बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

महामारीमा अस्पतालको भोगाई र विपतीको पाठ

महामारीमा अस्पतालको भोगाई र विपतीको पाठ

सरकार ! अव कुनैपनि ढिला नगरी सवै सरकारी, निजी स्वास्थ्य संस्थाहरूलाई राज्यले सञ्चालन गर्नुपर्छ ।


  • हरिनारायण गौतम
  • जेष्ठ ३ २०७८, सोमबार

ब्लग
आजभोली म काम विशेषले मात्रै संघिय राजधानी काठमाडौं जाने गरेको छु । हुन त केही बर्ष अगाडि केही समयका लागि मेरो वसाई पनि राजधानीमा नै थियो । त्यतिवेला म पढाईका लागि अलि वढि समय नै वसेको थिए । त्यो समय मुलुक केन्द्रिकृत राज्यप्रणालीमा थियो । अनि केही समय व्यवसायिक काममा त्यतै रँहे । धेरै जानकारी नराख्ने साथीहरुसंग काठमार्डौमा भेट्दा अहिले पनि उनीहरुको प्रश्न, ‘वसाई त यतै हो नि ?’ हुने गर्छ ।
जिल्लातिर पनि मेरो वसाई कम नै छ । यता भेट्ने साथीहरुको प्रश्न भने अलि फरक हुन्छ । ‘कहिले आउनु भयो ?’ ‘कति दिन छ वसाई ?’ यताको मेरो प्रतिउत्तर भने अलि सहज हुन्छ । किनकी म …दिन अगाडि आएको हुँ …दिनपछि जान्छु भन्न पाउँछु । कारण बागलुङको वसाई मेरो छोटो नै हुन्छ । तर यता पनि कम जानकारी राख्ने साथीहरुले यो काठमाडौंबाटै आएको हो भन्ने ठान्दछन् । कहिले फर्किने प्रश्न तेर्साइहाल्छन् । म प्रदेशको राजधानी पोखरामा वस्छु भनेर धेरैलाई स्पष्टीकरण दिइरहनु पर्छ भन्ने लाग्दैन ।
प्रदेश राजधानी पोखराबाट पनि ढोरपाटन दैनिक प्रकाशन सुरु भएको दुई बर्ष २ महिना बढि भयो । ढोरपाटन पोखरा यात्राको एकवर्षे समिक्षा लगतै गतवर्ष कोभिड–१९ को महामरी सुरु भएको थियो । समिक्षा वैठक सकेर हाम्रो टीम बागलुङ फर्किदा नफर्किदै धौलागिरी अस्पताल चर्चामा थियो । कारण कोभिडको विरामी त्यो अस्पतालमा थिए । त्यसैले सवैको नजर त्यतै थियो । हाम्रा सञ्चार सामाग्री पनि त्यही विषयमा केन्द्रित थिए ।
धौलागिरी अस्पताल, त्यहाँका स्वास्थ्यकर्मी, ब्यवस्थापन समिति र गण्डकी प्रदेशको सक्रियता सवैका लागि प्रशंशायोग्य नै थिए । खबरकर्ममा रहेका सवैले यसको सकारात्मक प्रचार गरे । अस्पतालले केही भौतिक पूर्वाधार निर्माणमा प्रदेश र केन्द्र सरकारबाट राम्रो सहयोग प्राप्त भयो । पहिलो युवतीदेखि ६५ बर्षिया बृद्धसम्मको सफल उपचारले अस्पतालले सवैको मन जित्यो । त्यतिवेलाको सन्नाटामा चिकित्सक र स्वस्थ्यकर्मीको अग्रसरता अनि त्यहाँका सञ्चार माध्यम र सञ्चारकर्मीको खवरकर्मको क्रियाशिलताले ढुक्ककासाथ काम गर्ने वातावरण थियो । विरामीलाई आफै फोन गर्ने प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भौतिक उपस्थितिले सवैको हौसला थपेको थियो ।धौलागिरी अस्पताल बागलुङ ।

