बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कोरोना भाइरसको दोस्रो प्रकोप : कुन अवस्थामा अस्पताल जाने ?

कोरोना भाइरसको दोस्रो प्रकोप : कुन अवस्थामा अस्पताल जाने ?


  • कृष्ण कुमार सैजु
  • बैशाख २४ २०७८, शुक्रबार

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही सातायता कोभिडका बिरामी र मृत्यु हुने मानिसको संख्या ह्वात्तै बढेको देखिन्छ । संक्रमणको यो दोस्रो लहरमा बालबालिका र वृद्धवृद्धा तथा युवायुवतीहरू पनि संक्रमित भएको देखिन्छ ।
प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको अवस्था र अस्पतालहरू भरिभराउ भएका विवरणहरू आइरहेको बेला कोभिड–१९ बारे जान्नैपर्ने महत्वपुर्ण कुराहरू यहाँ प्रस्तुत गरिएको छ । कृपया तपाइकै लागि हो झन्झट नमानी पढनुहोला ।
अहिले देखिएको कोभिडका लक्षण कस्तो छ ?
कोरोना भाइरसका बेला देखिने लक्षण अरू संक्रामक रोग खागसरी फ्लू अथवा रुघाखोकीसँग मिल्दोजुल्दो हुन्छ । त्यसैले सहजै रूपमा कोभिडका लक्षण यिनै हुन् भन्न सकिने अवस्था छैन । खोकी लाग्ने, जीउ दुख्ने, सास फेर्न अप्ठेरो हुने जस्ता कोभिड–१९ का मुख्य लक्षण हुन् । तर यी लक्षणहरू अरू रुघाखोकी जस्ता संक्रामक रोगसँग मिल्ने हुँदा यसलाई (कोभिडमा) छुट्याउन सकिने भनेको स्वाद र गन्ध थाहा नपाउने हो । त्यो विशेषता नै हो । अरूमा चाहिँ कमै हुन्छ ।
हाल विभिन्न देशमा गन्धको परीक्षण गर्ने विधि ल्याउन लागिएको छ । लक्षणकै आधारमा कहिलेकाहीँ कोभिड भए नभएको छुट्ट्याउन गाह्रो हुने हुँदा बिरामी परेका व्यक्तिको यात्राको इतिहास पनि जान्न जरुरी हुन्छ । कोरोना भाइरस संक्रमण व्याप्त रहेका ठाउँहरूमा पुगेका वा आफूसँग सम्पर्कमा रहेका व्यक्ति कसैमा कोरोना भाइरस पुष्टि भए नभएको विषयमा जानकारी राख्नुपर्छ । तर हाल संक्रमण व्याप्त रहेको स्थानमा आफूलाई थाहा नभईकनै वा आफू कोरोना भाइरस फैलिएको ठाउँबाट आएको पनि होइन भने त्यो अवस्थामा पुष्टि गर्नका लागि परीक्षण नै गर्नुपर्ने हुन्छ ।
नेपालमा देखिएका नयाँ भेरिअन्टले कोभिडको लक्षणमा फरक पार्छ ?
नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलनुमा यूके भेरिअन्ट मुख्य जिम्मेवार भएको गत अप्रिल महिनामा बीबीसीसँग स्वास्थ्य अधिकारीहरूले बताएका थिए । संसारमा फैलिरहेको यूके भेरिअन्टसहित भारतमा देखापरेको डबल म्यूटन्ट भेरिअन्ट पनि यहाँ भेटिएको उनीहरूले बताएका छन् ।
कोभिडबाट बिरामी भएका कतिपयले शरीर रातो हुने, छाला चिलाउने वा पखाला लाग्ने भन्ने कुराहरू गरिरहेको मैले सुनेको भएपनि यी कोभिडको विशिष्ट किसिमका लक्षण भने होइनन् । अहिले पनि अस्पताल भर्ना हुन आएका बिरामीहरूमा सास फेर्न गाह्रो हुने, ज्वरो र खोकीजस्ता लक्षण नै देखिने गरेको चिकित्सक मित्रहरू बताइरहनु भएको छ । भाइरल संक्रमण र स्वाइन फ्लूका बेला समेत सामान्यतया जीउ चिलाउने, आँखा रातो हुने र पखाला लाग्ने हुने ठम्याइएको भएपनि यी लक्षणले नै कोरोना भए नभएको स्पष्ट भने हुँदैन ।
कस्तो अवस्था आए अस्पताल जाने त ?
