बागलुङ, १० जेठ– कोरोना संक्रमितको कन्ट्रयाक्टमा आएकाहरुलाई पीसीआर गरेर चेन ब्रेक गर्ने अभियान सुरु भएको छ । बागलुङ नगरपालिका वडा नं.११ रायडाँडामा कन्ट्रयाक्ट ट्रेसिङका ४८ जनाको पीसीआर गरिएको हो ।
आइतवार धौलागिरि अस्पतालमा पुष्टी भएकासहित अहिलेसम्म १३ जना मात्रै संक्रमित भएको रायडाँडामा अन्यत्र संक्रमण नफैलियोस भनेर ट्रेसिङ गरिएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । एक साता अघि १ जनामा मात्रै संक्रमण देखिएको यहाँ सातादिनमा १२ थपिएका थिए ।
त्यसपछि भने वडा कार्यालयको अगुवाईमा संभावित सबैलाई होम आइसोलेसनमा राखिएको छ । ‘ट्रेसिङमा परेका पनि सबै घर भित्रै छन्, त्यसैले उनीहरुमा पोजेटिभ आएपनि अन्यत्र नजाने गरी व्यवस्थापन गरिएको छ’ गौतमले भने, ‘होम आइसोलेसनको अबस्था बुझ्न अनुगमन समेत गरिएको छ ।’ स्वास्थ्य शाखाको पहलमा पीसीआर गरिएको उनले बताए ।
अनुगमनको क्रममा भने हेल्थ असिस्टेन्ट क्यारसिंह थापा, अहेव लुमा केसी समेतले संक्रमित र शंकास्पदको अबस्था बारे बुझेका छन् । गौतमका अनुसार रायडाँडाका दुइजना मात्रै सामान्य बिरामी भएर अस्पतालमा गएका छन् । अरु घरमै छन् । उनीहरुलाइ तत्कालकालागि चाहिने औषधि तथा अन्य आवस्यकताकालागि वडा र स्वास्थ्यचौकीबाट उपलब्ध गराइएको गौतमले जानकारी दिए ।