अहिले पस्थिति फेरिएको छ । कोभिड–१९को दोस्रो लहरको महामारीले यतिवेला मुलुक नै विक्षिप्त छ । उपचारपछि विरामीलाई निको बनाएर पठाउने अस्पतालबाट दैनिकजसो मान्छेका लासहरु निस्किरहेका छन् । फोन गरेर विरामीलाई ढाडस दिने मुख्यमन्त्री गुुरुङ स्यवम नै आइसोलेसनमा छन् । प्रदेशभर नै अक्सिजनको अभावको अवस्था सिर्जना हुँदैछ । संक्रमितको संख्या दिनदिनै बढेका छन् । नागरिकस्तरबाट निषेधज्ञालाई उलंघन गर्ने प्रयाश रोकिएका छ्र्रैनन् । तर चिकित्सक र स्वास्थ्यकर्मीको धपडी भने कैयौ गुणा वढेको छ । जिम्मेवारी थपिएको छ ।
यी विषयलाई मैले किन उठाइरहेको छु भने कोभिड संक्रमणका कारण अझै भयाभव अवस्था आउदैछ । अस्पतालमा विरामीले शैया (बेड) नपाउने र अक्सिजनको अभावले ज्यान गुमाइरहनुपर्ने अवस्था दैनिक बढिरहेको छ । जिल्ला, प्रदेशमा मात्रै होइन, संघिय राजधानी काठमाडौंमा समेत झन विकराल अवस्था छ । जुन म स्वयमले अनुभुती गरेर फर्किएको छु ।
यो ब्लग लेखिरहदाँसम्म काठमाडौंका कुनै पनि अस्पतालमा कोभिडका विरामीका लागि बेड खाली छैनन् । म पुगेका नर्भिक, ग्रान्डी, शहिद मेमोरियल, चिरायु, मेडासिटी, प्रहरी अस्पताल लगायतका दर्जनभन्दा बढि अस्पतालमा विरामीहरु छिडी र वरण्डामा पालो कुरेर वसेका छन् । कतिपय अस्पतालका इमरजेन्सीमा भर्ना भएका विरामीहरुलाई चिकित्सकहरुले अक्सिजिनसहितको बेड नभएको वताउदै घर फर्किन भनिरहेका छन् । कतिपय अस्पतालले विरामीलाई होल्डिङ सेन्टरमा राखेर अक्सिजन दिइरहेका छन् । अस्पतालमा आएकाभन्दा सयौ गुणा बढि विरामी घरमै छन् । साथीभाइ र इष्टमित्रहरुसंग सम्पर्क हुदाँ अस्पतालमा भन्दा घरमा रहेका विरामीहरुको अवस्था गम्भीर रहेको जानकारी पाईरहेको छु । अक्सिजन सिलिण्डरको अभाव त भनिसक्नु नै छैन् । प्रदेश राजधानी पोखरा र जिल्ला जिल्लामा पनि यही समस्या जटिल वन्दै गइरहेको साथीहरुले सुनाइरहनु भएको छ ।
मैले आफ्नै परिवारको पिडा जानकारीको रुपमा बाँड्न चाहान्छु । सुरुमा भाईवुहारी जयन्तीलार्ई कोभिड संक्रमण देखियो । सुरुको अवस्था सामान्य नै थियो । त्यसको तीन दिनपछि भाई किरणमा पनि पोजेटीभ रिपोर्ट आयो । छोरी र छोरालाई पनि पोजेटीभ नै देखियो । सुरुको अवस्था सामान्य नै थियो । करीव एक हप्तासम्म खासै समस्या थिएन । घरमा नै आइसोलेशनमा थिए । एक हप्तापछि भाई र वुहारी दुवैमा श्वासप्रश्वासमा समस्या देखियो । अक्सिजनको मात्रा घट्दै गएपछि अस्पताल लैजानुपर्ने अवस्था आयो । भाई किरणले वेलुका ८ बजेतिर दाई, समस्या भयो, अस्पताल जानुपर्ने भयो भनेर फोन गरे । कुरा एक हप्ता अगाडिको हो ।