कोरोना भाइरस संक्रमणका कारण संघीय राजधानी काठमाण्डौसहित मुलुकका विभिन्न स्थानमा अस्पतालहरू भरिएको र बिरामीले शैया पाउन गाह्रो भएको गुनासाहरू आइरहेका छन् ।
कतिपय कोभिडका बिरामीहरू घरमै बसिरहेका छन् । उसो भए कस्तो अवस्था आए अस्पताल जाने त भन्ने बिषयमा संक्रमित वा बिरमीहरू दोधारमा हुनसक्छ । पल्स अक्सिमिटर उपकरणको सहयोगमा घरमै शरीरमा अक्सिजनको तह कति छ भन्ने कुरा बिरामीहरूले गर्नुपर्ने हुन्छ ।
अस्पताल जानुपर्ने नजानुपर्ने एउटा एकदम ‘क्रिटिकल डिसिजन’ (संवेदनशील निर्णय) भनिन्छ, त्यो त्यसले (अक्सिमिटर) देखाउँछ । अर्को कुरा त्यो (अक्सिमिटर) कसैसँग भएन भने श्वासप्रश्वासमा समस्या हुने, अत्यधिक खोकी लागेको लाग्यै गर्ने, बान्ता आउन थाल्यो, पखाला लागेको लाग्यै ग¥यो भने उहाँहरू अस्पताल पुग्नुपर्छ वा कम्तीमा पनि चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।
कोरोना भाइरसको संक्रमण जटिल चरणमा जाँदा अक्सिजन कम हुन्छ । अक्सिजन कम हुँदा निश्चित उपचार सुरु गर्नुपर्ने हुन्छ । त्यसै कारण कोरोना भाइरस पोजिटिभ हुने बित्तिकै हामी बिरामीलाई शरीरमा अक्सिजनको तह नाप्न सिक्नुपर्छ । सामान्यतया पल्स अक्सिमिटरले अक्सिजन नाप्दा तह ९५ देखि ९६ हुन्छ । अझै समुद्री सतहबाट उचाइ बढी भएको स्थानमा अक्सिजनको तह ९६÷९७ भन्दा प्रायः बढी हुंदैन ।
धेरै मोटा मान्छेहरू अथवा फोक्सोको, दमको रोग भएका मान्छेहरूमा पहिले नै अक्सिजनको मात्रा पल्स अक्सिमिटरले कम देखाउन सक्छ । उहाँहरूका लागि सामान्य अंकनै ९२–९३ हुन सक्छ । कसैको ९० मात्र पनि हुन सक्छ । कोरोना भाइरस लागेका कतिपयमा भाइरल निमोनिया पनि देखिने गरेको पाइएको भएपनि त्यसलाई कुनै एन्टिबायोटिक वा अन्य उपचारबाट निको पार्न नसकिने अवस्था आउन सक्छ । भाइरल निमोनिया भएका अधिकांश मानिसहरूको शरीर आफैँले प्रतिरोध गर्ने गर्छ ।
औषधि सेवन कसरी गर्ने ?
