० वटा बेड तयार छन् । करिब १० लाख खर्च गरेर नगरपालिकाले भवनलाई मर्मत सम्भार गरेर ६ महिनादेखि त्यसको साँचो राखेका छौँ । तर, त्यो क्वारेन्टिनमा बस्ने मान्छे पाइराख्या छैनौँ ।
व्यासमा त रोटरीले दिएको पीसीआर मेसिन पनि छ । आधा वर्षसम्म पनि सञ्चालानमा ल्याउन सक्नुभएन् नि?
– एउटा त यो पीसीआर मेसिन कुनैपनि हस्पिटलहरुले स्वीकार गरेको अवस्था रहेनछ, हामीलाई त्यो थाहा भएन् । यो मेसिन प्रदान गर्नुभयो रोटरीका साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु । तर, के भो भन्दा त्यसलाई जडान गर्दा प्रयोगशाला भवन अलग्गै चाहिने । त्यसपछि अहिले हामीसंग भएको जनशक्ति भन्दा अलि उच्चस्तरको जनशक्ति, सिफ्टवाइज चाहिने र एक घण्टा अर्थात् एकपटकमा जम्मा ८ जनाको मात्रै पीसीआर हुनसक्ने भन्ने अवस्था भएपछि व्यवस्थापन गर्ने प्रयत्न पनि ग¥यौँ । जडान गर्दा नै ५० लाखको हाराहारीमा खर्च हुन सक्ने भन्ने जानकारी प्राप्त भएपछि आर्थिक स्रोतको समस्या भयो । मेसिन लिन त लियौँ तर अहिले तुरुन्तै जडान गर्ने क्षमता भएन् । यो प्रक्रिया सुरु भएपछि फेरि बाढी पहिरोले करिब ३–४ करोडकै धक्का हान्यो । त्यसले गर्दा पनि हामीले पीसीआर मेसिन सञ्चालन गर्न नसकेका हौँ ।
भनेपछि तत्कालै सञ्चालनमा आउदैन् ?
– तुरुन्तै आउदैन् होला, सायद । कुनै हस्पिटलले लिन चाहनछन् भने हामी प्रदान गर्न तयार छौँ । जिपी कोइराला हस्पिटलले पनि लिन मानिराख्या छैन् । यहाँ दमौली हस्पिटलले नि मानेको छैन् । त्यसलाई भवन नै छुट्टै चाहिने । सुरक्षा व्यवस्था मिलेन भने संक्रमण सर्ने डर हुने र सञ्चालन खर्च चर्को लाग्ने भएकाले सञ्चालनमा कठिन भइरहेको छ ।
कोरोना कहरले व्यासको विकास निर्माणमा कत्तिको असर पारिरहेको छ ?
– एकदमै असर पारेको छ । कस्तो खालको असर पारेको छ भने –एकातिर ठेक्का टेन्डरहरु गरेका विकास निर्माणका काम समयमै सम्पन्न गर्न सकेका छैनौँ । गएको वर्ष त कामदारहरु नै घर फर्कने स्थिति सिर्जना भयो । त्यसो हुँदा काममा ढिलाइ भएको छ । अर्को चाहिँ हामीले विनियोजन गरेको योजनामा जुन स्रोतबाट पैसा आउँछ भनेका थियौँ, आएन् । नेपाल सरकारले गएको वर्ष राजस्व बाँडफाडबाट दिने भनेको करिब ८ करोड बजेट नै पाइएन । ३ करोड आन्तरिक आम्दानी कम भयो । करिब ११ करोड बराबरको गएका वर्षका क्रमागत योजनाको भारी बोकेर आउँदा यो वर्ष पनि कोरोनाको कहर छ । योजना बाँकी नै रहँदा एक त आर्थिक स्रोतका कारणले असर प¥यो । अर्को जनशक्तिका कारणले समयमै काममा लगाउन नसक्ने अवस्थाले ढिलाई भएर असर परेको स्थिति छ ।
प्रसंगलाई बदलौँ, तपाईंले व्यास नगरपालिकाको बागडोर सम्हालेको ४ वर्ष पुग्दैछ । यो अवधिमा गर्व गर्न लायक उपलब्धी केही भए ?