अस्पताल जानुपर्ने, अक्सिजनसहितको वेड चाहिने भयो । मैले चिनेजानेका सवै अस्पतालमा फोन गरे । साथीहरुलाई लगाएर सवैतिर खोज्न लगाइयो, तर कतै पनि वेड पाइने अवस्था देखिएन । विरामीलाई अफठ्यारो भइरहेको थियो । वेड नपाउदाँ हाम्रो भने होसह्वासै उडीसकेको थियो । एकजना जनप्रतिनिधी लगाएर कुरा गरेपछि राती ११ वजेतिर वल्ल प्रहरी अस्पतालले विरामी पठाउनु, हेरौला भन्यो । त्यहाँ पनि वेड थिएनन् । इमरजेन्सी पनि खाली थिएन् । राती ११ बजे एम्वुलेन्स वोलाएर प्रहरी अस्पतालमा पुराइयो । अस्पतालको वाहिरै होल्डिङ सेन्टरमा राखेर अक्सिजन दियौं । अक्सिजन दिएपछि विरामीलाई सहज भयो । अनि वल्ल हामीले शान्तिको सास फेर्यौ ।
राती ३ बजेसम्म होल्डिङ सेन्टरमा राखेर अक्सिजन दिएपछि इमरजेन्सीमा बेड खाली भयो र विरामीलाई त्यता सार्यौं । इमरजेन्सीमा भर्ना भएपछि अलि ढुक्क त भयौं । तर, बेड पाउने नपाउने चिन्ता कायमै थियो । नभन्दै भोलीपल्ट दिउसो १२ वजे अस्पतालका चिकित्सकले इमरजेन्सीका विरामी कुरुवा सवैलाई जम्मा गरेर ‘अव हामी यहाँ राख्न सक्दैनौं, तपाईहरुको विरामी अर्काे अस्पताल खोजेर लैजानु कि घरमै लैजानुस, इमरजेन्सीमा लामोसमय राख्न मिल्दैन’ भनी निर्णय सुनाए । त्यो अस्पतालका सवै बेडमा विरामी भरी थिए । कतिपय विरामीलाई त्यहाँ पनि बाहिर छिडीमा राखेर उपचार गरिरहेका थिए । हाम्रो विरामी घर लिएर आउने अवस्थामा थिएनन् । हामीले भने अघिल्लो साँझदेखि नै अन्य अस्पतालमा पनि बेड खोजिरहेका थियौं तर पाइएको थिएन ।
भाइ ब्यापारिक लाईनको भएकाले ब्यवसायिक साथीहरुको लामो पहल र प्रयत्नपछि चिरायु र नर्भिकमा त्यहाँ भर्ना भएका कोभिडका विरामी डिस्चार्ज भएपछि एक÷एक वटा वेड पाउने भयौं । अनि वल्ल ढुक्क भएर वेलुका ५ वजेपछि वुहारीलाई नर्भिक र भाईलाई चिरायु अस्पतालमा भर्ना गर्यौ । बेडसहित अस्पतालमा भर्नापछि भने हामी वल्ल ढुक्क भयौं । तीन दिनपछि वुहारीलाई नर्भिकबाट डिस्चार्ज भयो, भाइलाई भने पुरा निको नभएकाले चिरायुबाट नर्भिकमा सार्यौं । यतिवेला भाइ किरण पनि डिस्चार्ज भएर घरमा नै छन् । छोराछोरी दुवै पूर्णरुपमा निको भएका छन् । भाइ र वुहारीको दोस्रो रिपोर्ट पोजेटीभ आएपनि स्वास्थ्य अवस्था ठिक छ । घरमै आराम गरिरहेका छन् ।
मैले काठमाडौंको वसाई र पोखरा, बागलुङको सन्दर्भलाई यहाँ किन जोडेको हो भने यो अवस्था यहाँको मात्रै होइन, समग्र मुलुकको अवस्था कुन अवस्थामा छ भनेर निश्कर्ष निकाल्न सकिन्छ भनेर हो । प्रहरी अस्पतालबाट म विदा हुँदैगर्दा विरामी कुरीरहेका एक जना दाईले भन्दै थिए, ‘अब मेरा बा के उपचार नपाएरै मर्नु पर्ने हो त ? हाम्रो धन सम्पत्ति, इष्टमित्र र पार्टी भनेका हाम्रा सुखका मात्रै साथी हुन् त ?’ त्यहाँ मैले पनि गर्न सक्ने कुनै उपाय थिएन् । उनको शब्द सुनेर मन अमिलो मनाउदै विदा भए ।

