बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ बजार-घोडाबाँधे खण्ड: म्याद थोरै, काम धेरै बाँकी

बागलुङ बजार-घोडाबाँधे खण्ड: म्याद थोरै, काम धेरै बाँकी

असार मसान्तसम्म घोडाबाँधेदेखि सदरमुकामतर्फको साढे ७ किमि सडक कालोपत्रे हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०७८, आइतबार

बागलुङ, १६ जेठ – निर्माण कम्पनीले पाएको समयावधि सकिनै लाग्दा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कामले गति लिएको छ । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे खण्डमा धमाधम कालोपत्रे गर्न थालिएको हो । जेठ महिना लागेपछि उपल्लाचौर–घोडाबाँधे खण्डमा कालोपत्रे गर्न थालिएको हो ।
निशेधाज्ञाको समयमा समेत आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई कामलाई निरन्तरता दिएको निर्माण कम्पनीले जनाएको छ । बागलुङ अक्षेते र अक्षेते घोडाबाँधे खण्ड कालोपत्रेका लागि आयोजनाले निर्माण कम्पनीलाई दिएको समय आउँदो असारमा सकिँदै छ । लोकमार्ग बिहुँ घोडाबाँधे खण्डको गणेश घुम्तीदेखि प्रहरी चौकीसम्म करिब ८ सय मिटर सडक कालोपत्रे गरिएको हो । बाँकी खण्डमा सडक संरचनाको काम जारी छ ।
अक्षतेदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्रेको जिम्मेवारी एमपी, एससिएफ, इसिसिले लिएको छ । असार मसान्तसम्म घोडाबाँधेदेखि सदरमुकामतर्फको साढे ७ किमी सडक कालोपत्रे हुने निर्माण कम्पनीका प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए । उपल्लाचौरदेखि घोडाबाँधेसम्म २५ किमी सडक कालोपत्रे गर्न बाँकी थियो । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले उपल्लाचौरदेखि अक्षते र अक्षतेदेखि घोडाबाँधेसम्मको सडकलाई दुई खण्डमा विभाजन गरी कालोपत्रेको ठेक्का दिएको थियो ।
उपल्लचौरदेखि अक्षते खण्डमा पनि सव–बेस, बेस, नाली, तथा ग्राभेलको काम चलिरहेको भरत÷सिद्धिसाई जेभीका प्रोजेक्ट म्यानेजर शिव लामिछानेले बताए । कालोपत्रेका लागि मौसम अनुकुल भए आठ किमी सडक कालोपत्रे हुने लामिछानेको भनाई छ । हाडेपाखादेखि बोक्सेसम्मको सडक कालोपत्रेको तयारी अवस्थामा छ । खहरे क्षेत्रको पहरो कटानको काम अन्तिम चरणमा पुगेको हुँदा अन्य क्षेत्रको संरचना निर्माण गर्न समस्या नभएको लामिछानेले बताए । कालोपत्रेको लागि आवश्यक कच्चा पदार्थ खहरेमा स्थापना गरेको क्रसर उद्योगले उत्पादन गरेको छ ।
दुवै खण्डका ठेकेदारले गत मंसिर २१ गते जिल्ला प्रशासन कार्यालयमा जेठ महिनाभित्र कालेपत्रे सक्केगरी काम गर्ने लिखित प्रतिबद्धता गरेका थिए । लिखित प्रतिबद्धता अनुसार काम सम्पन्न नभए पनि कालोपत्रे हुने आशा बढेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर उज्जल शर्माले जानकारी दिए । दुवै खण्डका निर्माणको कामले गति लिएको उनले भनाई छ । लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किमी पर्छ । जसमध्ये ४६ किमी मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको आयोजना कार्यालय पर्वतले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->