शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरमा कोरोना : महिना दिनमै दोब्बर !

नवलपुरमा कोरोना : महिना दिनमै दोब्बर !


  • खगेन्द्र पराजुली
  • जेष्ठ १ २०७८, शनिबार

नवलपुर, १ जेठ– नवलपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । कोरोना संक्रमणको पहिलो चरणमा ३२ जना र नयाँ भेरियन्टसहितको दोस्रो चरणमा थप १८ जना गरी कोरोना संक्रमणबाट नवलपुरमा हालसम्म ५० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
बैशाख महिनामा मात्रै जिल्लाको गैंडाकोट र देवचुलीका ४÷४ जना, कावासोतीका ६, मध्यबिन्दुका २, विनयीत्रिवेणीका १ र नवलपुरमै अस्थायी बसोबास गर्ने धादिङका १ गरी १८ जना संक्रमितको मृत्यु भएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ ।
दोस्रो भेरियन्ट सुरु भएयता हुप्सेकोट, बौदीकाली र बुलिङटार गाउँपालिकाका संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कोरोना संक्रमणबाट अधिकांशको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको भए पनि केही व्यक्तिहरुको भने उपचार गर्न लैजाने क्रममा र आइसोलेसनमा बसेकै अवस्थामा मृत्यु भएको छ ।
कोराना संक्रमितको संख्या
स्वास्थ्य कार्यालय नवलपुरको तथ्यांकअनुसार नवलपुरमा शनिबारसम्म कुल सक्रिय संक्रमितको संख्या १ हजार ८६ छ । बैशाख लागेयता एक महिनाको अवधिमा १ हजार ४ सय २३ जनामा संक्रमण पुष्टि भएकामा ३ सय १९ जनालाई कोरोना निको भएको विवरणमा उल्लेख गरिएको छ ।
स्वास्थ्य कार्यालयको आधिकारिक विवरणअनुसार दोस्रो लहरमा गैंडाकोटमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । विवरणका आधारमा गैंडाकोटमा ५५५, कावासोतीमा ३५८, देवचुलीमा १५६, विनयी त्रिवेणीमा १४२, मध्यविन्दुमा ११६, हुप्सेकोटमा ४०, वौदीकालीमा २६, बुलिङटारमा ३ र नवलपुरमै अस्थायी वसोवास गर्दै पेशा–ब्यवसाय र मजदुरी गरी बस्ने तर अन्य जिल्लाको ठेगाना भएका २७ जना गरी १ हजार ४ सय २३ जना संक्रमित बनेका छन् । बैशाख २२ गते जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गर्दा ५ सय ६० संक्रमित देखिएको नवलपुरमा ११ दिनमा थप ८ सय ६३ जना संक्रमित थपिएका छन् ।
पहिलो लहरमा चैत्र मसान्तसम्म २ हजार ५ सय २० जनामा र दोस्रो लहरमा १ हजार ४ सय २३ गरेर जिल्लामा ३ हजार ९ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलँदो
गण्डकी प्रदेशको कास्कीपछिको दोस्रो ठूलो जनघनत्व रहेको जिल्ला भएका कारण पनि स्वभाविक रुपमा नवलपुरमा संक्रमित हुनेको संख्या धेरै रहेको छ । पूर्व पश्चिम लोकमार्ग, भारतीय सिमानाको नजिक, बाक्लो बजार र बस्ती, अस्पतालको शहर भनेर परिचित चितवनको भरतपुरका अस्पतालहरु नवलपुरको सवैभन्दा नजिकको पायक पर्ने स्थान भएकाले जुनसुकै बिरामीलाई लैजान–ल्याउनुपर्ने बाध्यता, ठूला–मझौला तथा साना उद्योग–कलकारखानामा काम गर्ने स्थानीय मजदुर दैनिक कारखाना र घर गर्नुपर्ने बाध्यता, संक्रमणको जोखिमलाई वेवास्ता गर्दै विवाह–पूजाका बहानामा र अनावश्यक हिडडुल गर्ने जमात संक्रमणका दृश्य–अदृश्य संवाहकका कारक बनेका छन् ।
यस्तै, पहिलो लहरमा जस्तै स्थानीय तह र प्रशासनले संक्रमण रोकथाम–नियन्त्रण र ब्यवस्थापनमा प्रभावकारी गतिविधी सञ्चालन गर्न नसक्दा स्थिति जटिलतातर्फ गएको छ ।
गतवर्ष संक्रमितलाई संस्थागत आईशोलेशनमा ब्यवस्थापन गर्दा स्थिति नियन्त्रित भएकोमा अहिले सबै संक्रमित होम आईशोलेशनमा बस्दा त्यहीवाट संक्रमण फैलिने अवस्था सिर्जना भएको छ ।
जनशक्तिको अभावमा ३ वटा भेन्टिलेटर प्रयोगविहीन
मध्यविन्दु जिल्ला अस्पतालमा रहेका तीनवटा भेन्टिलेटर जनशक्तिको अभावमा प्रयोगबिहिन छ । ‘‘भेन्टिलेटर चलाउन तालिम प्राप्त प्राविधिक कर्मचारी चाहिन्छ । तर, अस्पतालमा भेन्टिलेटर चलाउने योग्यता पुगेका प्राविधिक कर्मचारी नभएकाले कृत्रिम स्वास दिएर उपचार सेवा दिन अस्पतालले सकेको छैन,’ अस्पताल प्रमुख डा वीरबहादुर थापाले बताए ।
दोस्रो लहरको संक्रमणका कारण तीव्र गतिमा संक्रमित पहिचान हुने र अक्सिजनको सपोर्टमा उपचार गर्नुपर्ने प्रकृतिका बिरामी उल्लेख्य मात्रामा अस्पताल आउन थालेपछि मध्यबिन्दु अस्पतालले भेन्टिलेटरसहितको आइसियू सेवा सञ्चालन गर्न नसके पनि भेन्टिलेटरबिनाको आइसियू सरहको सेवा प्रदान गरेको अस्पतालका कोभिड फोकल पर्सन डा. िशवराज न्यौपानेले जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->