बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखामा सरकारले सित्तैमा दिने प्याड मेडिकलमा भेटियो

गोरखामा सरकारले सित्तैमा दिने प्याड मेडिकलमा भेटियो

सञ्चालकको दाबी : वडाध्यक्षले नै बेच्न दिएको हो ।


  • राजेन्द्र न्यौपाने
  • जेष्ठ २५ २०७८, मंगलबार

गोरखा, २५ जेठ– गोरखाको सहिद लखन गाउँपालिकाको एक मेडिकलमा नेपाल सरकारले निशुल्क वितरण गर्ने स्यानिटरी प्याड बिक्री भइरहेको खुलेको छ । सहिद लखन गाउँपालिका ६ स्थित शितल मेडिकलहलमा अनुगमनको क्रममा प्याड बिक्रीमा राखेको पाइएको हो ।
गाउँपालिकाले थालेको अनुगमनमा बिक्री गरेर बाँकी रहेको ६५ थान प्याड नियन्त्रणमा लिइएको अनुगमन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बताइन् । जनशक्ति मावि लेखिएको कार्टुनभित्र रहेको प्याडमा सो विद्यालयका प्रधानाध्यापकको सम्पर्क नम्बर अंकित छ ।
मेडिकल सञ्चालन शीतल श्रेष्ठले भने आफूले सहिद लखन गाउँपालिका ८ वडाध्यक्षबाट पाएको र उनकै आग्रहमा बिक्रीमा राखेको दाबी गरेका छन् । ‘मैले विद्यालयमा दिनका लागि स्याम्पल मागेको थिएँ । उहाँ (वडाध्यक्ष)ले पठाइदिनुभयो । लकडाउन पछि पसलमा समान अभाव हुँदै जाँदा सो प्याड ७० रुपैयाँका दरले बिक्री गरियो,’ उनले भने ।
वडाध्यक्ष काशीनाथ अँगाइले भने आफूले बिक्री गर्न नभई नमूनाका लागि पठाएको बताए । उनले भने, ‘मैले स्याम्पलका लागि पठाएको हुँ बिक्री गर्न होइन ।नेपाल सरकारले निशुल्क वितरण गर्ने स्वास्थ्य सामग्री कम्पनीले निशुल्क वितरणका लागि भनेर लेख्ने गरिएको छ ।’ कम्पनीबाट मगाएर आफूले पठाएको उनको भनाइ छ ।
निशुल्क प्रदान गरिने स्वास्थ्य सामग्री वितरण गरेको भेटिएपछि मेडिकलका कागजपत्र नियन्त्रणमा लिइएको र यसको नियम अनुसारको काम हुने स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।
विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी काप्रिका अनुसार विद्यालयका लागि प्याड खरिद गर्नुपर्ने भएको हुँदा स्याम्पलका लागि माग गरिएको र विद्यालयलाइ भनेको बाक्स मेडिलकमा र मेडिकलका लागि आएको विद्यालयमा आएको उनले बताए ।
दर्ताबिनै औषधि पसल सञ्चालन
पालिकाको सोही स्थानमा अर्काे दर्ताबिनै औषधि पसल सञ्चालन हुँदै आएको भेटिएको छ । योग्यता नभएका व्यक्तिहरुले औषधि बिक्री गर्दै आएको फेला परेपछि आवश्यक कागजपत्र तयार गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन दिएको पालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->