
बागलुङ, ३० वैशाख– बागलुङको ढोरपाटन नगरपालिका–९ साविकको बोबाङ गाउँ विकास समितिका पूर्व अध्यक्ष शेरमान घर्तिको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारत उनको बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देव प्रकाश घिमिरिले बताए ।
उनमा कोभिड निमोनियाको समस्या थियो । कोरोनासँग मिल्दाजुल्दा समस्या देखा परेपछि उनलाई केही दिनअघि अस्पताल ल्याईएको थियो । उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टीको नेतासमेत थिए । एमाले र माओवादी केन्द्र छुट्टिएपछि भने उनी कतै नखुलेको बुझिएको छ । प्रदेशसभा उपनिर्वाचनको समयमा बागलुङ क्षेत्र नं. २ (ख) प्रदेसभा सदस्यमा उनले बागी उम्मेदवारी समेत दिएका थिए । बागलुङको पश्चिम क्षेत्रमा उनी लोकप्रिय नेताका रुपमा चिनिन्थे ।
यस्तै, बागलुङमा बिहिबार नै अर्का एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका गलकोट नगरपालिकाका–२ का ५२ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलका अनुसार उनमा कोभिड निमोनियाको समस्या थियो । केही दिनदेखि उनको स्वास्थ्य अवस्था स्थिर थियो ।
बिहिबारै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धौलागिरी अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि लामो समय उनी अस्पताल आएका थिएनन् । श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधबार स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । रिपोर्ट आउने समयमा उनको उपचारको क्रममा मृत्यु भएको सो्रतव्यक्ति घिमिरेले बताए ।
‘अक्सिजनको मात्रा निकै कम भएपछि उहाँ अस्पताल आउनुभयो’ अस्पतालमा प्रमुख डा. पोखरेलले भने ‘पछिल्लो समय अस्पताल आउने बिरामी निकै गलेपछि आउने गरेका छन् ।’ समयमा अक्सिजन दिन सकेको भए बिरामी बच्न सक्ने सम्भावना रहेने उनी बताउँछन् । बागलुङमा बिहिबार मृत्यु भएका पुरुषसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।





