गोरखा, २९ जेठ – विवाह गरेको ६ महिनामै आफ्नै श्रीमतीको हत्या गरेर मस्र्याङ्दी नदीमा फालेको आरोपमा गोरखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या गरेपछि श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार कामीले शनिवार बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
घटनालगत्तै पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गए राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि शवलाई तन्नामा पोको पारेर नदीमा फालेको वताएको प्रनाउ दाहालले बताए । नदीमा फालिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला परेको छैन।
उनीहरूले छ महिनाअघि मात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।





