बागलुङ, २२ वैशाख– बाहिरबाट आउनेको खोजपड्ताल गर्नका लागि अघिल्लो वर्ष बागलुङ प्रवेशद्वार मालढुंगामा हेप्लडेस्क राखिएको थियो । उक्त डेस्कमा हरेक मानिसले आफ्नो विवरण टिपाएर जिल्ला प्रवेश गर्थे ।
बडिगाड गाउँपालिकाको खरवाङमा पनि यस्तै डेस्क थियो । दुवै डेस्कमा राखिएका विवरणको आधारमा बाहिरबाट आएका मानिसको पहिचान हुन्थ्यो । कोरोना संक्रमण देखिएमा उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ पनि गरिन्थ्यो । तर यो वर्ष हेल्थडेस्क नराख्दा विदेशबाट आएका मानिससमेत निस्फिक्री घुम्ने मौका पाए ।
उनीहरु घुम्ने मात्र हैन ग्रामीण बस्तीसम्म कोरोना संक्रमण फैलनुमा सुरुवातमै गरेको लापरबाही कारक बनेको छ । अहिले परीक्षण गरिएका स्वाबमध्ये झण्डै ५० प्रतिशतमा संक्रमण देखिन थालेको छ । यो डरलाग्दो अवस्था हो, तर अझैपनि नियन्त्रणका लागि फिलतो व्यवस्थापन देखिएको नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठले बताए ।
‘जिल्ला प्रवेशद्वारमा कडाई नभएपछि जिल्लाभरको संक्रमण फैलिन्छ, त्यसका लागि प्रशासन गम्भिर देखिएन’ श्रेष्ठले भने, ‘व्यवसाय बन्द गरिदेउ भन्न जाने की प्रशासनले पहिलेदेखि चासो राख्ने ?’ सरकारले बैसाखको पहिलो साताबाटै विदेशबाट आउनेको निगरानी राखेको भए संक्रमणको जोखिम नहुने उनले बताए ।
पहिलो चरणमा बलेवा क्षेत्रमा फैलिएको संक्रमण समेत भारतबाट आएर निस्फिक्री घुम्नेहरुको कारणले भएको स्वास्थ्यकर्मीले बताए । ‘भारतबाट आएकाहरुले स्वास्थ्य मापदण्ड पालना गरेको भए बालबालिकामा सर्ने थिएन’ स्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मीले भने, ‘विद्यालयमा देखिएकोले बलेवा चासो भयो, गाउँ गाउँमा जानेको खोजी नै भएन ।’ समयमा हेल्थडेस्क राख्न सकेको भए यो अवस्था नआउने उनको भनाई छ ।
हेल्थडेस्क राख्नका लागि स्वास्थ्यकर्मीले चाहेर मात्रै हुँदैन । एकदुई जना स्वास्थ्यकर्मी बसेपनि प्रहरी, प्रशासन र सेनाको टोली खटिनुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । प्रमुख जिल्ला अधिकारीले भने साताअघिदेखिनै बाहिरबाट आएका सवारीमा सोधीखोजी भेरहेको दाबी गरे । ‘सबै कुरा सर्वसाधारणलाई नभनेको हो, हामीले नियमित सोधीखोजी गरेका थियौं’ प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, ‘हेल्थडेस्क राख्दा भीड हुने भएकोले नराखेको हो ।’ ज्वरो नाप्ने, नाम टिपाउने जस्ता कामले झन भिड भएर जोखिम बढ्ने उनले टिप्पणी गरे ।