कोभिडबाट बिरामी भएकाहरूले घरमै बस्दा सिटामोलसहित छातीमा संक्रमण नहोस् भनेर विभिन्न औषधि सेवन गरिरहेको विवरणहरू आइरहेका छन् ।
खासगरी सामाजिक सञ्जालमार्फत् कोभिडका बेला निश्चित किसिमका समस्या हुँदा सेवन गर्न सकिने औषधि भनेर सूची नै सार्वजनिक भइरहेको पाइन्छ । तर चिकित्सकहरूको सुझावबिना कुनै पनि औषधि प्रयोग गर्न हुँदैन ।
भाइरल संक्रमणका क्रममा केही दिनसम्म समस्या आउन सक्ने सम्भावना रहने हुँदा कुनै पनि औषधि आवश्यक भएको वा आफ्नो स्थिति जटिल भएजस्तो लागेको खण्डमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
कसैले भनेकै आधारमा औषधी नखानुहोस् । एउटा फर्म्याट जस्तो सामाजिक सञ्जालमा घुमिरहेको देख्छु । यो कतिपयले खाँदा फाइदाभन्दा पनि बढी मात्रामा बेफाइदा हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्था नआओस् जसले गर्दा कोरोना भाइरसले होइन कि स्वयं त्यो औषधि खाँदा नकारात्मक परेर बिरामी हुनु नपरोस् ।
कोभिडका स्पष्ट लक्षण हुँदा परीक्षण गर्न जरुरी छ कि छैन ?
कोरोना भाइरसका बिरामीहरू तीव्र गतिमा बढिरहेका स्थानहरूमा कोभिडका लक्षण भएका कतिपय सर्वसाधारणहरूले परीक्षण नगरी घरमै आवश्यक मापदण्ड पु¥याएर बसिरहेको विवरणहरू सार्वजनिक भएका छन् ।
एउटै परिवारमा धेरै जनामा समान लक्षण देखिँदा एक जना वा दुई जनाले परीक्षण गर्ने कतिपयले गरेको र कतिपयलाई पटकपटक परीक्षण गर्न आर्थिक रूपमा अप्ठेरो हुने हुँदा उनीहरूले आफ्नै निवासमा सावधानी अपनाएर बसिरहेको बताइन्छ ।
अत्यधिक मात्रामा कोरोना भाइरस फैलिएको स्थानमा आफू पनि संक्रमित भएजस्तो महसुस भए १४ दिन एकान्तवास अर्थात् आइसोलेशनमा बस्न उचित हुन्छ ।
भारतपछि नेपालमा जुन हिसाबले कोरोना भाइरस फैलिएको छ कसैलाई रुघाखोकीको जस्तो लक्षण, स्वाद अनि गन्धमा समस्या आइसकेको अवस्था भए र परीक्षण गर्ने अवस्था नरहे वा नचाहे स्वयम् एकान्तवासमा बस्नुपर्छ । स्वास्थ्य मन्त्रालयले पनि आफूमा कोरोना भाइरस संक्रमणको लक्षण भए जस्तो शंका हुनासाथ क्वारन्टीनमा बस्नुपर्ने बताउँदै आएको छ । कोरोना भाइरसको लक्षण भएपनि नतिजा नेगटिभ भने आउन सक्ने सम्भावना रहन्छ ।
नेपालमा अहिले पनि १०० मा १०० नै संक्रमण पुष्टि गर्न सक्ने प्रविधि छैन । अहिले भएकामध्ये सबैभन्दा विश्वसनीय भनेर आरटी–पीसीआरलाई लिईन्छ । यसले पनि १०० मा १०० नतिजा दिने होइन । यसमा संक्रमण भएका व्यक्तिमा पनि पुष्टि गर्न नसक्ने खालको केही संख्या हुन सक्छ । त्यस्तो अवस्थामा हामीमा लक्षण विकास हुन सक्ने र हामीले अरूलाई संक्रमण सार्न सक्ने सम्भाबना प्रबल रहन्छ ।
अन्तमाः कोरोना भाइरस सम्पुर्ण मानाव जगतको लागि उत्तरबिनाको प्रश्न जस्तै भइरहेको छ । कोरोनाको एक मात्र अचुक उपचार भनेकै सामाजिक दुरी कायम गरी बाहिरी बस्तु वा संक्रमित बस्तु÷ब्यक्तिको सम्पर्कबाट टाढा रहनु हो । त्यसैले लकडाउन सरकारको लागि होईन तपाईको लागि हो जस्लाई उल्लंघन होइन समर्थन गरौ घरभित्रै बसौं, आफु पनि बचौं र अरूलाई पनि बचाऔं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->