– व्यास नगरपालिकाले गर्व गर्न लायक यी काम गरे भन्नुभन्दा पनि नगरबासीले के कस्तो महशुस गर्नुभएको छ, त्यो मुलभूत कुरा हो । व्यास नगरपालिकाको तर्फबाट जति पनि विकासका योजना शुभारम्भ ग¥यौँ, सानो स्केलमै केन्द्रीत भएका छौँ । सानो स्केलमा केन्द्रीत हुनु भनेको हामीले वडाहरुलाई करिब एक करोडदेखि डेढ करोडको हाराहारीमा बजेट विनियोजन भएको छ । सबै वडालाई अहिलेसम्म समान व्यवहार गरेर ठूलो– सानो अथवा आम्दानी दिने नदिने जुनसुकै वडा भएपनि विकास अभियानमा बजेट सकेसम्म समान हिसाबले वितरण गरेका छौँ । चार वर्षको अवधिमा मासिक दुईवटा बैठक आयोजना गरेका छौँ । समयमै नगरसभा गरेका छौँ । यी काममा कहीँ पनि बाधा, विरोध, अवरोध भोग्नु परेन । कतिपय पालिकामा त्यस्ता पनि समस्या आएको देख्दछौँ । अहिले हामीले गौरव गर्न लायक भनेर एकीकृत विकास योजनाहरु निर्माण भइरहेका छन् । मानुङलगायतका स्थानमा पर्यटन प्रवद्र्धनमा हामीले महत्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ । मादी नदीको १८ किलोमिटर दूरीमा अध्ययन सुरु गरिराखेका छौँ । दमौली नजिकै मादी पुलभन्दा तल कृत्रिम ताल निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना छ ।मादीमा मानुङको जस्तै अवस्था सिर्जना गर्ने, व्यास परासर क्षेत्रको विकास अभियानलाई अगाडी बढाउने, व्यास–१० मा नारेश्वर ताल निर्माण गर्नेजस्ता महत्वपूर्ण योजना थालनी गरेका छौँ । हामीले गर्न चाहेको कृषि, पर्यटन र शैक्षिक गतिविधिमा थुप्रै उपलब्धि हासिल गरेका छौँ । र आधारभुत स्वास्थ्य केन्द्र ६ वटा वडामा थिएनन् । त्यहाँ स्थापना गरियो । खानेपानीको आवश्यकतालाई सकेसम्म पूरा गर्ने हिसाबले एक घर एक धारा अभियानलाई नगरपालिकाभर नै विस्तार गरेका छौँ । तसर्थः तत्काल नागरिकले अपेक्षा गरेका कार्यलाई अगाडी बढाएका छौँ । करिब–करिब २५ किलोमिटरको हाराहारी हामीले बाटो कालोपत्रे पनि गरेको स्थिति छ । खेल मैदानहरु निर्माण हँुदैछन् । दमौली सेन्टल पार्क भनेर निर्माण गर्न चाहिरहेका छौ । कुहिने र नकुहिने फोहरको व्यवस्थापन गरेर फोहोर व्यवस्थापन गर्न सफल छौँ । हामीले छोड्ने बेलासम्म फोहोर मैलाको व्यवस्थापनको स्थायी समाधान हुन्छ । बधस्थल पनि निर्माण गर्न सफल भयौँ । अनगिन्ती कार्यहरु हामीले गरेका छौँ । सानातिना काममा हाम्रो ध्यान केन्द्रीत छ । १५ वर्षसम्म जनप्रतिनि नभएकोे, आम्दानी केही नभएको र सातवटा त गाउँपालिका थएिको नगरको सन्तुलित विकास गर्नुपर्ने दायित्व हामीले निभाएका छौँ ।
तपाईंले गरिरहेका काम जनअपेक्षित थिए त ?
स्थानीय तहबाट कति धेरै अपेक्षा भएको थियो, त्यो उहाँहरुको कुरा हो । मलाई के लाग्छ भने– संघ, प्रदेश र स्थानीय तहका अधिकार बाँडफाँड र समन्वयको क्षेत्रमा भएका जति पनि व्यवस्थाहरु छन्, कतिपय संघीय कानुन आइनसकेकाले अवरुद्ध भएका छन् भने अर्कोतर्फ प्रदेश ऐनहरु नबनेको कारणले हामी अड्किएका छौँ । जस्तै, शिक्षा क्षेत्रमै आवश्यक कार्यहरु गर्न सकेनौँ । शिक्षालाई हामीले प्राथमिकतामा राख्यौ तर, शिक्षकहरुको दरबन्दी, सरुवा, बढुवादेखि लिएर सबै कुरामा संघसँगै बढी जोडिनुपर्ने भयो । त्यसो भएर संघ र प्रदेशसँग जोडिएका कतिपय नीतिगत कुराहरु समयमै क्लियर भएर नआउँदा हामीले काम गर्न सकेनौँ होला ।अर्कोतर्फ, समय बदलिँदै जाने क्रममा नागरिकका अपेक्षाहरु अत्यन्त धेरै हुन सक्छन् । ती सबै कुरा अहिले नै सम्बोधन हुन्छ भन्ने थिएन् । संघ, प्रदेश र स्थानीय तहको नीतिगत कुरा समयमा स्पष्ट नहुँदा, कानुनहरु नआउदा संघ र प्रदेश मातहतमा पुरानै संविधानका आधारमा बनेका पुरानै ऐनमा केन्द्रीत हुँदा हामीले गर्न चाहेका ठोस कार्यहरु भने गर्न सक्ने स्थिति भएन् ।
संघ, प्रदेश र स्थानिय सरकारको तालमेल नमिलेको भाव तपाईले नै व्यक्त गर्नुभयो । कर्मचारी र जनप्रतिनिधिबीचको तालमेल चाहिँ कत्तिको मिलेको छ ?
–हिजो को कस्तो थियो भन्नु भन्दा नि आज उसको प्रतिवद्धता र इमान्दारिता कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । तसर्थ, हामीले कुनै आग्रह पुर्वाग्रह विना सबै कर्मचारीको क्षमतालाई सदुपयोग गर्ने प्रयत्न गरेका छौँ । स्थानीय तहमा संघ र प्रदेश सरकारबाट आउने, जिल्ला विकास समितिबाट समायोजन भएर आएका कर्मचारी, वर्षौंदेखि हाम्रो यहीँ रहेका कर्मचारी हुनुहुन्छ । ३/४ थरीका कर्मचारी हुनुहुन्छ । करारमा रहेका कर्मचारी ठूलै संख्यामा हुनुहुन्छ । अहिले हामीलाई कर्मचारी स्थायी गर्ने, प्रमोशन गर्ने अधिकार दिइएको छैन् । कर्मचारीसँगको हाम्रो तालेमेलको प्रयत्न गरेका छौँ । तर, कर्मचारीको क्षमता बदलिँदो समय अनुसार विकास गर्न सकेका छैनौँ । कहाँ के ताल मिलेको छैन् ।