दिनदिनै संक्रमित थपिएपनि बागलुङमा एउटा पनि क्वारेन्टाइन बनेको छैन । घरमा बिरामी भएर बसेको मानिसले जानकारी दिएर स्वाब परीक्षण गर्न खोज्दा मात्रै संक्रमित भेटिने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । ‘क्वारेन्टाइनमा परीक्षण गर्न पाए सजिलै संक्रमित भेटिन्छन्, घरभित्र बसेकोलाई कसरी परीक्षण गर्नु ?’ नगर स्वास्थ्य शाखा बागलुङका डिल्ली आचार्यले भने, ‘जटिल बिरामी भएर आउनेबाट मात्रै संक्रमण थाहा पाउने अवस्था भयो ।’ अघिल्लो वर्षझै कन्ट्रायाक्ट ट्रेसिङ अहिले नभएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा पीसीआर परीक्षणको किट बढाउनु पर्ने माग उठेपनि त्यसको खोजी तथा ल्याउने काम नभएको हो । प्रजिअ कार्कीका अनुसार जिल्लामा ५ सयवटा पनि किट छैनन् । व्यवसायीले समेत किट बढाएर परीक्षणको दायरा बढाउन माग गरेका थिए ।
‘कम्तिमा एक हजारदेखि दुइहजार किट ल्याएर राखौं, परीक्षणको दायरा बढाऔं भनेको हो, चासो नदिएजस्तो लाग्यो’ बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले भने, ‘काम गरिरहेको छु भनेपनि परिणाममा के भयो भन्ने देखिएको छैन ।’ दैनिक दुईतीन सयको पीसीआर गरेमात्रै छिटो संक्रमित भेटिने र सर्ने दर घटाउन सकिने उनले सुझाव दिए ।
निशेधाज्ञा पनि फितलो, अनुगमनको माग ।
चौबिस घण्टा समय दिएर प्रशासनले निशेधाज्ञा लगाएपनि मंगलबारदेखि नै फितलो देखिएको छ । अत्यावस्यक बाहेकका सवारी साधन र मानिससमेत घर बाहिर निस्केको टिप्पणी बढेको छ ।
बिहान ६ बजेदेखि लागू गरिने भनेपनि १० बजेसम्म मानिसले नियमित काम गरिरहेका थिए । अत्यावश्यक सामाग्रीको पसल खोल्ने भनेपनि फेन्सी लगायतका व्यवसाय, ट्याक्सी, जिप र बस मात्रै चलेका थिएनन् ।
कोरोनाका संक्रमित बढ्दै गएपछि बागलुङ उद्योग बाणिज्य संघ र स्थानीय पालिकाको सिफारिसमा निशेधाज्ञा लगाइएको हो । तर स्वास्थ्य मापदण्ड पालनामा अझै कडाइ हुन सकेको छैन । अधिवक्ता राम शर्माले सामाजिक संजालमार्फत निशेधाज्ञा फेन्सी पसलका लागि मात्रै हो ? भनेर प्रश्न समेत गरेका छन् । तर पनि निशेधाज्ञाका कारण बागलुङ बजारमा भने छिटफुट सवारी गुडेका थिए । अत्यावस्यक सेवाका सवारी साधनबाहेक सडकमा केही नगुडेको प्रहरीले बतायो । ‘ढिलासम्म खुलेका सटर बन्द गराउन प्रहरी परिचालन भएको छ’ ट्राफिक प्रहरी प्रमुख शिवराज पाठकले भने, ‘कार्यालय खुलेकोले जाने आउनेहरु हिँडेका थिए ।’
जिल्ला सुरक्षा समितिले नामै तोकेर अत्यावस्यक सेवा छुट्टयाए पनि ती सेवाको प्रभावकारी अनुगमन बढाउनु पर्ने शर्माले टिप्पणी गरेका छन् । मंगलबारदेखि वैशाख ३१ गतेसम्म दश दिनका लागि निशेधाज्ञा जारी भएको र पहिलो दिन कतिपयले जानकारी नपाएको हुनसक्ने प्रजिअ शिवकुमार कार्कीले बताए ।
निशेधाज्ञामा बैंक तथा वित्तिय संस्था दैनिक ११ देखि १ बजेसम्म मात्रै खोल्ने निर्णय भएको छ । वित्तिय संस्थामा सहकारीलाई नराखिएको टिप्पणी समेत छ । ‘साधारण जनताको सहकारीमा खाता छन्, उनीहरुको हितमा निर्णय भएन’ एक सहकारीका सदस्यले भने, ‘अत्यावस्यक कामका लागि पैसा झिक्ने काम सहकारीलाई पनि दिनुपर्छ ।’ त्यसबाहेक मंगलवारबाट अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा बाहेक अन्य इजलास बन्द भएका छन् ।