विरामीले भरिएका अस्पतालका कोभिड वार्ड ।

अहिले धेरै अस्पतालका सञ्चालकहरुले फोन उठाउदैनन् । यदि फोन उठिहाले भने पनि ‘अस्पतालमा वेड छैनन्, आफै सुरक्षित भएर वस्नुहोस’ भन्ने जवाफ मात्रै आउछ । मैले चिनेका अस्पतालकका सञ्चालक, धेरै चिकित्सक, राजनैतिक अगुवाहरु र मन्त्रीतहसम्म विन्ती गर्दा पनि उनीहरुले वेड उपलब्ध गराउन सकेनन् । उनीहरुले ‘सरी वेड त छैनन्’ भन्ने निरीह जवाफ वाहेक अरु दिन सकेनन् । यो मजस्ता सवैको एकैकिसिमको पिडा हो ।
अहिले सरकारी र नीजि दुवैतिरका कोभिड अस्पतालमा बेड त के इमरजेन्सीमा ठाउँ पाउन पनि मुश्किल छ । देशभरकै अस्पतालमा आइसियु र भेन्टिलेटर मात्र होइन, सामान्य बेडको समेत हाहाकार भइसकेको छ । धेरै अस्पतालमा विरामीलाई वाहिर एम्बुलेन्सभित्र राखेर बेडको खोजी भइरहेको छ । इमरजेन्सीमा भर्ना भएका विरामीलाई पनि चिकित्सकले आइसियु बेड भएका अस्पतालमा लैजान दवाव दिइरहेका छन् । तर त्यस्ता बेड भएका कुनै पनि अस्पताल खाली छैनन् ।
यो विचमा म आफैंले अस्पतालहरूमा जुन दृष्य देखेँ र भोगेँ । अव जो लापरवाहीका साथ बाहिर निस्कन्छ, उसले अस्पतालभित्र कुनै ठाउँ पाउने सम्भावना नै छैन । तपाईंहरू जो जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस । सकेसम्म बाहिर ननिस्कनुहोस् । स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईसाथ पालना गर्नुहोस । राज्य पनि अहिले तत्कालै तपाईको लागि केही गर्न सक्ने अवस्थामा छैन् ।
मलाई सम्झना छ, ०७२ को भूकम्प । त्यतिवेला सवै धनी र गरीब एकैठाउँ बाहिर खुला आकासमुनि आइपुगेका थिए । अहिलेको यो महामारीमा पनि त्यस्तै भएको छ । सवै धनी र गरीब एकैठाउँ अस्पताल बाहिर आइपुगेका छन् । राज्यसँग पर्याप्त पूर्वाधार नहुँदा व्यक्ति जति धनी भए पनि त्यो धन आफ्नै ज्यान जोगाउन पनि काम नलाग्ने रहेछ भन्ने कुरा यो महामारीले हामीलाई सिकाइरहेको छ । वास्तवमा ०७२ को भूकम्पबाट सिर्जित महाविपत्ति आकस्मिक थियो । तर, अहिलेको यो महामारी हाम्रो लापरवाहीको पनि एक कारण हो । हामी सवै गम्भीर हुनै पर्दछ ।
अस्पताल वसाईको करीव एक हप्ताको मेरो अनुभवले यति भन्न मन लागेको छ, सरकार ! अव कुनैपनि ढिला नगरी सवै सरकारी, निजी स्वास्थ्य संस्थाहरूलाई राज्यले सञ्चालन गर्नुपर्छ । नागरिकको बाँच्न पाउने मौलिक हक कार्यान्वयनका लागि यसको विकल्प छैन् । शहरमा रहेका भौतिक पुर्वाधारयुक्त सार्वजानिक स्थलहरु, पार्टी प्यालेस, खेलमैदान र सभाहलहरुमा अक्सिजनसहितका आइसोलेसन वार्ड निर्माण गर्नुपर्छ । राज्यको सबै शक्ति यो महामारीसंग जुध्न प्रयोग गर्नुपर्छं । नागरिक पनि यो महामारीबाट बँच्न आफै जोगिनुको विकल्प छैन । सवैले सावधानी अपनाऔं । जीवन वँचाएर मात्रै अरु गतिविधी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->